ल्यारी पेज र सर्गेई ब्रिनले मिलेर गुगलको स्थापना गरेका थिए, फोर्ब्सको पछिल्लो सूचीअनुसार यी दुवै व्यक्ति विश्वका धनाढ्यको सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्
What you should know
काठमाडौँ — आजको सूचना प्रविधिलाई नयाँ उचाइ दिन गुगल कम्पनीको भूमिका ठूलो छ । एआई च्याटबटहरू आउनुअघि इन्टरनेटमा खोजी गर्न गुगल नै पहिलो विकल्प थियो । एआईको जमानामा बढ्दो प्रतिस्पर्धासँगै गुगलले आफूलाई परिस्कृत गर्दै लगिरहेको छ । त्यही कारण यस कम्पनीका उत्पादनले दिने सेवा सूचना प्रविधि क्षेत्रमा धेरैको रोजाइमा पर्छ ।
गुगलको स्थापना ल्यारी पेज र सर्गेई मिखाइलोभिच ब्रिनले मिलेर गरेका थिए । फोर्ब्सको पछिल्लो सूचीअनुसार यी दुवै व्यक्ति विश्वका धनाढ्यको सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । प्रविधिमा ठूलो लगानी गरेका टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्क धनाढ्यहरूको सूचीमा पहिलो स्थानमा छन् ।
सन् १९७३ मा मस्कोको ब्रिनको जन्म भएको थियो । ६ वर्षको छँदा उनी आफ्ना आमा–बाबुसँगै अमेरिकामा बसाइँ सरे । यस समय सोभियत युनियनमा यहुदीमाथि दमन बढेकाले आफ्नो परिवार अमेरिका आउन बाध्य भएको ब्रिनले बताउँदै आएका छन् । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी कार्यक्रम रद्द गर्ने तथा सात वटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउने कार्यकारी निर्णयमा हस्ताक्षर गरेपछि भएको विरोध प्रदर्शनमा ब्रिन पनि सक्रिय रूपमा सहभागी थिए । सान फ्रान्सिस्को विमानस्थलमा जनवरी २०१७ मा भएको प्रदर्शनमा खैरो भेस्ट र कालो ज्याकेट लगाएर सहभागी ब्रिनले पत्रकारहरूसँग भनेका थिए, ‘म यहाँ छु किनकि म शरणार्थी हुँ ।’
अमेरिका आएपछि ब्रिनका पिता माइकल ब्रिनले मेरिल्यान्ड विश्वविद्यालयमा गणित विषय पढाए । सन् १९९० मा एलेनोर रुजबेल्ट हाईस्कुलबाट उत्तीर्ण भएपछि सर्गेई ब्रिन पनि मेरिल्यान्ड विश्वविद्यालयमै भर्ना भए । विश्वविद्यालयअन्तर्गतको कलेज पार्कबाट उनले गणित र कम्प्युटर विज्ञानमा राम्रो नम्बर ल्याएर स्नातक गरे । त्यसपछि उनी अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानको छात्रवृत्तिमा स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स पढ्न स्नातकोत्तरमा भर्ना भए ।
स्ट्यानफोर्डमा अध्ययनका क्रममा ब्रिनले डेटा माइनिङ र प्याटर्न पहिचानसम्बन्धी एक दर्जनभन्दा बढी शैक्षिक अनुसन्धानपत्र प्रकाशन गरे । उनले यही अवधिमा चलचित्रको मूल्यांकन गर्ने वेबसाइट ‘मुभी रेटिङ्स’ निर्माण गरे । टीईएक्स कागजातलाई एचटीएमएलमा रूपान्तरण गर्ने सफ्टवेयर पनि उनले अवधिमा विकास गरे ।
यही विश्वविद्यालमै उनको भेट कम्प्युटर इन्जिनियरिङ गरिरहेका ल्यारी पेजसँग भयो । विद्यावारिधि गर्दैगर्दा उनीहरूबीच मित्रता निकै झाँगिएको थियो । यो भेट र मित्रताले दुवैलाई इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ काम गर्न प्रेरित गर्यो । पेजले वेब पेज कसरी एकअर्कासँग जोडिएका छन् भन्ने अध्ययन गरिरहेका थिए ।
ब्रिनको डेटा माइनिङसम्बन्धी विशेषज्ञताको सहयोगमा ल्यारीले ‘पेजर्यांक प्रणाली’ को परीक्षण र विकास गरे । दुवैले मिलेर ‘द एनाटोमी अफ अ लार्ज स्केल हाइपर टेक्स्ट्युल वेब सर्च इन्जिन’ शीर्षकको अनुसन्धानपत्र तयार पारे । यो अनुसन्धान इन्टरनेट इतिहासकै सबैभन्दा धेरै डाउनलोड गरिएका वैज्ञानिक दस्ताबेजमध्ये एक हो ।
ल्यारीको छात्रावासको कोठामा रहेका सामान्य व्यक्तिगत कम्प्युटर प्रयोग गरेर उनीहरू दुईले सन् १९९६ मा सर्च इन्जिन ‘ब्याकरब’ तयार गरे । त्यसपछि सन् १९९७ मा उनीहरूले गुगल डटकम डोमेन दर्ता गरे । सन् १९९८ मा उनीहरूले गुगललाई निजी कम्पनीका रूपमा स्थापना गरे । आफ्नो विद्यावारिधि अध्ययनबाट अस्थायी बिदा लिएर दुवै जनाले क्यालिफोर्नियाको मेन्लो पार्कस्थित एक साथीको ग्यारेजबाट कम्पनी सञ्चालन सुरु गरे । विश्वका सबै सूचनालाई व्यवस्थित गर्ने र सबैका लागि सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्य उनीहरूले राखेका थिए ।
सन् १९९९ सम्म आइपुग्दा गुगलले क्यालिफोर्नियाको माउन्टेन भ्युमा धेरै भवन रहेका एउटा परिसर भाडामा लियो । कालान्तरमा यसैलाई कम्पनीको स्थायी मुख्यालय ‘गुगलप्लेक्स’ बनाइयो ।
गुगलको सर्च इन्जिन छिटो खुल्थ्यो । यसले आवश्यक धेरैभन्दा धेरै जानकारी दिने भएकाले प्रयोगकर्ताको संख्या बढिरहेको थियो । व्यवसाय तीव्र गतिमा विस्तार हुँदै गएपछि सन् २००१ मा सर्गेई र ल्यारीले नोभेलका कार्यकारी एरिक स्मिटलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरे । यससँगै ल्यारी उत्पादन विभागका अध्यक्ष, सर्गेई प्रविधि विभागका अध्यक्ष र एरिक सीईओ रहने त्रिपक्षीय नेतृत्व टोली गठन भयो ।
त्यसपछिका वर्षमा पनि नवप्रवर्तन जारी रह्यो । सन् २०११ मा उनीहरूले ‘गुगल ब्रेन’ परियोजना सुरु गरे, जसको उद्देश्य दृश्य, लिखित वा श्रव्य सामग्रीबाट सिक्न सक्ने विशाल सञ्जाल विकास गर्नु थियो । सन् २०१३ मा उनीहरूले ‘गुगल ग्लास’ सार्वजनिक गरे, जुन चस्मामै जडान गरिएको आवाजबाट सञ्चालन हुने कम्प्युटर डिस्प्ले थियो । सन् २०१५ मा गुगललाई पुनःसंरचना गर्दै होल्डिङ कम्पनी ‘अल्फाबेट इन्क’ बनाइयो । ब्रिन अल्फाबेटका पहिलो अध्यक्ष बने भने सुन्दर पिचाई गुगलका प्रमुख कार्यकारी अधिकृत नियुक्त भए ।
सन् २०१९ को अन्त्यमा सर्गेई र ल्यारीले अल्फाबेटमा आफ्नो कार्यकारी जिम्मेवारीबाट अलग हुँदै गुगल र अल्फाबेट दुवैको सीईओको जिम्मेवारी सुन्दर पिचाईलाई सुम्पिए । यद्यपि दुवै सहसंस्थापक अझै पनि अल्फाबेटको सञ्चालक समितिमा छन् । कम्पनीमा यी दुईकै सबैभन्दा ठूलो सेयर र स्वामित्व छ ।
कार्यकारी भूमिकाबाट बाहिरिएपछि सर्गेईले आफ्नो ध्यान व्यक्तिगत परियोजना र परोपकारी कार्यमा केन्द्रित गरे । पार्किन्सन रोगको अनुसन्धानका लागि उनले २ अर्ब डलरभन्दा धेरै दान दिइसकेका छन् । तर सन् २०२३ सम्म आइपुग्दा कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकास र
बढ्दो प्रतिस्पर्धाले सर्गेईलाई पुनः गुगलको दैनिक कामकाजमा फर्कायो । यति बेला ओपन एआईको च्याटजीपीटी–४ ले गुगललाई निकै कडा टक्कर दिइरहेको थियो । सर्गेईले एआई अनुसन्धानकर्ताहरूसँग नजिकबाट सहकार्य गरे । उनले कम्पनीमा दक्ष जनशक्ति भित्र्याउन भूमिका खेल्दै गुगलको प्रमुख एआई प्रणाली ‘जेमिनी’ विकासमा सक्रिय भूमिका निर्वाह गरे ।
फोर्ब्सले निकालेको विश्वका धनाढ्यहरूको पछिल्लो सूचीमा सर्गेई तेस्रो नम्बरमा छन् । उनको कुल सम्पत्ति २ सय ६८ दशमलव ७ बिलियन डलर छ । यो सूचीको दोस्रो नम्बरमा ल्यारी छन् । उनको सम्पत्ति २ सय ९१ दशमलव ३ बिलियन डलर छ । यी दुवै जनाले आफ्नै मिहिनेतले गुगललाई विश्वकै प्रतिष्ठित कम्पनी बनाएका हुन् ।
