अनलाइन पुस्तक पसलबाट सुरु गरेको व्यवसायले विश्वकै धनी बनेका जेफ बेजोस

आफ्नो नवीन व्यावसायिक सोच र प्रतिबद्धताका कारण जेफ बेजोस धनी र लोकप्रिय दुवै भए । ई–कमर्सको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दा जुलाई २०१७ मा अमेजनको सेयरमा पनि ठूलो उछाल आयो । र, उनको कुल सम्पत्ति ९० अर्ब डलर बराबर पुग्यो ।

श्रावण २, २०८३

कान्तिपुर संवाददाता

Jeff Bezos became the world's richest man after starting a business with an online bookstore

What you should know

काठमाडौँ — आजका दिनमा हामी जुनसुकै सामान पनि अनलाइनमार्फत सहजै भुक्तानी गरेर किन्न सक्छौं । तर केही दशकअघिसम्म यो निकै झन्झटिलो मानिन्थ्यो । यसलाई सहज र विश्वभर लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन्— अमेजनका संस्थापक जेफ बेजोस । 

बेजोसले आफ्नो विद्यालयकालदेखि नै नयाँ–नयाँ व्यावसायिक योजना बनाउँथे । सन् १९९४ मा उनले पत्नी म्याकेन्जी स्कटसँग मिलेर वासिङ्टनको सियाटलमा एउटा भर्चुअल पुस्तक भण्डार (अनलाइन बुकस्टोर) सुरु गरेका थिए । संसारकै सबैभन्दा ठूलो नदी ‘अमेजन’ का नामबाट उनले यसको नाम राखेका थिए । 

सुरुमा सीमित कर्मचारीको सहयोगमा उनले यस्तो सफ्टवेयर तयार पारे, जसले भविष्यमा अनलाइन व्यापारमा नयाँ क्रान्ति ल्याउने निश्चित थियो । जुलाई १९९५ मा अमेजन डटकमले आधिकारिक रूपमा इन्टरनेटमा सेवा सञ्चालन गर्‍यो । यसले क्रेडिट कार्डको अनलाइन भुक्तानीमार्फत आफ्नो पहिलो पुस्तक बिक्री गरेर इतिहास रच्यो ।

सुरुवातमा एउटा अनलाइन पुस्तक पसलका रूपमा सुरु भएको यो कम्पनी कालान्तरमा भिडियो तथा अडियो स्ट्रिमिङ, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) लगायत विभिन्न ई–कमर्स उत्पादन तथा सेवाहरूमा विस्तार भयो । आफ्नो नवीन व्यावसायिक सोच र प्रतिबद्धताका कारण जेफ बेजोस धनी र लोकप्रिय दुवै भए । ई–कमर्सको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दा जुलाई २०१७ मा अमेजनको सेयरमा पनि ठूलो उछाल आयो । र, उनको कुल सम्पत्ति ९० अर्ब डलर बराबर पुग्यो । ब्लुम्बर्गले तयार गर्ने धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस विश्वका धनी व्यक्ति बने । मार्च २०१८ मा आइपुग्दा उनी १ सय अर्ब डलरभन्दा धेरै कमाउने आधुनिक विश्वकै पहिलो व्यक्ति बने । 

फोर्ब्सले पनि जेफ बेजोसलाई विश्वका धनाढ्यहरूको सूचीमा पहिलो स्थानमा राख्यो । ५ जुलाई २०१९ मा डिभोर्स भएपछि उनको कुल सम्पत्तिको ३८ अर्ब डलर बराबरी हिस्सा पत्नीका नाममा गयो । यसका बाबजुद उनी विश्वको पहिलो धनाढ्यका रूपमा कायमै रहे । २६ अगस्ट २०२० मा उनले २ सय अर्बभन्दा धेरै सम्पत्ति बनाउने विश्वको पहिलो धनाढ्यको कीर्तिमानसमेत बनाए । 

जनवरी २०२१ मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले उछिन्नुअघिसम्म उनी यस सूचीमा पहिलो स्थानमा थिए । फोर्ब्सको पछिल्लो सूचीअनुसार उनी झन्डै २ सय ५८ अर्ब अमेरिकी डलरसहित विश्वका धनाढ्यहरूको सूचीमा चौथो स्थानमा छन् ।

जेफको जन्म अमेरिकाको न्यु मेक्सिको राज्यको अल्बुकर्कमा १२ जनवरी १९६४ मा भएको थियो । उनका बाबु टेड जर्जेन्सेन युनिसाइकल हक्की खेलाडी थिए । जेफको जन्म हुँदा उनकी आमा ज्याक्लिन गिस १७ वर्षकी थिइन् । उनी भरखर हाईस्कुल पढ्दै थिइन् । बाबु टेड भने १९ वर्षका थिए । बाल्यकालमा टेडले जेफलाई जेफ्री प्रिस्टन जर्जेन्सेन नाम दिएका थिए । अत्यधिक अल्कोहल सेवन गर्ने टेडको स्वभावका कारण ज्याक्लिनसँग सम्बन्ध राम्रो हुन सकेन । जेफ १७ महिनाको हुँदा उनीहरूको सम्बन्धविच्छेद भयो । त्यसपछि जेफ मामाघरमा हुर्किए ।

