साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन, पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ, उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नो कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन्, नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस्
What you should know
काठमाडौँ — आफ्ना दुई छोरी बाबुलाई हेर्थे ।
हरेक बिहान अफिस जाने, दिनभरि काममा व्यस्त रहने, कहिलेकाहीँ राति अबेर घर फर्किने बाबुलाई उनीहरू नियालिरहेका हुन्थे । अनि धेरैजसो घरमै देखिइरहने आमालाई पनि ।
त्यही दृश्यले एक दिन साइनी खेतानको मनमा एउटा प्रश्न जन्मायो— ‘म यत्तिकै घरभित्र सीमित रहें भने मेरा छोरीहरूले मबाट के सिक्लान् ?’
के उनीहरूले बुझ्लान्— महिलाको संसार घरको चौघेरामै सीमित हुन्छ ? कि उनीहरूले पनि आफ्ना सपना अरूकै सपनाको छायामा हुर्काउन सिक्नेछन् ?
यिनै प्रश्नले साइनीलाई आफूभित्रै बेचैन बनाए ।
साइनी व्यावसायिक घरानाकी छोरी हुन् । व्यवसाय नगरे पनि उनको जीवन सहजै चल्थ्यो । बुबाको पुस्तैनी व्यापार आफ्नै लयमा अघि बढिरहेकै थियो । श्रीमान् अभिनव चुरीवालले मंगलम पाइप्स, हाई ग्राउन्ड एडभेन्चर्सलगायतका व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेकै थिए । त्यसैले व्यवसायमा उत्रिनुपर्ने गरी साइनीलाई न आर्थिक बाध्यता थियो, न पारिवारिक दबाब ।
तर साइनीको निर्णयको आधार बाध्यता होइन, जिम्मेवारी थियो । आफ्ना छोरीहरूको भविष्यप्रतिको जिम्मेवारी ।
उनी चाहन्थिन्, छोरीहरूले सफल व्यवसायी बाबु मात्र होइन, व्यवसायको आफ्नो बाटो आफैं बनाएकी आमा पनि देखून् । उनीहरूले पुस्तकबाट मात्र होइन, आफ्नै घरभित्रबाट पनि सिकून्— महिलाले पनि सपना देख्न सक्छन्, जोखिम उठाउन सक्छन्, निर्णय गर्न सक्छन् र आफ्नै पहिचान बनाउन सक्छन् ।
त्यसैले साइनीले सबैभन्दा सजिलो बाटो रोजिनन् । पारिवारिक व्यवसायको छायामा उभिने विकल्प पनि त्यागिदिइन् । र, परिवारले कहिल्यै हात नहालेको नयाँ क्षेत्रमा पाइला चालिन् । त्यो साइनीले आफ्ना छोरीहरूका लागि गरेको जीवनपाठ लेख्ने निर्णय थियो ।
त्यसैले साइनीको उद्यमशीलता एउटी आमाले आफ्ना छोरीहरूको सोच बदल्न आफ्नै जीवनको दिशा मोडेको कथा पनि हो । आज उनको व्यवसाय विस्तारतिर हिँडिरहेको छ ।
०००
नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गत योङ आन्टरप्रेनर्स फोरम (वाईएफ) की नेटवर्किङ एन्ड कम्युनिकेसन सभापति साइनीको पारिवारिक इतिहास रोचक छ । उनको परिवार करिब एक सय वर्षअघि भारतबाट नेपाल आएको हो । चार पुस्तादेखि नेपालमै बसोबास गरिरहेको यो परिवारको सुरुवाती थातथलो काठमाडौंको कमलादी थियो । पछि परिवार बानेश्वर सर्यो । उनी काठमाडौंमा जन्मिइन्, यहीँ हुर्किइन् ।
सानेपास्थित शुभतारा स्कुलबाट साइनीको विद्यालय जीवन सुरु भयो । एसएलसीसम्म त्यहीँ पढिन् । एसएलसीपछि उनी दुई वर्षका लागि भारतको मसुरीस्थित ‘मसुरी इन्टरनेसनल स्कुल’ पुगिन्, जहाँ उनले प्लस टु अध्ययन गरिन् ।
व्यावसायिक परिवारमा हुर्किएकी साइनीलाई सानैदेखि कमर्सप्रति रुचि थियो । त्यसैले उच्च शिक्षाका लागि उनले भारतको बैंगलुरुस्थित ‘जैन सेन्टर फर म्यानेजमेन्ट स्टडिज (सीएमएस)’ बाट बीबीए गरिन् । त्यसपछि बेलायतको म्यानचेस्टरबाट फाइनान्समा स्नातकोत्तर पूरा गरिन् ।
विदेशी विश्वविद्यालयमा पढेर सन् २००९ मा नेपाल फर्किएपछि उनले सिधै पारिवारिक व्यवसाय सम्हालिनन् । बरु अनुभव बटुल्ने बाटो रोजिन् । र, सनराइज बैंकमा म्यानेजमेन्ट ट्रेनीका रूपमा प्रवेश गरिन् । सुरुमा केही समयको अनुभवका लागि मात्रै रोजिएको त्यो जागिर विस्तारै उनको रुचिको क्षेत्र बन्न पुग्यो । बैंकको क्रेडिटदेखि टेलरसम्म प्रत्येक विभागमा तीन–तीन महिना काम गर्दै उनले बैंकिङ प्रणालीलाई नजिकबाट
बुझ्ने अवसर पाइन् । त्यतिबेला उनको मासिक तलब २४ हजार रुपैयाँ थियो ।
‘जागिरले मलाई व्यवस्थापन, अनुशासन र कामबारेको महत्त्वपूर्ण पाठ सिकायो,’ उनले भनिन्, ‘यद्यपि इन्गेजमेन्ट भएपछि मैले बैंकको जागिर छाडें ।’
अभिनव चुरीवालसँग प्रेम विवाह गरेकी साइनीले केही वर्ष श्रीमान्कै व्यवसायसँग जोडिएर काम गरिन् । विशेषगरी पोखराको पर्यटन क्षेत्रमा सञ्चालित ‘हाई ग्राउन्ड एडभेन्चर्स’ मा उनी सक्रिय रहिन् । जिपलाइन, एटीभीजस्ता साहसिक पर्यटन व्यवसायलाई नजिकबाट बुझिन् । त्यही अवधिमा उनले उद्योग, पर्यटन, व्यवस्थापन र व्यवसाय सञ्चालनका व्यावहारिक पक्ष पनि सिकिन् ।
तर समय बित्दै जाँदा एउटा प्रश्न फेरि उनको मनमा उब्जिन थाल्यो— के उनको परिचय ‘अभिनव चुरीवालकी श्रीमती’मै सीमित रहने हो ? उनी आफ्नै परिचय बनाउन
चाहन्थिन् । आफ्नै निर्णय, आफ्नै जोखिम र आफ्नै सफलताले चिनिन चाहन्थिन् ।
छोरीहरूका लागि पनि साइनीले केही गर्नैपर्ने थियो ।
संयोगले त्यही समयमा उनका बुबाले कृषितर्फ ध्यान दिन प्रेरित गरिरहे । रुख रोप्ने बुबाको सोख, कृषिप्रतिको आकर्षण र आफ्ना दुई छोरीका लागि रोल मोडल बन्ने आकांक्षा— यी तीन विषय एउटै बिन्दुमा आएर जोडिए ।
यहीँबाट सुरु भयो साइनी खेतानको आफ्नै उद्यमशील यात्राको नयाँ अध्याय ।
०००
साइनी कृषि क्षेत्रमा आइन्, तर परम्परागत किसान बन्न होइन । प्रविधिसँग जोडिएको, मूल्य सिर्जना गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने कृषि व्यवसाय गर्नु उनको लक्ष्य हो । त्यसैलाई पछ्याएर उनले सुरु गरेको यात्रा अहिले दुई कम्पनीमा फैलिएको छ— टुनी एग्रो र ट्रिनिटी एग्रो ।
बर्दियाको राजापुरमा फैलिएको टुनी एग्रोमा औषधीय जडीबुटीको खेती भइरहेको छ । सतावर, सर्पगन्धा जस्ता औषधीय वनस्पति उत्पादनसँगै त्यहाँ ६० बिघा हाराहारी क्षेत्रफलमा करिब ५० हजार बर्मा टिक (सागवान) रोपिएको छ ।
त्यो दीर्घकालीन काठ उत्पादनको योजना हो । त्यही फार्ममा अम्बा खेती पनि भइरहेको साइनी सुनाउँछिन् । साइनीले एक समय मेवाको व्यावसायिक खेती गर्ने प्रयास पनि गरेकी थिइन् । तर त्यो अपेक्षाअनुसार सफल हुन सकेन ।
व्यवसायमा सबै निर्णय सफल हुँदैनन् भन्ने उनी सहजै स्विकार्छिन् । बरु असफलताले अर्को निर्णयलाई परिपक्व बनाउने उनको विश्वास छ ।
तर उनको महत्त्वाकांक्षी परियोजना भैरहवामा रहेको ट्रिनिटी एग्रो हो । त्यहाँ आधुनिक प्रविधिबाट डल्ले च्याउको व्यावसायिक उत्पादन भइरहेको छ । १४ वटा कोल्ड रुममा भर्टिकल फार्मिङ प्रणाली प्रयोग गरेर दिनको ५० हजार किलोसम्म च्याउ उत्पादन गर्ने क्षमता तयार गरिएको छ ।
जग्गाबाहेक मात्रै यस परियोजनामा १२ देखि १४ करोड रुपैयाँ लगानी भएको छ । ६० जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्ष मात्रै वार्षिक कारोबार साढे तीन करोड रुपैयाँ पुगेको थियो । ट्रिनिटी एग्रोबाट उत्पाहित च्याउ नेपालका सबैजसो बजारमा पुगिरहेको छ ।
तर साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन । पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ । उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नै कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन् । नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस् । ‘मेरा लागि त्यो नै सफलताको वास्तविक मापन हुनेछ,’ उनले भनिन् ।
साइनीलाई लाग्छ— नेपालमा कृषि क्षेत्रमा सम्भावनाको अभाव छैन, अभाव छ त दृष्टिकोण र प्रविधिको । ‘जहाँ चुनौती हुन्छ, त्यहीँ सम्भावना पनि हुन्छ,’ उनी भन्छिन् ।
नेपालको कृषि अझै परम्परागत ढाँचामै सीमित रहेको उनी बताउँछिन् । आधुनिक प्रविधि, वैज्ञानिक उत्पादन प्रणाली र व्यवस्थापन भित्र्याउन सके कृषिमा ठूलो फड्को मार्न सकिने उनको बुझाइ छ ।
तर उद्यमीका लागि सबैभन्दा ठूलो समस्या भने नीतिगत अस्थिरता रहेको उनको टिप्पणी छ । हरेकजसो वर्ष परिवर्तन भइरहने सरकारी नीतिले दीर्घकालीन लगानीलाई असुरक्षित बनाउने उनको अनुभव छ । त्यससँगै नयाँ उद्यमीका लागि पर्याप्त पुँजी, अनुभवी मार्गदर्शक र व्यवसायमैत्री वातावरणको अभाव पनि उनले महसुस गरेकी छन् । यस्ता चुनौतीले साइनीलाई निराश भने बनाएका छैनन् । बरु अझै धेरै काम गर्न बाँकी छ भन्ने अनुभूति गराएका छन् ।
व्यवसायको व्यस्तताबीच पनि साइनी आफूलाई सन्तुलित राख्ने आफ्नै उपाय खोज्छिन् । उनलाई घुम्न निकै मन पर्छ । नेपालमा पोखरा र घान्द्रुक उनका प्रिय गन्तव्य हुन् । विदेशका धेरै ठाउँ घुमे पनि फिनल्यान्डले उनलाई भित्रैदेखि छोएको छ, मोहित बनाएको छ ।
खेलकुदमा उनको रोजाइ टेनिस हो । उनी टेनिस हेर्न पनि उत्तिकै रुचाउने उनले विम्बल्डन सकेसम्म छुटाउँदिनन् । पुस्तकमा उनको रोजाइ पनि उनको व्यक्तित्वसँग मेल खान्छ । जेम्स क्लियरको ‘एटोमिक ह्याबिट्स’ उनका मनपर्ने पुस्तकमध्ये एक हो । त्यसबाहेक व्यवसाय, नेतृत्व र व्यक्तिगत विकाससँग सम्बन्धित पुस्तक उनी नियमित पढ्छिन् ।
साइनीले राजनीतिमा आउने कुनै योजना अहिलेसम्म बनाएकी छैनन् । उनको ध्यान अहिले पूर्ण रूपमा आफ्ना व्यवसाय र दुई छोरीमाथि केन्द्रित छ । सायद उनको जीवनको सबैभन्दा सुन्दर उपलब्धि कुनै कम्पनीको कारोबार, कुनै उद्योगको आकार वा कुनै आर्थिक सूचक होइन । उनको सपना छ, छोरीहरूले एक दिन भनून— ‘हामीले उद्यमशीलता पुस्तकबाट सिकेका होइनौं, आमालाई हेरेर सिकेका हौं ।’
