नयाँ पुस्तालाई मनीषको सुझाव छ- ‘बाहिर गएर सिक्नुस्, संसारलाई नजिकबाट बुझ्नुस्, तर त्यहाँको ज्ञान, सीप र प्रविधिलाई नेपालमा ल्याएर आफ्नै माटोमा नयाा सम्भावनाको बीउ रोप्नुस् ।'
What you should know
काठमाडौँ — ‘अल्छी’ शब्द सुन्नासाथ धेरैको मनमा नकारात्मक छवि आउन सक्छ । तर मनीष श्रेष्ठको व्यावसायिक यात्राले यही शब्दलाई सिर्जनशीलता, नवीन सोच र सफलताको परिचायक बनाइदिएको छ ।
विश्वप्रसिद्ध उद्यमी बिल गेट्सको भनाइ छ— ‘कठिन काम गर्न म अल्छी मानिसलाई रोज्न रुचाउँछु, किनकि उसले त्यो काम छिटो र सजिलो तरिकाले सक्ने उपाय खोजिहाल्छ ।
यही सोचलाई आत्मसात् गर्दै मनीषले सन् २०१८ मा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने र कामलाई अझ रोचक बनाउने उद्देश्यसहित ‘अल्छी’ कम्पनी स्थापना गरेका थिए ।
उनको यही फरक सोच र साहसी यात्राले हालै नयाँ उचाइ पनि प्राप्त गरेको छ । सार्क ट्यांक नेपालमा बोर्ड गेम व्यवसाय विस्तार गर्ने योजनासहित प्रस्तुत भएका उनले क्याबिनेट श्रेष्ठसँग २५ प्रतिशत इक्विटीको बदलामा १ करोड रुपैयाँ लगानी र थप ५० लाख रुपैयाँ ऋणसहितको सम्झौता गर्न सफल भए । आफ्नो यात्राप्रति गर्व व्यक्त गर्दै मनीष भन्छन्, ‘वी आर प्राउड टु बी अल्छी ।’
सार्क ट्यांकपछि आफूहरूलाई क्याबिनेट श्रेष्ठले निरन्तर मार्गनिर्देशन र नेटवर्किङ अवसरमा सहजीकरण गर्दै आएको उनले बताए । ‘यस वर्ष मात्रै हामीले २० प्रतिशतले वृद्धि गर्ने देखिरहेका छौं,’ मनीषले भने, ‘अर्को वर्ष थप ग्रोथ हुने पक्का छ । अल्छीलाई विस्तार गर्ने क्रममा हामीले अब नेपालका हिमाली क्षेत्रका कथा संकलन गरेर तिनमा आधारित भौतिक बोर्ड गेम्स, स्टोरी बुक्स र एनिमेटेड स्टोरिज बनाउने सोचेका छौं । हामी बच्चा बेलामा कति धेरै गेम खेल्थ्यौं, अहिले ती सबै हराएर गइरहेका छन् । बजारमा सबै कि त चीनमा बनेका वा भारतमा बनेका खेल सामग्री छन् । तिनमा नेपालका बिम्ब र कथा भेटिने कुरै भएन ।’
मनीषको बाल्यकाल कुनै एक सहर वा देशको सीमाभित्र बाँधिएन । बुबाको संयुक्त राष्ट्रसंघसँगको आबद्धताका कारण उनले सियरा लियोन, गाम्बिया र नामिबियाजस्ता अफ्रिकी मुलुकमा आफ्नो बाल्यकालका करिब एक दशक बिताए । सानै उमेरमा फरक संस्कृति, फरक समाज र फरक परिवेशसँगको साक्षात्कारले उनको सोच र दृष्टिकोणलाई व्यापक बनायो ।
मनीषका काजी स्टुडियोज, अल्छी र अल्छी एक्सपिरियन्सेस गरी तीन कम्पनीमा झन्डै ६० जना रोजगार छन् ।प्रारम्भिक शिक्षा अफ्रिकामै सुरु भए पनि कक्षा ४ देखि ८ सम्म उनले ललितपुरस्थित आदर्श विद्या मन्दिरमा अध्ययन गरे । त्यसपछि पुनः माध्यमिक शिक्षाका लागि अफ्रिका फर्किएका मनीष कक्षा ९ र १० त्यहीं पूरा गरेर प्लस टु अध्ययन गर्न नेपाल आए । र, पानीपोखरीस्थित भानुभक्त मेमोरियल कलेज भर्ना भए ।
प्रविधिसँगको उनको सम्बन्ध भने बाल्यकालदेखि नै गहिरो थियो । सन् १९९७ मा उनकी सानीआमाले पहिलो नेपाली वेब डिजाइनिङ कम्पनी ‘आमा नेटवर्क’ सुरु गरेकी थिइन् । नेपालमा इन्टरनेट र वेब प्रविधि अझै प्रारम्भिक चरणमै रहेका बेला १७ वर्षका मनीष त्यस कम्पनीका पहिलो कर्मचारी बने । बिहान कलेज जाने र दिउँसो कार्यालयमा बसेर वेब डिजाइन गर्ने उनको दैनिकी थियो । त्यतिबेला नेपालमा यस्ता कम्पनी निकै कम थिए, तर मनीष भविष्यको सम्भावना देखेर त्यही यात्रामा अघि बढिरहेका थिए ।
