महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार

काठमाडौं महानगरले सहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड दिएको छ । 

असार १२, २०८३

शंकर आचार्य, पर्वत पोर्तेल, ऋषिराम पौड्याल, रमेशकुमार पौडेल, दीपक परियार

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

What you should know

काठमाडौँ — देशभरका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकाससँगै सेवा सुधार, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेका छन् । अधिकांश महानगरले बजेटको आकार बढाएका छन् भने केहीले सीमित स्रोतका कारण चालु वर्षकै हाराहारीको बजेट राखेका छन् । आगामी वर्षको बजेटमा सडक र भवन निर्माण मात्र नभई जलवायु अनुकूलन, सूचना प्रविधि र स्थानीय आर्थिक विकासका कार्यक्रम थप प्राथमिकतामा परेका छन् ।

संघीय अनुदानको संरचना, आन्तरिक आम्दानीको अवस्था तथा विकास योजनाको आकारअनुसार महानगरहरूको बजेटमा फरक–फरक क्षेत्रलाई प्राथमिकता दिइएको छ । काठमाडौं महानगरले सहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड दिएको छ । भरतपुर महानगरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढाएको छ भने विराटनगर, ललितपुर र वीरगन्ज महानगरले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन् । 

खुम्चियो विराटनगरको बजेट

संघीय सरकारबाट प्राप्त हुने अनुदान घट्दै गएपछि विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको आकार खुम्चिएको छ । विराटनगरले आगामी वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षमा विराटनगरले ४ अर्ब ४० करोड रुपैयाँको बजेट ल्याएको थियो । नगरसभाको १८औं अधिवेशनमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष आन्तरिक आयसमेत घट्ने अनुमान गरिएको छ । 

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

चालु वर्ष १ अर्ब ४० करोड रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएकामा आगामी वर्षका लागि १ अर्ब २७ करोड २० लाख ८ हजार मात्र संकलन हुने प्रक्षेपण गरिएको छ । आगामी वर्ष संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट १४ करोड २६ लाख ७४ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै १ अर्ब ६० करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकासतर्फ २६ करोड ५० लाख, आर्थिक विकासतर्फ ३ करोड २६ लाख तथा सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ९३ लाख रुपैयाँ छुट्याइएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ७६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विराटनगरले पूर्वाधार विकासमा निजी तथा सामुदायिक सहभागिता बढाउन एक करोड रुपैयाँको ‘म्याचिङ फन्ड’ स्थापना गरिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले ‘पेड इन्टर्नसिप’ र ‘स्कुल टु वर्क ट्रान्जिसन’ कार्यक्रम, नयाँ व्यवसाय सुरु गर्न चाहने महिला तथा युवालाई लक्षित गरी ‘जेनरेट योर बिजनेस आइडिया’ र ‘स्टार्ट योर बिजनेस’ कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरेको छ ।

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

लैंगिक हिंसा न्यूनीकरणका लागि ‘मेल लिड नेटवर्क’ गठन गरिने नीति लिइएको छ भने फोहोर व्यवस्थापनमा ‘वेस्ट टु इनर्जी’ र ‘चक्रीय अर्थतन्त्र’ को अवधारणालाई कार्यान्वयनमा ल्याइने भएको छ । महानगरले अघिल्ला वर्षदेखि सञ्चालनमा रहेका केही गौरवका योजनालाई पनि निरन्तरता दिइएको छ । विराटनगरले तीन वटा सामुदायिक विद्यालयलाई ५ देखि १० हजार विद्यार्थी क्षमताको ‘मेगा स्कुल’ का रूपमा विकास गर्ने योजनालाई पनि निरन्तरता दिएको छ ।

सवा १ अर्बले बढ्यो वीरगन्जको बजेट

काठमाडौं महानगरले सहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड दिएको छ ।वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बुधबार ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब २० करोड रुपैयाँ बढी हो । चालु आवमा वीरगन्जले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको थियो । कार्यवाहक महागर प्रमुख इम्तियाज आलमद्वारा प्रस्तुत बजेटले गत वर्षको तुलनामा विकास निर्माण तथा पूर्वाधारतर्फ खर्च बढाउने संकेत गरेको छ । गत वर्ष कुल बजेटको ७०.७ प्रतिशत चालु खर्चमा र २८.१ प्रतिशत मात्र पुँजीगत खर्चमा विनियोजन गरिएको थियो । आगामी वर्ष चालु खर्चको हिस्सा घटाएर ५४.३ प्रतिशतमा झारिएको छ भने पुँजीगत खर्चको हिस्सा बढाएर ४४.६ प्रतिशत पुर्‍याइएको छ । नयाँ बजेटमा चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख र पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख विनियोजन गरिएको छ । घरजग्गा रजिस्ट्रेसन शुल्कबाट हुने आम्दानी २५ करोडबाट बढाएर ४५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

वीरगन्जले कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने जनाएको छ । मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । डेंगु र औलोजस्ता रोग नियन्त्रणका लागि औषधि खरिद, स्प्रे तथा फगिङ मेसिन व्यवस्थापन गरी नगरव्यापी अभियान सञ्चालन गरिने पनि महानगरले जनाएको छ ।

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा प्रोत्साहन सुविधालाई निरन्तरता, मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न बर्थिङ सेन्टरलाई उपकरण, दक्ष जनशक्ति र एम्बुलेन्स सेवासहित सुविधा सम्पन्न बनाइने तथा सुत्केरी आमा, नवजात शिशु, ज्येष्ठ नागरिक र नसर्ने रोगबाट प्रभावित व्यक्तिका लागि सामुदायिक नर्सिङ तथा घरदैलो स्वास्थ्य सेवा विस्तार गरिने भएको छ । विश्लेषक मनोजकुमार उपाध्याय बजेटको आकार बढ्नु सकारात्मक भए पनि खर्च कार्यान्वयन, राजस्व परिचालन र विकास योजनाको गुणस्तरीय कार्यान्वयन नै यसको सफलताको मुख्य आधार हुने बताउँछन् । उनका अनुसार चालु वर्ष र आगामी वर्षका प्राथमिकता करिब उस्तै छन् र नयाँपन सीमित छ । ‘वीरगन्ज महानगरले प्रस्तुत गरेको यो बजेटले आर्थिक गतिविधि विस्तार र पूर्वाधार विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ,’ उनले भने ।

भरतपुरको बजेट २९ करोड बढ्यो

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षको ५ अर्ब २२ करोड छुट्याइएको थियो । आगामी वर्ष २९ करोड ३८ लाख रुपैयाँ बजेट बढेको हो । भरतपुरले अधिकांश पुराना तथा बहुवर्षीय योजनालाई निरन्तरता दिएको छ । रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको छ ।

 त्यस्तै फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण तथा दूध उत्पादन गरेर सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रतिलिटर चार रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । नयाँ कार्यक्रमका रूपमा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने योजनालाई प्राथमिकताका साथ अघि सारिएको छ ।

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

कार्यवाहक महानगर प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । तर आन्तरिक आय संकलनमा महानगरले बर्सेनि चुनौती भोग्दै आएको छ । चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिए पनि जेठसम्म १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको अधिकारीले बताए । उनका अनुसार आर्थिक वर्षको अन्त्यसम्म डेढ अर्ब हाराहारी मात्रै राजस्व उठ्ने अवस्था छ । ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ नारालाई आत्मसात् गरिएको बजेटले प्रविधिमैत्री सेवा र वातावरणीय व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । महानगरले साइकल संस्कृतिलाई संस्थागत गर्न साइकल ऐन निर्माण गर्ने, भरतपुरलाई ‘साइकल सिटी’ का रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ । 

पुराना योजनाकै भरमा पोखरा महानगर

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको आकार उल्लेख्य रूपमा घटाएको छ । चालु आर्थिक वर्ष ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याइएकामा आगामी वर्षका लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याइएको छ । यो करिब १ अर्ब २० करोड रुपैयाँ अर्थात् १४.३५ प्रतिशतले कम हो । पोखराकी उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा प्रस्तुत गरेको बजेटको आकार घटे पनि पुराना योजनाको निरन्तरता, बढ्दो प्रशासनिक खर्च र सीमित स्रोतका कारण विकास निर्माणमा अपेक्षित गति आउन चुनौती देखिएको छ । 

पोखराले बजेटमध्ये ५५.१ प्रतिशत अर्थात् ३ अर्ब ९४ करोड रुपैयाँ चालु खर्चतर्फ र ४४.९ प्रतिशत अर्थात् ३ अर्ब २१ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा राजस्व संकलन लक्ष्यको ६२ प्रतिशत मात्र हासिल भएपछि महानगरले आगामी वर्षका लागि आन्तरिक स्रोतको अनुमान घटाएर २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँमा सीमित गरेको छ । भवन अभिलेखीकरणबाट २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य संघ सरकारले रोकेपछि महानगरको आम्दानी प्रभावित भएको थियो ।

भरतपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढाएको छ भने विराटनगर, ललितपुर र वीरगन्जले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन् ।पोखरा महानगर वित्तीय रूपमा संघीय अनुदानमा अझ बढी निर्भर बन्दै गएको देखिन्छ । कुल बजेटको ४४.५४ प्रतिशत अर्थात् ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ संघीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने अनुमान गरिएको छ । कर्मचारीको तलबभत्ता वृद्धि, कोभिडका बेला कटौती गरिएको स्थानीय भत्ता पुनः लागू गरिनु तथा करार कर्मचारीलाई समेत महँगी भत्ता उपलब्ध गराउने व्यवस्थाले प्रशासनिक खर्च बढाएको छ । त्यसको असर विकास बजेटमा परेको देखिन्छ ।

महानगरले विगतमा घोषणा गरिएका तर पूर्ण कार्यान्वयन हुन नसकेका कतिपय योजनालाई आगामी वर्ष पनि निरन्तरता दिएको छ । महानगरको प्रशासकीय भवन निर्माणका लागि गत वर्ष २५ करोड रुपैयाँ छुट्याइए पनि काम अघि बढ्न नसकेपछि यस वर्ष पुनः २० करोड रुपैयाँ विनियोजन गरिएको छ । डिजिटल मेट्रिक प्रणालीमा आधारित घर नम्बरिङ कार्यक्रम, सभागृह पुनरुत्थान म्याचिङ फन्ड तथा अधुरा सडक योजनालाई पनि पुनः बजेटमा समेटिएको छ । चालु वर्षका ६१ वटा सडक योजनाको निरन्तरताका लागि मात्रै ५५ करोड ५० लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भने बजेट वृद्धि गरिएको छ । तर पर्यटकीय राजधानीका रूपमा परिचित पोखराले पर्यटन प्रवर्द्धन शीर्षकको बजेट भने उल्लेख्य रूपमा घटाएको छ । गत वर्ष ५ करोड ५० लाख रुपैयाँ रहेको बजेट आगामी वर्षका लागि ६० लाख रुपैयाँमा सीमित गरिएको छ । 

काठमाडौं र ललितपुरमा पुरानै कार्यक्रम 

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको आकार थोरै मात्र बढाएर प्रस्ताव गरेका छन् । काठमाडौंले केही नयाँ योजना अघि सारे पनि पुराना योजना कार्यान्वयनका लागि सन्तोषजनक छैन । ललितपुरले भने पुरानै योजना पूरा गराउने उद्देश्यअनुसारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बुधबार आगामी वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट प्रस्ताव गरिन् । महानगरले चालु आव २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार विनियोजन गरेको थियो ।

Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

ललितपुरले आगामी वर्षको बजेट चालुको भन्दा १ करोड ४६ लाख ३३ हजार मात्र वृद्धि गरेको हो । राजस्व वृद्धिमा सुधार गर्न नसक्दा ललितपुरले तीन वर्षयता बजेटको आकार करोडमा मात्र बढाएको देखिन्छ । ललितपुरले चालु खर्च ३ अर्ब २५ करोड १८ लाख प्रस्ताव गरिएको छ । चालु आवका लागि चालु खर्च २ अर्ब ९६ करोड ६४ लाख १८ हजार राखिएको थियो । पुँजीगत खर्च ४ अर्ब २३ करोड ९६ लाख २७ हजार विनियोजन गर्ने प्रस्ताव छ । 

ललितपुरले संघ र प्रदेशबाट प्राप्त हुने अनुदानबाहेक आन्तरिक स्रोतबाट ३ अर्ब ३५ करोड ५० लाख आम्दानी हुने अनुमान गरेको छ । नपुग हुने १ खर्ब ४७ करोड नगद मौज्दातबाट बेहोर्ने प्रस्ताव गरिएको छ । आगामी वर्ष आन्तरिक स्रोत घट्ने प्रक्षेपण गरिएको छ । चालु आवमा ३ खर्ब ७१ करोड ४६ लाख ९१ हजार रुपैयाँ आन्तरिक स्रोत प्राप्त हुने अनुमान गरिएको थियो । चालु वर्षको तुलनामा आगामी वर्ष आन्तरिक स्रोतको शीर्षकमा करिब ३६ करोड कम संकलन हुने अनुमान गरिएको छ । 

