पुँजीले जहिले पनि अवसर मात्र खोज्दैन, अनुमान योग्यता र पारदर्शिता पनि खोज्छ, सरकारले निजी क्षेत्रका समस्या समाधान गर्ने र उठाएका विषय छिटो सम्बोधन गर्ने गरी वातावरण बनाउनुपर्छ ।
What you should know
नेपालमा उत्पादनमूलक (उद्योग) क्षेत्रमा लगानी गर्दै आएको स्थापित व्यावसायिक घराना पञ्चकन्या ग्रुपका तेस्रो पुस्ताका युवा उद्यमी हुन् उज्ज्वलकुमार श्रेष्ठ । सन् १९७२ मा स्थापित पञ्चकन्या ग्रुपमा हाल उनी कार्यकारी निर्देशक छन् । अहिले पनि नेपालको औद्योगिक क्षेत्रमा अथाह सम्भावना देखेर धमाधम लगानी विस्तार गरिरहेका उज्ज्वल निकट भविष्यमै एक/दुई उद्योग थप्ने सोचमा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग समितिका सभापति श्रेष्ठसँग अर्थतन्त्र, लगानी वातावरण, औद्योगिक विकास र आगामी व्यावसायिक योजनाबारे कान्तिपुरका यज्ञ बञ्जाडे र विमल खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :
झन्डै साढे पाँच दशकको यात्रामा पञ्चकन्या ग्रुपले नेपाली अर्थतन्त्रका धेरै उतारचढाव देखेको छ, त्यो अनुभवका आधारमा अहिले अर्थतन्त्रको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अहिले निजी क्षेत्रको आत्मविश्वास विस्तारै बढ्न थालेको देखिन्छ । विगतमा उद्योगी व्यवसायीको आत्मविश्वास खस्किएको थियो । यसको कारण खोज्न कोभिडको समयमा पुग्नुपर्छ । त्यस वर्ष विस्तारकारी बजेट (वित्त नीति) र लचिलो मौद्रिक नीति आयो । तर अर्थतन्त्र तंग्रिन नपाउँदै सरकार र राष्ट्र बैंकले एकाएक कसिलो नीति अवलम्बन गर्न लागे ।
त्यो बेला कसिलो नीति आवश्यक थियो, तर एकै पटक धेरै कसियो । त्यसको नतिजा अहिले देखिइरहेको छ । पहिला बनेका नीति पनि प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्था थियो । यसले अर्थतन्त्र तंग्रिन र निजी क्षेत्रको आत्मविश्वास बढ्न सकेको थिएन । अहिले विस्तारै सुधारको संकेत देखिएको छ ।
अर्थतन्त्रमा अहिलेको अवस्था आउनुमा नीतिगत वा राजनीतिक अस्थिरता— कुन बढी जिम्मेवार छ ?
नीतिगत र राजनीतिक अस्थिरता दुवैले गर्दा अर्थतन्त्रमा यो अवस्था आएको हो । केही वर्षअघिसम्म बन्द हडताल बढी हुन्थ्यो । यसले व्यापार व्यवसायमा असर गरेको थियो । ट्रेड युनियनले दुःख दिएका थिए । अहिले त्यो समस्या कमै सुनिन्छ । तर नीतिगत अस्थिरता कायमै छ । दीर्घकालीन व्यावसायिक योजना बनाउँदा पनि हामीले धेरै सोच्नुपर्ने अवस्था छ ।
परिस्थिति कस्तो हुन्थ्यो भने कुन दिन के नीति परिवर्तन हुन्छ, थाहै हुँदैनथ्यो । विगत पाँच वर्षलाई हेर्ने हो भने धेरै नीतिमा उथलपुथल भएको छ । २३ र २४ भदौ २०८२ अघिसम्म राजनीतिक अस्थिरता थियो । नयाँ सरकार बनेसँगै राजनीतिक अस्थिरता अन्त्य हुने अनुमान छ । सरकारले काम सुरु गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । निजी क्षेत्रका कुरा सरकारले सुनेको छ । नतिजा हेर्न बाँकी छ ।
गत साता मात्र निजी क्षेत्रले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेको छ, तपाईंहरू उत्साहित पनि देखिनुभएको छ तर बैंकमा पैसा थुप्रिएको र ब्याजदर न्यून हुँदा पनि निजी क्षेत्रलाई लगानी विस्तार गर्न केले रोकेको होला ?
केही वर्षअघिसम्म बन्द हडताल बढी हुन्थ्यो । यसले व्यापार व्यवसायमा असर गरेको थियो । ट्रेड युनियनले दुःख दिएका थिए । अहिले त्यो समस्या कमै सुनिन्छ । तर नीतिगत अस्थिरता कायमै छ ।प्रधानमन्त्रीले भेटेर निजी क्षेत्रका कुरा सुन्ने कार्यले निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ । बैंकमा जति तरलता छ, यस्तो अवस्थामा निजी क्षेत्रले ठूलो फड्को मार्नुपर्ने हो । तर भनेअनुसार भएको छैन । किनकि बैंकहरू यसअघि प्रवाह गरेको ऋण कसरी व्यवस्थापन लागेका छन् भने व्यवसायी पनि बजारको अवस्था र जोखिमको स्तर हेरेर लगानी निर्णय गरिरहेका छन् । जोखिम व्यवस्थापनका लागि कसरी नगद प्रवाह गर्ने भन्नेमा उनीहरूको ध्यान छ । बैंकहरूको खराब कर्जा बढेको छ । यसकारण थप ऋण प्रवाहमा उनीहरू सचेत छन् ।केही वर्षअघिसम्म बन्द हडताल बढी हुन्थ्यो । यसले व्यापार व्यवसायमा असर गरेको थियो । ट्रेड युनियनले दुःख दिएका थिए । अहिले त्यो समस्या कमै सुनिन्छ । तर नीतिगत अस्थिरता कायमै छ ।
अहिले डन्डी उद्योगको अवस्था के छ ?
२०७२ को भूकम्पअघिसम्म वार्षिक १५ लाख टनसम्म डन्डी खपत हुन्थ्यो । त्यो बेला डन्डी उद्योग १८ थिए । भूकम्पपछि थप १२ उद्योग थपिए । भूकम्पपछि पुनर्निर्माणका धेरै काम भए । त्यसैले यस्ता उद्योगमा लगानी गर्ने बढे । तर कोभिडका बेला अवस्था दयनीय बनिदियो । कम्पनीहरूले रोजगारदाताको संख्या घटाउँदै लगे ।
यो समयमा डन्डीको खपत वार्षिक ८ लाख टनमा झर्न थाल्यो । भूकम्पपछि १६ लाख टनसम्म पनि पुगेको थियो । अहिले फेरि बढ्दै छ । कोभिडपछि सरकारको नीति नियमका कारण करिब केही उद्योग बन्द नै भए । सुरुमा ३० लाख टन वार्षिक उत्पादन क्षमता भएका उद्योग थिए । अहिले बढेर ५० लाख टन क्षमता छ । तर विकास निर्माणको गति सुस्त छ ।
अबका दिनमा उद्योगहरू पूर्ण क्षमतामा चल्लान् त ?
अहिलेको सरकारले देशका लागि केही गरौं, निजी क्षेत्रलाई प्रोत्साहन गरौं भनेको छ । यो सकारात्मक पक्ष हो । नयाँ सरकार गठन भएको चार महिना हुँदै छ । अहिले निजी क्षेत्रसँग भइरहेको अन्तर्क्रियालाई विगतका सरकारले जस्तो नभई भिन्न तरिकाले अगाडि बढाउनुपर्छ । हामीलाई साक्षीका रूपमा नभई साझेदारका रूपमा अगाडि बढाउनुपर्छ ।
पुँजीले जहिले पनि अवसर मात्र खोज्दैन, अनुमान योग्यता र पारदर्शिता पनि खोज्छ । सरकारले निजी क्षेत्रका समस्या समाधान गर्ने र उठाएका विषय छिटो सम्बोधन गर्ने गरी वातावरण बनाउनुपर्छ । विगतका सरकारले पनि राम्रै नीति ल्याएका थिए, कागजी रूपमा राम्रो थियो । तर कार्यान्वयन भएन । यो सरकार बलियो भए हामी बलिया हुन्छौं ।
यस वर्ष तपाईंहरूले पञ्चकन्या ग्रुपमार्फत लगानी विस्तार गर्न चाहेको कुन कुन क्षेत्र हुन् ?
सन् २०३० सम्म पाँच वटा नयाँ उत्पादन ल्याउने हाम्रो लक्ष्य छ । २०२४ मा पुरानै सरकार थियो, अप्ठ्यारो पनि थियो । तर हामीले अवसर देख्यौं । नेपालको सबैभन्दा ठूलो झ्याल–ढोका उत्पादन गर्ने उद्योग भैरहवामा खोलेका छौं । बाथ वेयर पनि सुरु गरेका छौं । हाम्रो उद्देश्य आयात प्रतिस्थापन गर्नु हो ।
झ्याल–ढोकाका सामान ९५ प्रतिशत चीन र ५ प्रतिशत भारतबाट आउँथ्यो । गएको २ वर्षमा करिब ३० देखि ३५ प्रतिशत स्थानीयस्तरमा तयार भएको खपत हुने गरेको छ । नेपालमा धेरैजसो धारा र कमोडका सामान विदेशी छ । आगामी दिनमा पञ्चकन्याले निर्माणसम्बन्धी सामग्री एकै थलोबाट दिनेछ ।
नेपालमा यस्ता उद्योग १८ वटा छन् । त्यसमा पहिला १८ सयसम्म रोजगारी पाएका थिए । कोभिडपछि यो संख्या घटेर १२ सयमा झरेको छ । दक्ष श्रमशक्ति पाउनै कठिन छ ।
तपाईंहरूले पुस्तौंदेखि व्यवसाय गरिरहनुभएको छ, यसमा विदेशी साझेदार पनि थप्दै हुनुहुन्छ कि ?
नेपालमा सर्भिस सेक्टरमा माग धेरै छ । डिजिटल एआईको समयमा सर्भिस सेक्टरमा धेरैजनाले लगानी गरेका छन् । मलाई कसैले व्यापार गर्न मन छ भन्यो भने बजार हेरेर मात्र लगानी गर्नुस् भन्छु । हामी चीन र भारतको बीचमा छौं । हामीले यहाँ उत्पादन गरेर यी देशसँग प्रतिस्पर्धा गर्न सक्छौं । तर चीन र भारतको बीचमा रहँदा अवसर र चुनौती दुवै छन् ।
नेपालभन्दा चीन र भारत कति गुणा ठूला छन् ? त्यहाँ उत्पादन लागत कति छ ? उत्पादित सामानको खपत पनि बढी छ र खपतकर्ता पनि धेरै छन् । हाम्रो अर्थतन्त्रको आकार सानो छ । उद्योगले गर्नुपर्ने काम उत्पादन लागत घटाउने हो । तर अटोमेसन र प्रविधिबाट घटाउन सकिन्छ । त्यसैले सरकारसँग हामीले विद्युत्मा सहुलियत मागिरहेका छौं, तर दुर्भाग्य सरकारले कर लगाएको छ ।
युवा जनशक्ति पलायन भइरहेका छन्, नेपालमै बस्ने वातावरण बनाउन तपाईंको सुझाव के छन् ?
विगतका सरकारको कार्यशैली देखेर धेरै युवा निराश भए । र, अवसरको खोजी गर्दै बाहिरिए । सबै व्यक्तिका विचार फरक–फरक हुन्छन् । अहिले सरकारको नेतृत्व पनि युवाले नै गरिरहेका छन् । यसले केही आशा जगाएको छ । एक वर्ष हेरौं । सरकारले कामबाट नतिजा देखाउन थालेपछि बस्ने वातावरण यहीं बन्दै जान्छ जस्तो लाग्छ । नेपालजस्तो शान्तिसुरक्षा भएको देश पाउन कठिन छ । त्यसैले राम्रो काम गर्दै गएपछि युवा पलायन आफैं कम हुँदै जान्छ ।
अबको पाँच वर्षपछि तपाईंलाई भेट्दा तपाईंको उद्योगलाई कुन रूपमा पाउँछौं ?
पाँच वर्षमा मैले नेपालमा कति उद्योगलाई आयात प्रतिस्थापन गर्न सकें, त्यसले यस विषयलाई मापन गर्छ । यही तरिकाले अगाडि बढिरहे पञ्चकन्या ग्रुपले थप उद्योग विस्तार गर्छ । सन् २०३० सम्म थप्ने भनिएका उद्योगको संख्या ५ वटा पुग्नेछ । समग्रमा पञ्चकन्याको मार्केट सेयरभन्दा पनि जहाँ उद्योग स्थापना गरेका छौं, गुणस्तर कायम गर्ने काम गरेका छौं । आफ्नो गुणस्तरलाई अझ बढी प्रभावकारी बनाउनेछौं ।
नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापति हुनुहुन्छ ? खासगरी उद्योगीका के कस्ता समस्या रहेछन् ?
नेपाल उद्योग वाणिज्य महासंघ ७७ वटै जिल्लामा छ । जहाँ सबै किसिमका साना, मझौला, ठूला व्यवसायीमाझ समस्या बुझिरहेको एउटा पुरानो संस्था हो । उद्योग समितिको सभापति पाउँदा म खुसी छु । मैले धेरै कुरा सिकिरहेको र बुझिरहेको छु । समितिको योजना भनेको सबैको समस्या बोकेर अगाडि लैजाने हो । हामी सरकार होइनौं, सरकारलाई खबरदारी गर्ने संस्था हौं । तीनवर्षे कार्यकाल फरक तरिकाले अगाडि बढाउने योजना बनाएका छौं ।
तस्बिरहरू : दीपेश दर्शनधारी/कान्तिपुर