यही रुचि र अनुभवले उनलाई उच्च शिक्षाका लागि अमेरिका पुर्यायो । उनले जर्ज मेसन विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरे । अमेरिकामा बिताएका झन्डै १० वर्षका दौरान उनले विभिन्न स्टार्टअपदेखि ठूला प्रविधि परियोजनासम्म काम गर्ने अवसर पाए । ती अनुभवले उनको प्राविधिक दक्षता मात्र बढाएनन्, नयाँ सोच, उद्यमशीलता र सिर्जनशीलताको जगसमेत बलियो बनाइदिए ।
‘बिजनेस कार्ड टु’ कम्पनी जस्ता डिजिटल कार्ड एप बनाउने कम्पनीदेखि याहु, गुगल, कोकाकोला र नाइकीजस्ता विश्वप्रसिद्ध ब्रान्डका लागि टेक सिस्टम बनाउने काममा उनी संलग्न भए । बिजनेस कार्ड टु अहिलेको लिंक्डइन जस्तै व्यावसायिक सामाजिक सञ्जाल प्लाटफर्म थियो । त्यो कम्पनी बन्द भएपछि उनले नर्डरी’ नामक डिजिटल सोलुसन कम्पनीमा काम गरे । उनले काम थाल्दा सो कम्पनी निकै सानो थियो, उनी नै चौथो कर्मचारी थिए । ‘मैले छाड्ने बेलासम्म त्यो निकै ठूलो, फर्च्युन ५०० को सूचीमा पर्ने कम्पनी भइसकेको थियो । र, म त्यहाँको सबैभन्दा पुरानो कर्मचारी थिएँ,’ उनले विगत सम्झिए ।
मनीषलाई अमेरिकाको काम एकतमासको लाग्न थाल्यो । ग्रिनकार्डको प्रक्रिया चलिरहेको थियो । तर त्यसको प्रतीक्षामा थप पाँच वर्ष बिताउनुभन्दा नेपाल फर्केर केही गर्नु उचित ठाने । सन् २०१० मा नेपाल फर्किए । यहाँ आएपछि कामको अभाव भएन । कहिले एउटा काम आयो, अर्को काम आयो, गर्दागर्दै यतै सेटल भए । ‘सन् २०१० मा मैले श्रीमती कृति शाक्यसँग मिलेर ‘काजी स्टुडियोज’ सुरु गरें,’ मनीषले भने, ‘सुरुमा अलिअलि आउटसोर्सिङका काम गरेको थिएँ । दक्षिण एसियाका डेभलपमेन्ट पार्टनर्ससँग मिलेर टेक्नोलोजी इम्प्लिमेन्टेसनका काम गर्यौं । दुई जना साझेदार (श्रीमान्–श्रीमती) ले दुई वटा ल्यापटपबाट सुरु गरेको स्टुडियोले अहिले नेपाल सरकार, विश्व बैंक, यूएनडीपी र युनिसेफजस्ता संस्थाहरूसँग मिलेर प्रविधि र डिजाइनका क्षेत्रमा काम गरिरहेको छ ।
सेवाग्राहीका लागि काम गर्दा कतिपय सिर्जनात्मक सीमा हुन्थे । तिनलाई तोड्न र आफ्नै मौलिक उत्पादन ल्याउन आफूहरूले ‘अल्छी’को परिकल्पना गरेको मनीषले सुनाए । ‘खासगरी मेरी छोरी जन्मिएपछि नेपालमा मौलिक खेल हराउँदै गएका छन् र बजारमा विदेशी प्रभाव बढी छ भन्ने महसुस भएको थियो,’ उनले भने, ‘त्यसैले नेपाली परिवेश सुहाउँदो ‘साम्राज्य’ नामक बोर्ड गेम तथा कार्ड गेम बनाउन थालेका हौं ।’
‘साम्राज्य’ राम्रोसँग चल्यो । ‘अल्छी’मा अहिले विभिन्न कार्ड गेम्स र बोर्ड गेम्स छन् । धरहरा, बागचाल, लंगुरबुर्जा, ढिकिच्याउँ, मोमो, फिट्टु र जात्रा जस्ता गेम एवं सिकाइ प्रविधि ‘अल्छीको पसल’बाट किन्न सकिन्छ ।
मनीषका काजी स्टुडियोज, अल्छी र अल्छी एक्सपिरियन्सेस गरी तीन कम्पनीमा झन्डै ६० जना रोजगार छन् । काजीबाट टेक्नोलोजी सिस्टम र डिजाइन सिस्टम बनाइन्छ । कतिपय प्रोजेक्टमा नेपाल सरकारसँग मिलेर काम गरिरहेका छन् उनले । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका प्रविधि निर्माणका काम गर्यौं,’ मनीषले भने, ‘पहिलो वर्ष यसमा करिब २२ लाखले नाम दर्ता गराएका थिए । त्यसबाट ६ अर्ब रुपैयाँको भुक्तानी यही
सिस्टमबाट भयो । मनीषले बंगलादेशमा युनिसेफसँग सहकार्य गर्दै कुपोषण ट्र्याकिङ प्रणालीमा काम गरेका छन् । ‘स्वास्थ्य कार्यालयका लागि प्रणाली विकास गर्छौं,’ उनले भने । मनीषको ध्यान प्रडक्ट निर्माणमा मात्र नभई सम्पूर्ण प्रणाली निर्माण र कार्यान्वयनमा केन्द्रित छ ।
मनीषको दैनिकी बिहान साढे ६ बजेबाट सुरु हुन्छ । छोरीलाई स्कुल पठाएपछि उनी जिम जान्छन् । र, १० बजेतिर अफिस पुग्छन् । उनलाई यात्रा गर्न निकै मनपर्छ । ‘सपरिवार नेपालका विभिन्न स्थान घुमिरहन्छु । एभरेस्ट बेस क्याम्प त म तीन पटक पुगिसकें,’ उनले सुनाए ।
कामको चापले हुन सक्छ, मनीषले किताब त्यति धेरै पढ्न पाएका छैनन् । स्टिभन बार्टलेट ‘डायरी अफ अ सीईओ’ पढिरहे पनि सकाएको छैन, समय नै मिलेको छैन,’ उनले भने, ‘पहिला–पहिला टन्नै फिल्म हेर्थें, अचेल त्यो पनि छुटिरहेको छ । पहिला किबोर्ड र गितार बजाउँथे । व्यस्तताले त्यसलाई समेत हात हाल्न पाएको छैन ।’ मनीषले लभ म्यारिज गरे । अमेरिका हुँदा नै कृतिलाई भेटेका हुन् उनले । ‘म टेक फिल्डमा थिएँ, उनी डिजाइन फिल्डमा । भेटेपछि नेपालमै गएर केही गरौं भनेर दुवै सँगै फर्कियौं,’ उनी भन्छन् ।
उद्यमशीलता पैसा कमाउने माध्यम मात्र होइन, उनका लागि यो एउटा ‘ड्राइभिङ फोर्स’ हो । यसले उनलार्ई अघि बढ्न, नयाँ सोच्न घचघच्याइरहन्छ । बिजनेसमा सिस्टम राम्रो बनायो भने राम्रोसँग बेच्न र विस्तार गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । ‘लगानी र सोच मात्रै ठूलो कुरा होइन, त्यसको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण हुन्छ,’ उनले सुनाए ।
नेपालमा काम गर्दाका मुख्य चुनौती उचित जनशक्ति र कार्य–नैतिकता (वर्क एथिक्स) को अभाव हो । ‘अमेरिकाबाट आएर काम सुरु गर्दा म आफैंले कतिलाई तालिम दिएँ, डिजाइन सिकाए तर अधिकांश युवा काम सिकेर विदेशका ठूलाठूला कम्पनीमा जागिर खान जान्थे वा अध्ययनका लागि विदेशिन्थे,’ मनीषले भने । मनीष अमेरिकामा सिकेको कार्यशैली र प्रविधिलाई यहाँ लागू गर्ने प्रयास गरिरहेका छन् ।
मनीष नेपाल उद्योग परिसंघ (सीएनआई) को योङ आन्टरप्रेनर्स फोरम (वाईएफ) को अध्यक्ष छन् । यसले स्टार्टअपहरूका लागि राम्रो वातावरण बनाउन सरकारलाई सुझाव दिने गर्छ । स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि कसरी राम्रो वातावरण बनाउने भनेर उनीहरू मन्थन गर्छन् ।
‘मान्छेलाई बिजनेस आइडिया त जति पनि आउँछ तर त्यसलाई स्केलअप कसरी गर्न सकिन्छ, त्यो हेर्न जरुरी छ,’ मनीषले भने, ‘यसमा सप्लाई चेनदेखि बजारको आकारलगायतबारे राम्रोसँग अध्ययन गर्नुपर्छ ।’ नयाँ पुस्तालाई मनीषको सुझाव छ— ‘बाहिर गएर सिक्नुस्, तर त्यहाँको आइडिया र प्रविधिलाई नेपालमा ल्याएर केही नयाँ सिर्जना गर्नुस् । नक्कल मात्र गरेर युनिक भइँदैन, मौलिकतामा ध्यान दिनुपर्छ ।’ मनीषको अबको लक्ष्य ‘अल्छी’ लाई गेमिङ उद्योगमा नेपालकै नम्बर वान कम्पनी बनाउने र यसलाई अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हो ।
