काठमाडौँ — चार महिनायता विश्व कोरोनाको महामारीले आक्रान्त छ । यसका लागि अधिकांश देश लकडाउनमा छन् । यो त्रासको माहोलमा आत्मबल बलियो बनाउन धेरैका लागि गीत, संगीत गतिलो सहारा बनिरहेको छ ।
सर्जकहरु लकडाउनमै कोरोनाविरुद्ध सचेतना फैलाउने संगीत सिर्जना गरिरहेका छन् । अरु तिनै गीत सुनेर, हेरेर रमाउन थालेका छन् ।
कोरोना प्रकोप रोकथाममा दक्षिण कोरिया अग्रणी देखिएको छ । औषधि पत्ता नलागे पनि दक्षिण कोरियाले कोरोना संक्रमितलाई उपचारका लागि समेत संगीतको सहारा लिएको छ । म्योंग जी अस्पतालले आइसोलेसनमा भएका विरामीलाई उपचारसँगै आशा जगाउने खालका संगीत कलाकार ल्याएरै प्रत्यक्ष सुनाउन पनि थालेको छ ।
यसमा संलग्न एक भ्वाइलिनिस्ट यूा ह्यूंग जून भन्छन्, ‘चिकित्सक र विरामीहरु दुवै यतिबेला कोरोना भाइरसविरुद्ध लडिरहेका छन् । उनीहरुको मनोबल बढाईराख्नका लागि मैले भ्वाइलिन बजाउन पाएकोमा धन्य छु ।’
कोरोना संक्रमणबारे सचेतनामूलक गीतहरु युट्युबमा अपलोड भइरहेका छन्, रुचाइएका पनि छन् । मार्च २० मा ‘कवि सिंहका देश के नाम सन्देश’ शीर्षकमा अपलोड गरिएको एउटा ‘लकडाउन सङ्ग’ यतिबेला भारतमा चर्चित भईरहेको छ । सवा करोड बढि पटक हेरिसकिएको उक्त म्युजिक भिडियो भारतीय प्रम नरेन्द्र मोदीको लकडाउनका बारेमा दिइएको सन्देशसँगै सुरु गर्दै कवि सिंहले पनि लकडाउन पालना र संक्रमणबाट बच्ने तरिका गीतमार्फत् भनेका छन् ।
विख्यात सांगीतिक ब्यान्ड क्वीनको ‘बोहेमियन र्याप्सोडी’ को प्यारोडी भर्सनमा तयार पारिएको ‘कोरोना र्याप्सोडी’ पनि यूट्युबमा खुब रुचाइएको छ । मार्च २८ मा अपलोड गरिएको गायक राउल इराबेनको उक्त गीतको शब्द, गायनदेखि भिडियो निर्माणको शैलीलाई धेरैले रुचाएको प्रतिक्रिया दिएका छन् । युट्युबमा अपलोड अधिकांश कोरोनासँग सम्बन्धित गीतका भिडियोलाई कलाकारहरुले लकडाउनकै अवधिमा मौलिक ढंगले तयार पारेका छन् ।
लकडाउनका कारण घरमै बसेका कलाकारहरुले गीत, संगीत तथा भिडियो सिर्जनाका लागि पनि घरेलु उपायहरु अपनाएका छन् । निर्माता टोरिन वेस्टकोटले घरका चम्चा, सिरानी, स्टुलको सहायताले ड्रम बीट तयार पार्दै ट्र्याक बनाए र त्यसमा ‘माई स्यारोना’ को प्यारोडी भर्सनमा गीत रेकर्ड गरे, ‘बाई कोरोना’ ।
सामाजिक सन्जालमार्फत् उक्त गीत सार्वजनिक गरेपछि वेस्टकोटले निकै सुखद प्रतिक्रिया बटुलिरहेका छन् । उक्त गीतले डेढ करोड भन्दा बढि भ्युज पाइसकेको छ । भन्छन्, ‘सुरुमा त ड्रम किट नभएको अवस्थामा घरमै बसेर कसरी संगीत तयार पार्न सकिएला र भन्ने लागेको थियो । तर पछि घरायसी सामानबाटै ड्रमको विकल्प खोज्छु भन्ने घरेलु उपाय निकालें ।’
उनले घरकै किचनदेखि बाथरुमसम्म छायांकन गरेर भिडियो पनि तयार पारे । उनले थपे, ‘मैले यसरी घरका भााडा बजाएर संगीत निकालेको मन परेको थिएन । तर मलाई यही वैकल्पिक तरीकामा नै मज्जा आईरहेको थियो ।’
कोरोना भाइरसको महामारीपछि ‘लिभिंग रुम कन्सर्ट’ को शैली धेरै कलाकारले अपनाउन थालेका छन् । भारतीय कमेडियन जोनी लिभरकी छोरी जामी लिभरले पनि यही शैली पच्छाउादै अभिनेता धनुषले गाएको भाइरल सङ्ग ‘कोलाभेरी डी’ को प्यारोडी भर्सन ‘ह्वाई दिस कोरोना डिजिज’ ल्याएकी छन् । आफ्नो गीत रुचाइएपछि खुशी हुँदै जामी भन्छिन्, ‘यो सबै मैले मान्छेहरुलाई मनोरन्जनका साथै सूचना पनि होस् भनेर गरेकी हुँ ।’ त्यसो त उनकै बुबा जोनी लिभरले पनि कैंयन बलिउड फिल्मका क्लासिकल म्युजिकको प्यारोडी बनाउँदै पोष्ट गरिरहेका छन् ।
कोरोना प्यारोडी गीत बनाउनेको अहिले विश्वभर लहर नै चलेको छ । क्यानडेली कमेडियन चन्तल डेस्जार्डिन्सले आफ्नै घरको कुकुरलाई फिचरिंग गर्दै ग्योरिया गेनुरको ‘आई वील सर्भाइभ’ को प्यारोडी भर्सन ‘द पेट्स वील थ्राइभ’ निकालेपछि चर्चा बटुलिरहेका छन् भने अमेरिकी गायक क्रिसम्यानले एडेलीको हिट नम्बर ‘हेल्लो’ मा ल्याएको प्यारोडी ‘हेल्लो हाउ आर यू’ पनि निकै रुचाइएको छ । बी गिजको ‘स्टे इन अलाइभ’ मा ब्रेन्ट म्याक्कोलफको टीमले तयार पारेको प्यारोडी गीत ‘स्टे इन इन्साइड’ युट्युबमा धेरै हेरिने मध्येको गीत बनिसकेको छ ।
युट्युबमा यतिबेला चन्दन रैनाको ‘माइ नेम इज कोरोना’, आईमार्केजको ‘कार्डी बी कोरोना भाइरस’, मो भ्लगरको ‘कोरोना भाइरस सङ्ग’, प्रियंका नेगी टीमको ‘आवारा कोरोना’ लगायत गीत चर्चामा छन् ।
नेपाली कोरोना गीत पनि थुप्रै
नेपाली कलाकारहरुले पनि लकडाउनको सदूपयोग गर्दै कोरोनाका बारेमा चेतनामूलक र मनोरन्जनात्मक गीत बनाउन थालेका छन् । रोग भन्दा बढि त्रास फैलिएको भन्दै सुरक्षात्मक उपाय सुझाउँदै सबिन लामाले रचना गरेको ‘कोरोना भाइरस’ गीत यतिबेला युट्युबमा २० लाख भन्दा बढी पटक हेरिसकिएको छ । जसलाई मेलिना राई, विनय कार्की, शासन काडेल र सविन लामाले गायका हुन् ।
बाबु जिम्बाको रचनामा रहेको लोकभाकामा आधारित अर्को चेतनामूलक गीत ‘आयो कोरोना’, गण्डकी प्रदेश सरकारले पुरुषोत्तम न्यौपाने, माया गुरुङ्ग, ज्योती लोहनी, इश्वर सिंहको स्वरमा ल्याएको ‘कोरोना भाइरस रोकथाम’ बोलको लोकदोहोरी गीतले पनि महामारीविरुद्ध चेतना फैलाउने प्रयास गरेका छन् । ‘डराउनै पर्ने त हैन हैन, ख्याल ठट्टा नी गर्ने हैन है’ भन्दै नरेश खाती र एलिना चौहानले ल्याएको कोरोना भाइरस गीत पनि युट्युबमा रुचाइएको छ । जसलाई गोमा परियारले रचना गरेकी हुन् भने संगीत नरेश खाती कै रहेको छ ।
त्यसैगरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहितका दर्जन कलाकार राखेर बनाइएको अर्को जनचेतनामूलक गीतमा डेभिड शंकर र वेनिशा पौडेलले स्वर दिएका छन् । यसलाई सरोज वलीले लेखेका हुन् भने दीपक शर्माले संगीत भरेका छन् ।
रेशम सापकोटा र मन्जु गुरुङ्गले संयुक्त गाएको अर्को लोकभाकाको गीतले कोरोना भाइरसबाट बच्ने उपाय सुझाएको छ । गायक राजु परियारले पनि मन्जु सुनारसाग मिलेर ‘भोकमरी त थियो थियो, रोगमरीले पिर्नू पिर्यो’ भन्दै लक डाउनकै अवधिमा नयाा कोशेली ल्याएका छन् । यसको रचना रोमहर्ष भण्डारीले गरेका हुन् ।
कोरोना संगीतकै पंक्तिमा साहस शाक्यले आफ्नै संगीतमा ‘मेरो विश्व मेरो घर’ बोलमा उत्प्रेरणात्मक गीत ल्याएका छन् । नेपालमा पनि केही प्यारोडी, र्याप शैलीमा पनि कोरोना विषयक गीत सिर्जना गरिएका छन् ।
स्टार नेपाल च्यानलबाट अपलोड गरिएको ‘कोरोना कोरोना संसारभरी फैलियो कोरोना’ बोललाई फिल्म ‘ए मेरो हजुर ३’ को ‘परान परान’ गीतको प्यारोडीमा प्रस्तुत गरिएको छ भने भिडियो पनि ओर्जिनल गीतकै प्रयोग गरिएको छ । जसमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् ।
रामु विरहीले रचना, संगीत, गायनदेखि भिडियो निर्देशन र आफ्नै अभिनयमा ‘भागोस् कोरोना हामी सोझा जनतादेखि भागोस्’ भन्दै भिडियोसहित गीत तयार पारेका छन् भने चिरन्जिवी सापकोटाले आफ्नै संगीत, रचना तथा र्याप प्रस्तुतीमा ‘भाग कोरोना’ ल्याएका छन् ।
