न्युयोर्कमा नेपाली मौलिक परिकारको स्वाद पस्किरहेकी 'विमला दिदी' 

११ वर्षअघि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि म:म, चाउमिन तथा भुटन सुकुटी सर्वाधिक मन पराइएका परिकार हुन् ।

जेष्ठ १०, २०८३

बद्री गौतम

'Bimala Didi' enjoying the taste of authentic Nepali cuisine in New York

What you should know

काठमाडौँ — अमेरिकाको न्युयोर्क क्वीन्स, ज्याक्सन हाइट ७४ स्ट्रिट रुजभेल्ट एभिन्युको सव-वेबाट बाहिर निस्कना साथै भेटिन्छ विमला हमाल श्रेष्ठको नेपाली भान्छाघर । 'बिमाला दिदी'को यो भान्छाघरलाई विश्वकै प्रतिष्ठित मिडिया न्युयोर्क टाइम्सले उत्कृष्ट १०० रेष्टुरेन्टमा समावेश गरेपछि उनी मात्रै होइन समग्र नेपाली समुदाय उत्साहित छ । 

सन् २०१५ मा 'विमला दिदी'ले यो भन्छाघर सुरु गर्दा देशविदेशमा यसरी प्रसिद्धी पाइएला भनेर कहिल्यै नसोचेको बताइन् । तर, नेपाली खाना त्यसमाथि पनि मौलिकता झल्कने खानलाई प्रवर्द्धन गर्ने हुटहुटीले भने कहिल्यै नछोडेको उनी बताउँछिन् । 

उनी भन्छिन्, 'खाना अनि त्यसका विभिन्न परिकारले जातीय र क्षेत्रीय पहिचानमात्र स्थापित गर्दैन । परिकारको विविधताले कुनै पनि मुलुकको सभ्यता तथा मौलिकतालाई चिनाउने रहेछ ।' अमेरिका त्यसमाथि पनि न्युयोर्क जस्तो सहरमा खोलिएका धेरै नेपाली रेस्टुरेन्टले खानाको स्वादसँगै नेपाल परिचय व्यापक बनाइरहेको उनको अनुभव छ । 

नेपाली समुदायमा विमला दिदी भान्छाघरको रूपमा परिचित हमालको यो रेस्टुरेन्टले न्युयोर्क सिटीमा हुने म:म प्रतियोगितामा कैयन् पटक पुरुस्कार जितिसकेको छ । यहाँको नेपाली समुदायले पनि उनलाई अगुवाहरू एवं अभिभावकको रुपमा मान्ने गरेका छन् ।'Bimala Didi' enjoying the taste of authentic Nepali cuisine in New York

११ वर्षअघि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि म:म, चाउमिन तथा भुटन सुकुटी सर्वाधिक मन पराइएका परिकार हुन् । भान्छाघर स्थापनाका सुरुका दिनमा उनले नेपाली सेल रोटी 'कम्प्लिमेन्ट्रि' रुपमा ग्राहकलाई खुवाइन् । त्यही सेल रोटीले ग्राहक तान्न सहयोग गरेको उनको अनुभव छ । अहिले उनको भान्छाघरमा आउने नेपालीले थाली धेरै मन पराउने गरेका छन् । अझ हातै खाना खान मन पराउनेहरू उनको रेष्टुरेण्टमा पुग्ने गरेको सुनाइन् ।

गोलार्द्धको विपरीत बसेर नेपाली परिकारको प्रचार गर्न पाउनु तथा नेपाली स्वादसँगै नेपाली पहिचान विस्तार गर्न पाउँदा निकै गर्व महसुस गरेको उनले सुनाइन् । उनले भनिन्, 'अमेरिकामा बिजनेस सुरू गर्न हामी जस्ता नेपालीले धेरै नै दु:ख गर्नुपर्छ । हिम्मत पनि ठूलै हुनु पर्छ ।' उनी सन् २००८ मा अमेरिका पुगेकी थिइन् । उनको लगनशिलता, इमान्दारिता र मिहिनेतका अघि यी सबै दु:खले हार माने । 

न्युयोर्कका सामाजिक अगुवा कृष्ण आचार्यका अनुसार विमला दिदी व्यवसायमा मात्रै होइन सामाजिक कार्यमा पनि उत्तिकै सहयोगी भाव राख्छिन् । न्युयोर्कमा हुने सबैजसो सामाजिक कार्यमा उनले मन खोलेर सकेको सहयोग गर्ने गरेको आचार्यले बताए ।

स्वदेशमै त कति गाह्रो छ व्यापार गर्न अझ विदेश त्यसमाथि पनि अमेरिकाको न्युयोर्क जस्तो विविधता भएको स्थानमा रेस्टुरेन्ट व्यवसाय । तर बिमलाको धैर्य आँट र साहसले सफल र उदाहरणीय बनाइ छोड्यो । 

स्वाद

बद्री गौतम अमेरिकास्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully