व्यवसायमा लागेपछि पनि धेरै वर्षसम्म सुदीपलाई विदेश जाने सोच नआएको होइन, तर अहिले त्यो चाहना हराइसकेको छ, उनी यहीँको माटोमा भिजेका छन्, जसले संकटमा सम्भावना देख्छन् ।
काठमाडौँ — मानिसको जीवन कहिलेकाहीँ उसले देखेको होइन, छाड्नुपरेका सपनाले परिभाषित गरिदिन्छ । आकाशमा उड्ने रहर बोकेका धेरै बालबालिका हुर्किंदै जाँदा विभिन्न जिम्मेवारीसँग सम्झौता गर्न पुग्छन् । कसैका सपना समयले खोस्छ, कसैका परिस्थितिले मोडिदिन्छ । अनि कतिपयका सपना नयाँ सपनाको गर्भमा हराएर फेरि अर्को रूप लिएर जन्मिन्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेको ‘भवितव्य’ ले पनि यस्तै भाषा बोल्छ । हेटौंडामा जन्मिएका सुदीप बाबुका पाइला जहाँ–जहाँ पुगे, उनका दिन पनि त्यतै–त्यतै बगे । विद्यालय फेरिए, सहर फेरिए, परिवेश फेरिए । तर बालक सुदीपको मनमा एउटा दृढ सपना थियो, पाइलट बनेर एक दिन बादलमाथि उड्ने ।
इटहरीको विद्यालय जीवन र त्यसपछि काठमाडौंको कलेजसम्म आइपुग्दा पनि त्यो सपना जीवितै थियो । जति बेला उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरे, त्यही बेला व्यवसायले उनलाई लपेटिहाल्यो । पारिवारिक व्यवसाय, जिम्मेवारीको वजन र समयको माग यति गह्रौं भयो, पाइलट बन्ने उनको सपनालाई व्यवसायले बिस्तारै आफूभित्र विलिन गरायो । त्यसपछि उनको जीवनमा एउटा अनौठो गन्ती सुरु भयो– पढाइ पार्टटाइम बन्यो, व्यवसाय फुलटाइम ।
सायद यहीँबाट अर्को सुदीप जन्मिए, जहाँ अरूले सपनाको मृत्यु देख्न सक्थे, उनले त्यहीँ अवसरको जन्म देखे । व्यवसाय उनको काम मात्र रहेन, बिस्तारै उनको स्वभाव बन्यो । र, अन्ततः एउटा मधुर व्यसन बन्यो । उनी उद्यमशीलता अनि सिर्जनशीलताका ‘अम्मली’ भए । कर्मका अम्मली ।
सुदीपका हजुरबुबा किसान थिए । उनका बुबा (शिव घिमिरे) नै उनीहरूको व्यावसायिक जीवनको पहिलो पुस्ता हुन् । एकताका मेचीदेखि महाकालीसम्म गरेर उनीहरूका ४४ वटा पेट्रोल पम्प र दुई सय हाराहारीमा ट्यांकर थिए । तिनमा धेरैले काम पाएका थिए । तर चाडबाडका बेला कर्मचारी बिदा बस्दा सुदीप साँझ–बिहान पेट्रोल पम्पमा बस्थे । बिल काट्थे र हिसाब चुस्तदुरुस्त राख्थे ।
‘सायद त्यसैले ममा व्यावसायिकताको भोक जगाइदियो होला,’ सुदीप स्मृतिमा घोत्लिन्छन्, ‘र त्यसैको जगमा अहिलेको मेरो धरातल ठडिएको होला ।’
बुबालाई ४२ वर्षकै उमेरमा मधुमेह र उच्च रक्तचाप देखिएको थियो । त्यति बेलासम्म परिवारले व्यवसायको राम्रो आधार बनाइसकेको थियो । पहाडी मूलका बुबाले वर्षौंको मिहिनेतबाट उभ्याएको व्यवसायलाई थप विस्तार गर्नु नै त्यस बेला सुदीपको पहिलो जिम्मेवारी बन्यो । विदेश जाने बाटोभन्दा आफ्नै माटोमा व्यवसायको जग बलियो बनाउने निर्णय उनले रोजे ।
२०६४ मा प्लस टु उत्तीर्ण गरेपछि उनले काठमाडौंको डनबस्को कलेजमा बीबीए अध्ययन सुरु गरे । तर पढाइलाई पार्टटाइममा राखेर पूर्ण समय व्यवसायमा लाग्ने निर्णय गर्दै उनी धरान पुगे । त्यति बेला परिवारले निर्यातमुखी कत्था उद्योग स्थापना गरेको थियो । एक जना मारवाडी साझेदारसँग मिलेर उनले उद्योगको सञ्चालन र व्यवस्थापन सम्हाल्न थाले ।