ललितपुरले वडास्तरीय विकासलाई प्राथमिकतामा राखेको छ । सडक, ढल, खानेपानी, सामुदायिक भवन तथा सार्वजनिक सेवासँग सम्बन्धित कार्यक्रमका लागि उल्लेख्य बजेट छुट्याइएको छ । स्थानीय आवश्यकताअनुसार योजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ । सहरीकरणको दबाब बढ्दै गएपछि व्यवस्थित सहरी विकास, हरियाली संरक्षण तथा वातावरणमैत्री पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । नगरभित्रका पुराना संरचनाको संरक्षण र नयाँ पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउने नीति छ । महानगरले सेवा प्रवाह सुधारलाई समेत महत्त्व दिएको छ । 

काठमाडौं महानगरपालिकाले २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार प्रस्तुत गरेको प्रस्तावित बजेट चालु आवको भन्दा १२ करोड वृद्धि गरिएको छ । चालु आवका लागि २५ अर्ब ७६ करोड ४३ लाख विनियोजन गरिएको थियो । कार्यवाहक मेयर डंगोलले सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र बाह्य व्ययभार हुने ७५ करोड रुपैयाँ गरी बजेट प्रस्ताव गरेकी हुन् । 

सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र नगद मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान प्रस्तावमा गरिएको छ । त्यस्तै ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ संघीय सरकार तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षमा पूर्वाधार, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्राथमिकता दिने प्रस्तावमा उल्लेख छ ।

नीति तथा बजेटमा प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्त्व बोकेका सम्पदा स्थलहरूको संरक्षण कार्य गर्नेजस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । बक्यौता कर असोजभित्र बुझाउनेलाई जरिवाना मिनाहा र १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ ।

२७ पालिकाले ल्याएनन् बजेट

कोशीका ५, मधेशका ११, बागमतीका २, गण्डकीका १, लुम्बिनीका ४, कर्णालीका १ र सुदूरपश्चिमका ३ पालिकाले १० असारसम्म बजेट सार्वजनिक गर्न सकेनन् ।

आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये दुई उमहानगरसहित १० नगर र १५ गाउँपालिकाले गाउँ/नगरसभामा आगामी वर्षको बजेट पेस गर्न नसकेका हुन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १० असारसम्म ७२६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । मन्त्रालयका अनुसार कोशी प्रदेशका ५, मधेशका ११, बागमतीका २, गण्डकीमा १, लुम्बिनीमा ४, कर्णालीमा १ र सुदूरपश्चिमका ३ वटा स्थानीय तहले असार १० सम्म बजेट सार्वजनिक गर्न सकेनन् । 

पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको टकराव, जनप्रतिनिधिबीच नीति तथा कार्यक्रम र बजेट बाँडफाँटमा बेमेल र बजेट खर्चमा संघीय मन्त्रालयको ‘हस्तक्षेप’का कारण ती पालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताए । उनले भने, ‘जनप्रतिनिधिबीच बजेट बाँडफाँटमै विवाद र वित्तीय हस्तान्तरणको रकम मनलाग्दी खर्च गर्ने पालिकामाथि मन्त्रालयबाट हस्तक्षेप गरेर सहजीकरणमा समय लागेकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् ।’ 

यस्तै गाउँपालिका राष्ट्रिय महासंघका प्रमुख कार्यकारी निर्देशक (सीईओ) राजेन्द्र प्याकुरेलले बजेट बनाउन तयारी नपुगेको, अध्यक्ष र परिवारका सदस्य बिरामी परेको, बजेट निर्माणमा सहमति जुट्न नसकेकोलगायत कारणले तोकिएको समयमा बजेट पेस हुन नसकेको बुधबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 १० असारमा बजेट नल्याउने उपमहानगरपालिकामा धरान र जनकपुरधाम छन् । यस्तै सुखीपुर, जलेश्वर, हरिवन, गरुडा, कटहरिया, फतुवाविजयपुर, मेलम्ची, बागलुङ, टीकापुर र विदेह नगरपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् । आठराई, जहदा, छथरजोरपाटी, पिपरा, कमला, धोबिनी, छिपहरमाई, राक्सिराङ, कोटहीमाई, शुद्धोधन, मायादेवी, कालीमाटी, मुड्केचुला, जयगढ र जोशीपुर गाउँपालिकाले बजेट सार्वजनिक गर्न सकेनन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले १० असारभित्र गाउँ र नगरसभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully