सानोमा हुलाक टिकट र पत्रिका बेच्थे विश्वका पाँचौं धनी माइकल डेल

होस्टलको कोठाबाट सुरु भएको डेलको उद्यम यात्रा आज प्रविधि क्षेत्रकै अग्रणी कम्पनीका रूपमा गतिशील छ, विश्वका धेरै उद्यमी तथा नवउद्यमीले माइकलको जीवनीबाट प्रेरणा लिने गरेका छन्

श्रावण ९, २०८३

एजेन्सी

As a child, Michael Dell, the world's fifth richest person, sold postage stamps and magazines

What you should know

काठमाडौँ — डेल भन्नेबित्तिकै हाम्रो मस्तिष्कमा ल्यापटप वा कम्प्युटरको चित्र घुम्छ । तर डेल टेक्नोलोजिजले कम्प्युटर वा ल्यापटप मात्रै बेच्दैन । यसले विभिन्न संस्था तथा सरकारलाई डिजिटल भविष्य निर्माणका लागि पूर्वाधार पनि उपलब्ध गराउँछ । 

सूचना प्रविधि क्षेत्रको रूपान्तरणमा दशकौंदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यो कम्पनी आज आफ्ना ग्राहकको डेटा सुरक्षा र गोपनीयताका लागि विश्वासिलो र भरपर्दो मानिन्छ । अन्य ठूला प्रविधि कम्पनी डेटा सुरक्षालाई लिएर बारम्बार विवादमा घेरिएको समयमा पनि डेलले आफ्नो विश्वसनीयता टिकाइरहेको छ । 

सन् २०२६ मा डेल टेक्नोलोजिजलाई इथिस्फेरले १४औं पटकसम्म विश्वका ‘नैतिकवान् कम्पनी’हरू सूचीमा राखेको छ । फर्च्युनले यसलाई विश्वकै तारिफयोग्य र उत्कृष्ट कार्यस्थलका रूपमा व्याख्या गरेको छ । त्यस्तै, फोर्ब्सले अमेरिकामा महिलाका लागि उत्कृष्ट रोजगारदातामध्ये एक भनेको छ । न्युजविकले पनि यसलाई उत्कृष्ट कार्यस्थल भनेर प्रशंसा गरेको छ । 

यही कम्पनीका संस्थापक हुन्— माइकल डेल । फेब्रुअरी २३, १९६५ मा ह्युस्टन, टेक्सासमा माइकलको जन्म भएको थियो । उनले सानैदेखि व्यापार र प्रविधिमा अद्भुत क्षमता देखाएका थिए । उनका बुबा दन्तचिकित्सक र आमा सेयर कारोबारी थिइन् । उनीहरूको सपना डेललाई सफल चिकित्सक बनाउने थियो । तर उनी व्यवसायमा आकर्षित भए । 

१२ वर्षको उमेरमा माइकलले टिकट संकलकहरूलाई हुलाक टिकट बेचेर पहिलो पटक २ हजार डलर कमाउँदै आफ्नो व्यावसायिक क्षमता देखाएका थिए । १५ वर्षको उमेरमा उनले आफ्नो पहिलो कम्प्युटर एप्पल सेकेन्ड किनेका थिए । त्यसपछि उनले ती कम्प्युटरका पार्टपुर्जा खोतलेर अध्ययन गर्न थाले । हाईस्कल पढ्दा उनले ह्युस्टन पोस्ट पत्रिकाको ग्राहक सदस्यता वितरण गर्न थाले । यो काम गरेबापत उनले १८ हजार डलर कमाए । यस अनुभवले आफूलाई लक्षित बजारीकरण र तथ्यांक विश्लेषणबारे मूल्यवान् पाठ सिकाएको माइकल बताउने गरेका छन् ।

सन् १९८३ मा माइकल अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासमा चिकित्साशास्त्रपूर्वको अध्ययन (प्रि–मेड) का लागि भर्ना भएका थिए । तर उनको वास्तविक रुचि भने तीव्र रूपमा विकास भइरहेको पर्सनल कम्प्युटर (पीसी) उद्योगमा थियो । माइकलले होस्टेलका कोठाबाटै पीसी अपग्रेड गर्ने काम सुरु गरे । 

त्यस बेला कम्प्युटर महँगा थिए । सीमित डिजाइनमा मात्रै उपलब्ध हुने भएकाले ग्राहकसँग रोजाइ सीमित थियो । कम्पनीहरूबाट होलसेलमा सामान उठाएर त्यसको मूल्य आफैं निर्धारण गर्ने बिचौलिया पनि थिए । माइकलले बिचौलियाहरूलाई हटाएर ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा सिधै कस्टम–बिल्ट (आफ्नो रोजाइअनुसार बनाइएका) पीसी बेच्ने अवसर देखे । 

‘ग्राहकलाई सिधै सामान बेच्दा हामी उनीहरूका आवश्यकता राम्ररी बुझ्न सक्छौं र कम लागतमा अझ उत्कृष्ट उत्पादन उपलब्ध गराउन सक्छौं भन्ने मलाई लाग्यो,’ माइकल सम्झिन्छन् ।

एक हजार डलरको पुँजीबाट उनले सन् १९८४ मा आधिकारिक रूपमा कम्पनी दर्ता गरेका थिए । सुरुवातमा यसको नाम ‘पिसिज लिमिटेड’ थियो । यसले ग्राहकको अर्डर आएपछि मात्र डेल ब्रान्डमा कम्प्युटर बनाएर दिने गरेको थियो । जसकारण सामान नबिकेर थन्किने जोखिम रहन्नथ्यो । सीधै ग्राहकलाई बेच्ने मोडलका कारण पनि यो कम्पनी चाँडै लोकप्रिय भयो । त्यसका अतिरिक्त डेलका कम्प्युटर तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध थिए । 

एक हजार डलरको पुँजीबाट उनले सन् १९८४ मा आधिकारिक रूपमा कम्पनी दर्ता गरेका थिए । सुरुवातमा यसको नाम ‘पिसिज लिमिटेड’ थियो । यसले ग्राहकको अर्डर आएपछि मात्र डेल ब्रान्डमा कम्प्युटर बनाएर दिने गरेको थियो । पहिलो वर्षमै माइकलले कम्प्युटर बिक्रीबाट ६० लाख अमेरिकी डलर कमाए । ग्राहकसँगको प्रत्यक्ष सम्बन्धका कारण यस कम्पनीलाई आफ्ना कमजोरी सुधार्न पनि मद्दत मिल्यो । सन् १९८८ मा पिसिज लिमिटेडले सार्वजनिक रूपमा सेयर निष्कासन गर्‍यो । र, यसले तीन करोड डलर रकम संकलन गर्‍यो । त्यसपछि कम्पनीको नाम फेरेर ‘डेल कम्प्युटर कर्पोरेसन’ राखियो । सन् १९८८ मा डेलले आफ्नी प्रेमिका सुशन लाइबरम्यानसँग विवाह गरे । सुशन पेसाले फेसन डिजाइनर हुन् । यो दम्पतीका चार सन्तान छन् । 

सन् १९९२ सम्ममा २७ वर्षको उमेरमा माइकल डेल ‘फर्च्युन ५००’ को सूचीमा सूचीकृत भएका सबैभन्दा कान्छा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । ग्राहकको व्यक्तिगत रोजाइअनुसार कम्प्युटर उत्पादन गर्ने डेलको प्रयास कालान्तरमा उद्योगकै मानक बन्यो । ई–कमर्सलाई प्रवर्द्धन गर्ने ठूला कम्पनीमध्ये डेल एक थियो । सन् १९९७ मा डेलले प्रतिदिन अनलाइनमार्फत १० लाख डलर बराबरका कम्प्युटर बेचिरहेको थियो । पत्नी सुशनसँग मिलेर माइकलले सन् १९९९ मा ‘माइकल एन्ड सुशन डेल फाउन्डेसन’ खोलेका छन् । फाउन्डेसनले बाल स्वास्थ्य र शिक्षामा ठूलो सहयोग गरिरहेको छ । 

सन् २००४ मा डेलले कम्पनीको सीईओ पदबाट राजीनामा गर्दै केभिन रुलिन्सलाई नेतृत्व सुम्पिए । तर कम्प्युटर निर्माणमा प्रतिस्पर्धा तीव्र भएकाले कम्पनीको व्यापार घट्न थाल्यो । सन् २००६ मा डेललाई ह्युलिट प्याकर्डले सबैभन्दा ठूलो कम्प्युटर निर्माताका रूपमा उछिन्यो । परिवर्तनको आवश्यकता महसुस गरेर सन् २००७ मा माइकल फेरि सीईओका रूपमा फर्किए । त्यसपछि उनले कम्प्युटर निर्माताका रूपमा छवि बनाएको कम्पनीलाई रूपान्तरण गर्दै बृहत् आईटी सेवा र समाधान उपलब्ध गराउन थाले । 

माइकलले प्रविधिको मानवीय पक्षलाई सधैं प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन् । प्रविधिले व्यक्ति र व्यवसायलाई अझै बढी उपलब्धि हासिल गर्न सक्षम बनाउनुपर्ने उनको मान्यता छ । ‘हाम्रो लक्ष्य केवल कम्प्युटर बेच्नु कहिल्यै रहेन । मानिसहरूलाई आफ्ना समस्या समाधान गर्न र लक्ष्य प्राप्त गर्न मद्दत गर्ने साधन प्रदान गर्नु हो,’ उनी भन्छन् । 

दोस्रो पटक सीईओका रूपमा आएपछि माइकलले भनेका थिए, ‘हामी फेरि सन् १९८४ मै फर्किए जस्तो लागेको छ । ग्राहकको दृष्टिमा महत्त्वपूर्ण रहन हामीले आफूलाई फेरि निर्माण गर्नुपर्ने भयो ।’ यसपछि माइकलले कम्पनीको सेवा विस्तार गर्दै लगे । र, कम्पनीले क्लाउड कम्प्युटिङ र तथ्यांक विश्लेषणमा ठूलो लगानी गर्‍यो । 

माइकलले सन् २०१५ मा ६७ अर्ब डलरमा ‘ईएमसी कर्पोरेसन’ खरिद गर्ने घोषणा गरे । ईएमसीसँग त्यति बेला विश्वकै सबैभन्दा ठूलो कर्पोटेर तथ्यांक भण्डार तथा क्लाउड कम्प्युटिङ थियो । साइबर सुरक्षामा पनि यो कम्पनी विश्वको शीर्षस्थानमा थियो । यस अधिग्रहणले डेललाई कम्प्युटर निर्माताबाट डिजिटल आईटी पूर्वाधार उपलब्ध गराउने विश्वकै अग्रणी प्रविधि कम्पनीमा रूपान्तरण गरिदियो । 

विश्वचर्चित पत्रिका फोर्ब्सले तयार गरेको विश्वका धनाढ्यहरूको सूचीमा डेल पाँचौं स्थानमा छन् । उनीसँग २ सय ३९ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेको फोर्ब्सको पछिल्लो तथ्यांकले देखाउँछ । होस्टलको कोठाबाट सुरु भएको डेलको उद्यम यात्रा आज प्रविधि क्षेत्रकै अग्रणी कम्पनीका रूपमा गतिशील छ । विश्वका धेरै उद्यमी तथा नवउद्यमीले माइकलको जीवनीबाट प्रेरणा लिने गरेका छन् । 

परोपकारी कार्यमा पनि माइकलको योगदान ठूलो छ । डेल फाउन्डेसनले विश्वका झन्डै ७० लाख बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउन सहयोग गरिरहेको छ । विश्वभर ५ लाखभन्दा धेरै सुविधासम्पन्न कक्षाकोठा निर्माण गरिदिएको छ । फाउन्डेसनको सहयोग पाएर झन्डै ३ लाख ५० हजार विद्यार्थीले विश्वविद्यालयको डिग्री हासिल गरेका छन् ।

धनीका कुरा

एजेन्सी

Link copied successfully