धरानको उद्योग एक वर्षपछि इटहरी सारियो । त्यसपछि धादिङको खानीखोलामा सुगम ग्यास उद्योग स्थापना भयो । हेटौंडामा दाना उद्योग खोल्ने योजना पनि बनेको थियो तर त्यो सफल हुन सकेन ।
सुदीपले नेतृत्व गरिरहेको व्यावसायिक समूह देशका विभिन्न क्षेत्रमा फैलिएको छ । धनगढीदेखि इटहरीसम्म सात वटा ग्यास उद्योग सञ्चालनमा छन् । चार वटा पेट्रोल पम्प चलिरहेका छन् । ‘कत्था उद्योगबाट उत्पादित सबै सामग्री भारत निर्यात हुन्छ । खयरको काठ त्यस उद्योगको मुख्य कच्चा पदार्थ हो, जसको प्रयोग पान र औषधि उद्योगमा गरिन्छ,’ उनले भने ।
सुदीपले नेतृत्व गरिरहेका उद्यमअन्तर्गत संखुवासभामा ‘सगरमाथा चिया’ ब्रान्डअन्तर्गत अर्थोडक्स चिया उत्पादन भइरहेको छ । बझाङमा कालंगा, सानीगाड र बुंगोल जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । भोजपुरमा अर्को आयोजना निर्माणाधीन छ । सिमरामा प्राकृतिक ग्यास प्लान्ट स्थापना गरिएको छ । समृद्धि फाइनान्स सञ्चालनमा छ, जसलाई पोखरा फाइनान्ससँग गाभिँदै छ । बिस्तारै यसलाई विकास बैंक बनाउने उनको लक्ष्य छ ।
होटल व्यवसायमा प्रवेश गर्ने पनि सुदीपको तयारी पनि छ । सूचना प्रविधिको क्षेत्रमा ‘टाइडी डेज’ कम्पनीमार्फत विभिन्न सफ्टवेयर विकास गर्ने काम रोकिएको छैन । ‘मेरो नेतृत्वमा सञ्चालित व्यवसायको वार्षिक कारोबार करिब १५ अर्ब रुपैयाँ छ,’ सुदीपले भने, ‘यिनमा करिब दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।’
सुदीपको योजना यतिमै सीमित छैन । ऊर्जा, पर्यटन, सूचना प्रविधि र वित्तीय क्षेत्रमा आफूहरूको व्यवसाय विस्तार गर्ने उनको लक्ष्य छ । कहिलेकाहीँ भने उनको मन कुँडिन्छ । नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि प्रक्रियागत जटिलता भने कायमै रहेको उनको गुनासो छ । एउटा कामका लागि लगानीकर्ताले अझै धेरै निकाय धाउनुपर्ने अवस्था रहेको उनको तीतो अनुभव छ ।
व्यवसायमा लागेपछि पनि धेरै वर्षसम्म सुदीपलाई विदेश जाने सोच नआएको होइन । तर अहिले त्यो चाहना हराइसकेको छ । उनी यहीँको माटोमा भिजेका छन्, जसले संकटमा सम्भावना देख्छन् । ‘नेपालले बेलाबेला आर्थिक संकट झेले पनि त्यसबाट छिट्टै बाहिर निस्कने क्षमता पनि राख्छ,’ उनले भने, ‘त्यसैले म आशावादी छु । नेपालमा समस्या छन् तर यहाँ सम्भावना अझ धेरै छन् ।’
परिवारसँगै आफ्नै देशमा बसेर व्यवसाय गर्न पाउनु नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उनी ठान्छन् । नेपालमै बसेर संसारका धेरै देशसँग काम गर्न सकिने भएकैले सूचना प्रविधि क्षेत्रमा लगानी गरेको उनको भनाइ छ ।
विदेश पुगेका नेपाली युवाले पनि कुनै न कुनै रूपमा स्वदेशसँग जोडिन खोजिरहेको उनी देख्छन् । त्यसैले उनी युवालाई विदेश जान, अध्ययन गर्न, सीप सिक्न, अनुभव बटुल्न र आर्थिक रूपमा सक्षम बन्न आग्रह गर्छन् । तर अन्ततः नेपाल फर्केर देशमै योगदान दिन सके त्यो अझ अर्थपूर्ण हुने उनको विश्वास छ । फर्किन सम्भव नभए पनि विश्वभर नेपाल र नेपालीको प्रतिष्ठा बढाउने काम गर्नुपर्ने उनको सुझाव छ ।
