आजकै दिन : बायज र पेजको जन्म

पुस २५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४१ मा आजकै दिन (जनवरी ९) मा अमेरिकी गायिका तथा अभियन्ता जोआन बायजको जन्म भएको थियो । ६ दशक लामो सांगीतिक करियरमा उनले ३० वटा एल्बम सार्वजनिक गरिसकेकी छन् । तीमध्ये कतिपय गीत समानता र सामाजिक न्यायका पक्षमा गाइएका छन् ।

बायजका ‘द नाइट दे ड्रोभ,’ ‘डायमन्ड्स एन्ड रस्ट,’ ‘लभ इज जस्ट अ फोर लेटर वर्ड,’ ‘फरएभर योंग’ लगायतका गीत निकै चर्चित छन् । अंग्रेजी र स्पेनी भाषामा दक्ष बायजले अन्य ६ भाषामा पनि विभिन्न गीत गाएकी छन् । विभिन्न नागरिक अधिकार संस्थाको सहयोगका लागि गीत गाएकी बायजले भियतनाम युद्धको विरोधका र्‍यालीहरूमा सहभागी भएकी थिइन् । संघीय कर तिर्न अस्वीकार गरेपछि उनी सन् १९६७ मा दुई पटक जेल परेकी थिइन् । 

त्यस्तै, सन् १९४४ को जनवरी ९ मा बेलायती संगीतकर्मी जेम्स प्याट्रिक पेज जन्मिएका थिए । सांगीतिक दुनियाँमा भने उनी जिम्मी पेजका रूपमा चर्चित छन् । रक ब्यान्ड ‘लेड जेपेलिन’ का संस्थापक उनले गितारिस्टका रूपमा अन्तर्राष्ट्रिय चर्चा र सफलता हासिल गरे । उनी विश्वकै महान् तथा प्रभावशाली गितारिस्ट मानिन्छन् । गितार रिफ्सका लागि प्रख्यात उनले सन् १९६० को दशकमा बिग जिम सुलिभानसँग मिलेर बेलायतको लन्डनमा स्टुडियो स्थापना गरी करियर सुरु गरेका हुन् । 

सन् २०१५ मा रोलिङ स्टोन म्यागजिनले उनलाई विश्वकै सर्वकालीन उत्कृष्ट एक सय गितारिस्टको सूचीमा तेस्रो स्थानमा समावेश गरेको थियो । सन् १९६६ देखि दुई वर्ष यार्डबडर््समा आबद्ध रहेका उनले सन् १९६८ मा ‘लेड जेपेलिन’ स्थापना गरेका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully