नेपहपको श्रीपेच अस्ट्रेलियामा- मनोरञ्जन - कान्तिपुर समाचार

नेपहपको श्रीपेच अस्ट्रेलियामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली हिपहप रियालिटी शो नेपहपको श्रीपेच कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । शोका विजेता र निर्णायकहरूले ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ कार्यक्रमअन्तर्गत अस्ट्रेलियाका विभिन्न सहरमा आगामी मे महिनामा प्रस्तुति दिनेछन् । 

पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षत्रीलगायत कलाकारहरूको नेतृत्व गर्नेछन् । कार्यक्रम सिड्नी, पर्थ र ब्रिसबेनमा आयोजना गरिने जनाइएको छ । मे १२ मा सिड्नी, १७ मा पर्थ र १९ मा ब्रिसबेनका लागि कार्यक्रम तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक चर्चित र्‍यापर मानस घलेको उपस्थितिले कार्यक्रम सफल हुने आयोजक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टको दाबी छ ।

कार्यक्रमका कार्यकारी निर्माता सुदीप पोखरेल र रोशन श्रेष्ठले पनि अस्ट्रेलियास्थित नेपाली समुदायका हिपहपप्रेमीलाई मनोरञ्जन गराउन पाउँदा खुसी भएको बताएका छन् । अस्ट्रेलियास्थित दर्शकका लागि अग्रिम टिकट बुकिङको समेत व्यवस्था मिलाइएको छ । कार्यक्रम सुजता श्रेष्ठले सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

हार्वार्डको नामकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १६३९ मा आजकै दिन (मार्च १३) मा अमेरिकाको मासाचुसेट्सस्थित युनिभर्सिटी अफ क्याम्ब्रिजको नाम परिवर्तन गरेर हार्वार्ड राखिएको थियो । सन् १६३६ को सेप्टेम्बर ८ मा मासाचुसेट्सको क्याम्ब्रिजमा स्थापित विश्वविद्यालय उपनिवेशकालीन अमेरिकाकै पहिलो हो । 

पादरी जोन हार्वार्डले सहयोग गरेका कारण उनको नामबाट विश्वविद्यालयको नामकरण गरिएको थियो । हार्वार्डले आफ्नो आधा सम्पत्ति (७ सय ७९ पाउन्ड स्टर्लिङ) र करिब ४ सय पुस्तक विश्वविद्यालयलाई दिएका थिए । हाल मासाचुसेट्सस्थित क्याम्ब्रिजमा हार्वार्ड क्याम्पस र बोस्टनमा हार्वाड विश्वविद्यालय छन् । हार्वाडअन्तर्गत अन्डरग्य्राजुएट कोर्सका १४ र अन्य कोर्सका लागि १३ स्कुल छन् ।

विश्वकै उत्कृष्ट विश्वविद्यालय हार्वार्डमा हाल ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विश्वभर हाल ४ लाखभन्दा बढी हार्वार्डका पूर्वविद्यार्थी छन् । सन् २००४ मा हार्वार्ड फाइनान्सियल एड इनिसिएटिभ सुरु भएयता विश्वविद्यालयले विद्यार्थीका लागि २.५ बिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरिसकेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×