जहाजको ककपिट छुट्यो, छुटेन उद्यमको उडान

व्यवसायमा लागेपछि पनि धेरै वर्षसम्म सुदीपलाई विदेश जाने सोच नआएको होइन, तर अहिले त्यो चाहना हराइसकेको छ, उनी यहीँको माटोमा भिजेका छन्, जसले संकटमा सम्भावना देख्छन् ।

असार २८, २०८३

यज्ञ बञ्जाडे, भूमीश्‍वर पौडेल

The cockpit of the plane was lost, but the flight of the enterprise was not lost.

काठमाडौँ — मानिसको जीवन कहिलेकाहीँ उसले देखेको होइन, छाड्नुपरेका सपनाले परिभाषित गरिदिन्छ । आकाशमा उड्ने रहर बोकेका धेरै बालबालिका हुर्किंदै जाँदा विभिन्न जिम्मेवारीसँग सम्झौता गर्न पुग्छन् । कसैका सपना समयले खोस्छ, कसैका परिस्थितिले मोडिदिन्छ । अनि कतिपयका सपना नयाँ सपनाको गर्भमा हराएर फेरि अर्को रूप लिएर जन्मिन्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेको ‘भवितव्य’ ले पनि यस्तै भाषा बोल्छ । हेटौंडामा जन्मिएका सुदीप बाबुका पाइला जहाँ–जहाँ पुगे, उनका दिन पनि त्यतै–त्यतै बगे । विद्यालय फेरिए, सहर फेरिए, परिवेश फेरिए । तर बालक सुदीपको मनमा एउटा दृढ सपना थियो, पाइलट बनेर एक दिन बादलमाथि उड्ने । 

इटहरीको विद्यालय जीवन र त्यसपछि काठमाडौंको कलेजसम्म आइपुग्दा पनि त्यो सपना जीवितै थियो । जति बेला उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरे, त्यही बेला व्यवसायले उनलाई लपेटिहाल्यो । पारिवारिक व्यवसाय, जिम्मेवारीको वजन र समयको माग यति गह्रौं भयो, पाइलट बन्ने उनको सपनालाई व्यवसायले बिस्तारै आफूभित्र विलिन गरायो । त्यसपछि उनको जीवनमा एउटा अनौठो गन्ती सुरु भयो– पढाइ पार्टटाइम बन्यो, व्यवसाय फुलटाइम । 

सायद यहीँबाट अर्को सुदीप जन्मिए, जहाँ अरूले सपनाको मृत्यु देख्न सक्थे, उनले त्यहीँ अवसरको जन्म देखे । व्यवसाय उनको काम मात्र रहेन, बिस्तारै उनको स्वभाव बन्यो । र, अन्ततः एउटा मधुर व्यसन बन्यो । उनी उद्यमशीलता अनि सिर्जनशीलताका ‘अम्मली’ भए । कर्मका अम्मली ।

सुदीपका हजुरबुबा किसान थिए । उनका बुबा (शिव घिमिरे) नै उनीहरूको व्यावसायिक जीवनको पहिलो पुस्ता हुन् । एकताका मेचीदेखि महाकालीसम्म गरेर उनीहरूका ४४ वटा पेट्रोल पम्प र दुई सय हाराहारीमा ट्यांकर थिए । तिनमा धेरैले काम पाएका थिए । तर चाडबाडका बेला कर्मचारी बिदा बस्दा सुदीप साँझ–बिहान पेट्रोल पम्पमा बस्थे । बिल काट्थे र हिसाब चुस्तदुरुस्त राख्थे । 

‘सायद त्यसैले ममा व्यावसायिकताको भोक जगाइदियो होला,’ सुदीप स्मृतिमा घोत्लिन्छन्, ‘र त्यसैको जगमा अहिलेको मेरो धरातल ठडिएको होला ।’ 

बुबालाई ४२ वर्षकै उमेरमा मधुमेह र उच्च रक्तचाप देखिएको थियो । त्यति बेलासम्म परिवारले व्यवसायको राम्रो आधार बनाइसकेको थियो । पहाडी मूलका बुबाले वर्षौंको मिहिनेतबाट उभ्याएको व्यवसायलाई थप विस्तार गर्नु नै त्यस बेला सुदीपको पहिलो जिम्मेवारी बन्यो । विदेश जाने बाटोभन्दा आफ्नै माटोमा व्यवसायको जग बलियो बनाउने निर्णय उनले रोजे ।

२०६४ मा प्लस टु उत्तीर्ण गरेपछि उनले काठमाडौंको डनबस्को कलेजमा बीबीए अध्ययन सुरु गरे । तर पढाइलाई पार्टटाइममा राखेर पूर्ण समय व्यवसायमा लाग्ने निर्णय गर्दै उनी धरान पुगे । त्यति बेला परिवारले निर्यातमुखी कत्था उद्योग स्थापना गरेको थियो । एक जना मारवाडी साझेदारसँग मिलेर उनले उद्योगको सञ्चालन र व्यवस्थापन सम्हाल्न थाले ।

धरानको उद्योग एक वर्षपछि इटहरी सारियो । त्यसपछि धादिङको खानीखोलामा सुगम ग्यास उद्योग स्थापना भयो । हेटौंडामा दाना उद्योग खोल्ने योजना पनि बनेको थियो तर त्यो सफल हुन सकेन । 

सुदीपले नेतृत्व गरिरहेको व्यावसायिक समूह देशका विभिन्न क्षेत्रमा फैलिएको छ । धनगढीदेखि इटहरीसम्म सात वटा ग्यास उद्योग सञ्चालनमा छन् । चार वटा पेट्रोल पम्प चलिरहेका छन् । ‘कत्था उद्योगबाट उत्पादित सबै सामग्री भारत निर्यात हुन्छ । खयरको काठ त्यस उद्योगको मुख्य कच्चा पदार्थ हो, जसको प्रयोग पान र औषधि उद्योगमा गरिन्छ,’ उनले भने । 

सुदीपले नेतृत्व गरिरहेका उद्यमअन्तर्गत संखुवासभामा ‘सगरमाथा चिया’ ब्रान्डअन्तर्गत अर्थोडक्स चिया उत्पादन भइरहेको छ । बझाङमा कालंगा, सानीगाड र बुंगोल जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । भोजपुरमा अर्को आयोजना निर्माणाधीन छ । सिमरामा प्राकृतिक ग्यास प्लान्ट स्थापना गरिएको छ । समृद्धि फाइनान्स सञ्चालनमा छ, जसलाई पोखरा फाइनान्ससँग गाभिँदै छ । बिस्तारै यसलाई विकास बैंक बनाउने उनको लक्ष्य छ । 

The cockpit of the plane was lost, but the flight of the enterprise was not lost.

होटल व्यवसायमा प्रवेश गर्ने पनि सुदीपको तयारी पनि छ । सूचना प्रविधिको क्षेत्रमा ‘टाइडी डेज’ कम्पनीमार्फत विभिन्न सफ्टवेयर विकास गर्ने काम रोकिएको छैन । ‘मेरो नेतृत्वमा सञ्चालित व्यवसायको वार्षिक कारोबार करिब १५ अर्ब रुपैयाँ छ,’ सुदीपले भने, ‘यिनमा करिब दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।’ 

सुदीपको योजना यतिमै सीमित छैन । ऊर्जा, पर्यटन, सूचना प्रविधि र वित्तीय क्षेत्रमा आफूहरूको व्यवसाय विस्तार गर्ने उनको लक्ष्य छ । कहिलेकाहीँ भने उनको मन कुँडिन्छ । नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि प्रक्रियागत जटिलता भने कायमै रहेको उनको गुनासो छ । एउटा कामका लागि लगानीकर्ताले अझै धेरै निकाय धाउनुपर्ने अवस्था रहेको उनको तीतो अनुभव छ ।

व्यवसायमा लागेपछि पनि धेरै वर्षसम्म सुदीपलाई विदेश जाने सोच नआएको होइन । तर अहिले त्यो चाहना हराइसकेको छ । उनी यहीँको माटोमा भिजेका छन्, जसले संकटमा सम्भावना देख्छन् । ‘नेपालले बेलाबेला आर्थिक संकट झेले पनि त्यसबाट छिट्टै बाहिर निस्कने क्षमता पनि राख्छ,’ उनले भने, ‘त्यसैले म आशावादी छु । नेपालमा समस्या छन् तर यहाँ सम्भावना अझ धेरै छन् ।’ 

परिवारसँगै आफ्नै देशमा बसेर व्यवसाय गर्न पाउनु नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उनी ठान्छन् । नेपालमै बसेर संसारका धेरै देशसँग काम गर्न सकिने भएकैले सूचना प्रविधि क्षेत्रमा लगानी गरेको उनको भनाइ छ ।

विदेश पुगेका नेपाली युवाले पनि कुनै न कुनै रूपमा स्वदेशसँग जोडिन खोजिरहेको उनी देख्छन् । त्यसैले उनी युवालाई विदेश जान, अध्ययन गर्न, सीप सिक्न, अनुभव बटुल्न र आर्थिक रूपमा सक्षम बन्न आग्रह गर्छन् । तर अन्ततः नेपाल फर्केर देशमै योगदान दिन सके त्यो अझ अर्थपूर्ण हुने उनको विश्वास छ । फर्किन सम्भव नभए पनि विश्वभर नेपाल र नेपालीको प्रतिष्ठा बढाउने काम गर्नुपर्ने उनको सुझाव छ ।

सुदीपको व्यावसायिक यात्रा सफल मात्र छैन । सुगम ग्यास उद्योग स्थापना गर्दा विभिन्न अफवाह र विरोधका कारण ठूलो अवरोध सामना गर्नुपरेको तीतो यथार्थ सम्झिँदा उनी गम्भीर बन्छन् । दुई–चार महिनासम्म संघर्ष गरेर उद्योग सञ्चालनमा ल्याउन सफल भएपछि त्यसले नयाँ आत्मविश्वास दिएको उनी सम्झन्छन् । अहिले देशभर सात वटा ग्यास उद्योग सञ्चालनमा हुनु त्यही संघर्षको परिणाम भएको उनको बुझाइ छ ।

गुडुखा उद्योग, प्लाइउड उद्योग र बिटुमिन आयातजस्ता केही व्यवसायमा भने सुदीपले असफलता पनि बेहोर्नुपरेको थियो । अहिले सञ्चालनमा रहेका सबै व्यवसाय समान रूपमा सफल नभएको उनी स्विकार्छन् । तर उनी स्पष्ट छन्– व्यवसायमा सफलता र असफलता दुवै सिकाइका चरण हुन् ।

सुदीपका दुई छोरा छन् । इटहरीमा विद्यालयदेखि सेन्ट जेभियर्ससम्म सँगै अध्ययन गरेकी सहपाठी श्वेता दाहालसँग उनले प्रेम विवाह गरेका हुन् । उनकी श्रीमती इन्जिनियर हुन् । उनले व्यवसायमा इन्जिनियरिङ पक्ष सम्हाल्दै आएकी छन् ।

सुदीपलाई घुम्न असाध्यै मन पर्छ । पहाड र हिमाल उनका विशेष रोजाइ हुन् । मनाङ र मुस्ताङ उनी दुई–तीन पटक पुगिसकेका छन् । जापान उनको सबैभन्दा मनपर्ने देश हो । त्यहाँको सभ्यता र संस्कारले उनलाई भित्रैदेखि छोएको छ । 

The cockpit of the plane was lost, but the flight of the enterprise was not lost.

सुदीप इतिहाससम्बन्धी पुस्तक पढ्न रुचाउँछन्, विशेषगरी अर्थतन्त्रको इतिहास । जेम्स क्लियरको ‘एटोमिक ह्याबिट्स’ ले उनलाई भित्रैदेखि हल्लाएको छ । क्रिकेट उनका लागि मनपर्ने खेल हो । विद्यार्थी जीवनमा क्रिकेट खेलेका उनी अहिले गल्फप्रति मोहित छन् । फुर्सद मिले साइकल लिएर निस्कने बानी छुटेको छैन । 

बिहान सबेरै उठेर दिन सुरु गर्ने सुदीप प्रायः नौ बजेसम्म कार्यालय पुगिसक्छन् । साँझ सकेसम्म छिट्टै घर फर्केर परिवारसँग समय बिताउने इच्छा भए पनि व्यस्तताले त्यो सधैं सम्भव नहुने गरेको उनी बताउँछन् । 

व्यावसायिक प्रेरणाका रूपमा उनी नेपालमा विनोद चौधरी र शेष घले दम्पतीलाई स्मरण गर्छन् । विदेशमा चीनका ज्याक माको संघर्ष र यात्राले उनलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । सफलताको सबैभन्दा ठूलो आधार अनुशासन र समय व्यवस्थापन हो । ‘सबैलाई समान रूपमा प्राप्त हुने समयलाई सही ढंगले उपयोग गर्न नसके जीवनमा दीर्घकालीन सफलता सम्भव हुन्न,’ उनी दृढ सुनिए । 

नेपाल उद्योग वाणिज्य महासंघ युवा उद्यमी मञ्चमार्फत सुदीप स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा सक्रिय छन् । देशभरका करिब १ हजार २ सय सदस्य आबद्ध रहेको यस मञ्चले युवाका नयाँ सोचलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्न सहयोग गरिरहेको उनको भनाइ छ । 

सानोमा उनका आँखामा जहाजका पखेटाले उज्यालो छरेका थिए तर जीवनले उनका हातमा अर्कै किसिमको ‘ककपिट’ सुम्पियो । उनी जहाजको कप्तान अर्थात् पाइलट बन्न चाहन्थे तर भाग्यले उनलाई उद्योग, उद्यम र सिर्जनशील जोखिमहरूको संसारको चालक बनायो । उनी आज पनि उडानमै छन् । फरक यत्ति हो, अहिले उनका पखेटामा उद्योग, उद्यम र हजारौं मानिसको भविष्य जोडिएको छ । 

कर्पोरेट प्रोफाइल

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

भूमीश्‍वर

Link copied successfully