दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतीय सहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बुवाले कान्तिपुरलाई जानकारी दिएका छन् । 

दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा संक्रमण

यसअघि यी बालकका बुवाआमालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । सुदूरपश्चिम बझाङंको चैनपुरी निवासी यो नेपाली परिवार कामको सिलसिलामा भारतमा बस्दै आएको छ । अघिल्लो महिना बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोभिड १९ पुष्टि भएको थियो । यी महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो । परीक्षणमा श्रीमानमा पनि संक्रमण देखिएको थियो । संक्रमण नदेखिए पनि छोराछोरीलाई क्वारेन्टाइनमा भने राखिएको थियो । करिब दश दिनपछि पुन: परीक्षण गर्दा छोरामा संक्रमण देखिएको हो । आमाबुवा भने उपचारपछि निको भइसकेका छन् । ‘हामीहरु निको भइसक्यौं, अहिले छोरामा मात्र छ, उसलाई पनि केही दिनमा ठीक होला,’ संक्रमित बालकका बुबाले भने ।

बैंग्लोरको पछिल्लो घटनासँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने नेपालीहरुको संख्या १६ पुगेको छ । तीमध्ये ११ जना भारतमा काम गर्न बसेका नेपालीहरु हुन् । बाँकी पाँच जना इस्लामिक भेलाका लागि नेपालबाट आएकाहरु हुन् । संक्रमित नेपालीहरुमध्ये तीन जना पूर्ण रुपमा निको भइसकेका छन् ।

प्रकाशित : वैशाख ९, २०७७ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?