पीसीआर परीक्षण बढाउँदै लकडाउन खुकुलो गर्न सरकारलाई संसदीय समितिको निर्देशन

वैशाख २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउँदै लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन, आइसोलेसन बेडहरु पर्याप्त् मात्रामा निर्माण गर्न, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजा सम्म पुर्‍याउने वातावरण सहज बनाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

त्यस्तै बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक्ट ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरिएको बताए ।  पछिल्लो केही दि यता पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको मन्त्री ढकालले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully