‘मन रोग’ की सुरक्षा- मनोरञ्जन - कान्तिपुर समाचार

‘मन रोग’ की सुरक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य अभिनय रहेको फिल्म ‘बहाव’ को गीत सार्वजनिक भएको छ । सज्जा चौलागाईंको स्वर रहेको ‘मन रोग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुशान्त गौतम र रिकेश गुरुङले संगीत भरेको ‘मन रोग’ को गीतकार सुष्मा सिग्देल हुन् । संगीत संयोजन भने सुशान्त गौतमले गरेका छन् ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा सुरक्षालाई क्रान्तिकारी सोचको पात्रका रूपमा देखाइएको छ ।

यसअघि एक कार्यक्रमका अवसरमा बोल्दै अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैंका लागि सुखद क्षण भएको बताएकी थिइन् । ‘बहाव परिवारभित्रको विद्रोहको कथा हो । यसले नेपालका अधिकांश परिवारको कथा भन्छ,’ सुरक्षाले भनेकी छन् ।

लेखक तथा निर्देशक कँडेलले लकडाउनका बेला ‘बहाव’ लेखेको बताएका छन् । आफूले लेखेको कथामा निर्माता श्रीधर पौडेल सहमत हुनु आफ्ना लागि खुसीको कुरा भएको उनले बताए । कँडेलको कथाबाट प्रभावित भएर आफूले लगानी गरेको र फरक शैलीको फिल्म बनेको श्रीधरको भनाइ छ । ‘मैले स्क्रिप्ट पढेपछि कथा फरक लाग्यो । यसअघि पनि फरक कथाको गोपी बनाएको थिएँ । खासमा यसको कथाले मलाई छोयो,’ उनले भने । यसअघि श्रीधरले निर्माण गरेको फिल्म ‘गोपी’ ले नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त गरेको थियो ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत छ । त्यस्तै, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एन्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउन्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म चैत २४ गते रिलिज हुँदै छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

यू–२० टिम दोस्रो चरणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–२० महिला टिम एएफसी महिला यू–२० एसिया कप छनोट फुटबलको दोस्रो चरण पुगेको छ । छनोटको पहिलो चरणको समूह ‘बी’ विजेताका रूपमा नेपालले दोस्रो चरणमा स्थान बनाएको हो । यसका लागि नेपालले आइतबार प्यालेस्टाइनमा भएको खेलमा नर्थन मारियाना आइल्यान्डलाई ६–० ले हराउन सफल रह्यो ।

नेपालको जितमा दीपा शाहीले दुई, सराह वज्राचार्य, सरस्वती हमाल, प्रीति राई र जेनिफर रानाले एक–एक गोल गरेका थिए । नेपालले पहिलो हाफमा ५ गोल गरेयता दोस्रो हाफमा एक गोल थपेको हो । दीपाले पाँचौं मिनेटमा पहिलो गोल गरिन् ।

सातौं मिनेटमा सराहले दोस्रो गोल गरेपछि १९ औं मिनेटमा दीपाले तेस्रो गोल थपिन् । त्यसपछि सरस्वतीले ३०, प्रीतिले ४५ र जेनिफरले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । यो जितपछि समूह ‘बी’ मा नेपाल २ खेलबाट ६ अंक बटुल्न सफल रह्यो । त्यसअघि नेपालले घरेलु टोली प्यालेस्टाइनलाई पनि ६–० ले नै पराजित गरेको थियो । त्यस खेलमा दीपा एक्लैले चार गोल गरेकी थिइन् । नर्थन मारियाना भने प्यालेस्टाइनसँग ३–१ ले पराजित हारेको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×