सुदीपको व्यावसायिक यात्रा सफल मात्र छैन । सुगम ग्यास उद्योग स्थापना गर्दा विभिन्न अफवाह र विरोधका कारण ठूलो अवरोध सामना गर्नुपरेको तीतो यथार्थ सम्झिँदा उनी गम्भीर बन्छन् । दुई–चार महिनासम्म संघर्ष गरेर उद्योग सञ्चालनमा ल्याउन सफल भएपछि त्यसले नयाँ आत्मविश्वास दिएको उनी सम्झन्छन् । अहिले देशभर सात वटा ग्यास उद्योग सञ्चालनमा हुनु त्यही संघर्षको परिणाम भएको उनको बुझाइ छ ।
गुडुखा उद्योग, प्लाइउड उद्योग र बिटुमिन आयातजस्ता केही व्यवसायमा भने सुदीपले असफलता पनि बेहोर्नुपरेको थियो । अहिले सञ्चालनमा रहेका सबै व्यवसाय समान रूपमा सफल नभएको उनी स्विकार्छन् । तर उनी स्पष्ट छन्– व्यवसायमा सफलता र असफलता दुवै सिकाइका चरण हुन् ।
सुदीपका दुई छोरा छन् । इटहरीमा विद्यालयदेखि सेन्ट जेभियर्ससम्म सँगै अध्ययन गरेकी सहपाठी श्वेता दाहालसँग उनले प्रेम विवाह गरेका हुन् । उनकी श्रीमती इन्जिनियर हुन् । उनले व्यवसायमा इन्जिनियरिङ पक्ष सम्हाल्दै आएकी छन् ।
सुदीपलाई घुम्न असाध्यै मन पर्छ । पहाड र हिमाल उनका विशेष रोजाइ हुन् । मनाङ र मुस्ताङ उनी दुई–तीन पटक पुगिसकेका छन् । जापान उनको सबैभन्दा मनपर्ने देश हो । त्यहाँको सभ्यता र संस्कारले उनलाई भित्रैदेखि छोएको छ ।
सुदीप इतिहाससम्बन्धी पुस्तक पढ्न रुचाउँछन्, विशेषगरी अर्थतन्त्रको इतिहास । जेम्स क्लियरको ‘एटोमिक ह्याबिट्स’ ले उनलाई भित्रैदेखि हल्लाएको छ । क्रिकेट उनका लागि मनपर्ने खेल हो । विद्यार्थी जीवनमा क्रिकेट खेलेका उनी अहिले गल्फप्रति मोहित छन् । फुर्सद मिले साइकल लिएर निस्कने बानी छुटेको छैन ।
बिहान सबेरै उठेर दिन सुरु गर्ने सुदीप प्रायः नौ बजेसम्म कार्यालय पुगिसक्छन् । साँझ सकेसम्म छिट्टै घर फर्केर परिवारसँग समय बिताउने इच्छा भए पनि व्यस्तताले त्यो सधैं सम्भव नहुने गरेको उनी बताउँछन् ।
व्यावसायिक प्रेरणाका रूपमा उनी नेपालमा विनोद चौधरी र शेष घले दम्पतीलाई स्मरण गर्छन् । विदेशमा चीनका ज्याक माको संघर्ष र यात्राले उनलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । सफलताको सबैभन्दा ठूलो आधार अनुशासन र समय व्यवस्थापन हो । ‘सबैलाई समान रूपमा प्राप्त हुने समयलाई सही ढंगले उपयोग गर्न नसके जीवनमा दीर्घकालीन सफलता सम्भव हुन्न,’ उनी दृढ सुनिए ।
नेपाल उद्योग वाणिज्य महासंघ युवा उद्यमी मञ्चमार्फत सुदीप स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा सक्रिय छन् । देशभरका करिब १ हजार २ सय सदस्य आबद्ध रहेको यस मञ्चले युवाका नयाँ सोचलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्न सहयोग गरिरहेको उनको भनाइ छ ।
सानोमा उनका आँखामा जहाजका पखेटाले उज्यालो छरेका थिए तर जीवनले उनका हातमा अर्कै किसिमको ‘ककपिट’ सुम्पियो । उनी जहाजको कप्तान अर्थात् पाइलट बन्न चाहन्थे तर भाग्यले उनलाई उद्योग, उद्यम र सिर्जनशील जोखिमहरूको संसारको चालक बनायो । उनी आज पनि उडानमै छन् । फरक यत्ति हो, अहिले उनका पखेटामा उद्योग, उद्यम र हजारौं मानिसको भविष्य जोडिएको छ ।