 दिनभर काम गरेपछि रातको समयमा जेफलाई लिएर आमा ज्याक्लिन स्कुल जान्थिन् । यसरी नै उनले अध्ययन पूरा गरिन् । त्यही क्रममा क्युवाबाट आएका मिगुइल बेजोससँग ज्याक्लिनको भेट भयो । र, उनीहरूले विवाह गर्ने निर्णय गरे । जेफका बाबु टेडसँग अनुमति लिएर मिगुइलले जेफलाई अभिभाकत्व दिए । यस बेला जेफको उमेर चार वर्षको थियो । यसपछि टेड कहिल्यै ज्याक्लिन र जेफको सम्पर्कमा आएनन् । 

सन् २०१२ मा ‘ब्लुम्बर्ग बिजनेस विक’का पत्रकार ब्राड स्टोनले अरिजोनाको ग्लेनडेलस्थित टेडको एउटा सानो साइकल मर्मत पसलमा पुगेर कुराकानी गर्दै उनी जेफका जैविक पिता रहेको खुलासा गरेका थिए । उक्त कुराकानीमा टेडले विश्वप्रसिद्ध अर्बपति जेफ आफ्नो छोरा रहेको कुरा पहिलो पटक थाहा पाएको बताएका थिए । वर्षौंअघि टाढिएका कारण टेडले जेफ आफ्नो सन्तान रहेको अनुमान लगाउन सकेका थिएनन् । 

टेडले आफ्ना विगतका कमजोरीहरूप्रति पश्चात्ताप गर्दै जीवनको अन्तिम क्षणमा छोरालाई भेट्ने तीव्र इच्छा व्यक्त गरेका थिए । तर जेफसँग प्रत्यक्ष भेट हुन नपाउँदै सन् २०१५ मा ७१ वर्षको उमेरमा टेडको मृत्यु भयो ।

जेफले क्युवेली मूलका मिगुइल बेजोसलाई नै आफूले बाबु मान्ने गरेको बताउँदै आएका छन् । मिगुइल र ज्याक्लिनतर्फबाट जेफकी सौतेनी बहिनी क्रिस्टिना र भाइ मार्क बेजोस छन् । सन् २०२१ मा जेफसँगै मार्क पनि अन्तरिक्ष यात्रामा गएका थिए । 

जेफले सन् १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक पूरा गरेका हुन् । उनले सन् १९८६ देखि १९९४ को सुरुवाती समयसम्म विभिन्न वित्तीय संस्थामा काम गरे । त्यसपछि अमेजन स्थापना गरे । सुरुवातमा एउटा अनलाइन पुस्तक पसलका रूपमा सुरु भएको यो कम्पनी कालान्तरमा भिडियो तथा अडियो स्ट्रिमिङ, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) लगायत विभिन्न ई–कमर्स उत्पादन तथा सेवाहरूमा विस्तार भयो । 

यो विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री र राजस्वका आधारमा सबैभन्दा ठूलो इन्टरनेट कम्पनी हो । यो कम्पनीअन्तर्गत ‘अमेजन वेब सर्भिसेज’ भर्चुअल असिस्टेन्ट तथा क्लाउड पूर्वाधार सेवाहरूको विश्वकै सबैभन्दा ठूलो प्रदायक हो ।

फेब्रुअरी २०२१ मा अमेजनको सीईओबाट राजीनामा गरेका उनी जुलाई २०२१ देखि कार्यकारी अध्यक्षको भूमिकामा छन् । जेफको लगानी धेरै व्यवसायमा फैलिएको छ । सन् २००० मा उनले अन्तरिक्ष उडान कम्पनी ब्लु ओरिजिन स्थापना गरेका थिए । यस कम्पनीले टेक्सासमा एउटा प्रक्षेपणस्थल खरिद गरेर अन्तरिक्ष कार्यक्रम अघि बढाएको छ । यही कम्पनीमार्फत २० जुलाई २०२१ मा जेफ आफ्ना भाइ र अन्य यात्रुहरूसँगै अन्तरिक्षमा गएका थिए । हालसम्म यसले धेरै पटक सफल उडान गरिसकेको छ । 

जेफले सन् २०१३ मा वासिङ्टन पोस्ट र यससँग आबद्ध प्रकाशन खरिद गरेका थिए । २०१९ मा म्याकेन्जी स्कटसँग जेफको २५ वर्षे वैवाहिक सम्बन्ध डिभोर्समा परिणत भयो । यो जोडीका चार छोराछोरी छन् । त्यसपछि बेजोसले २०२५ मा लरेन सान्चेजसँग विवाह गरे । बेजोस आफ्नो परोपकारी गतिविधिका कारण पनि चिनिन्छन् । उनले बेजोस अर्थ फन्डमार्फत जलवायु परिवर्तन रोक्न र प्रकृति संरक्षण गर्न २०२० मा १० अर्ब डलर दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

बेजोस डे वान फेमिलिज फन्डमार्फत जेफले घरबारविहीनहरूलाई सहयोग गर्दै आएका छन् । शुल्करहित पूर्वआधारभूत विद्यालय सञ्चालनका लागि यस कोषमार्फत भवन बनाइदिने पनि गरेका छन् । सन् २०२२ को अन्त्यमा एक अन्तर्वार्ताका दौरान बेजोसले आफ्नो सम्पत्तिको ठूलो हिस्सा जीवनकालमै दान गर्न चाहेको बताएका थिए ।

धनीका कुरा

कान्तिपुर

Link copied successfully