सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल: सीमावर्ती नेपाली व्यवसायी उत्साहित, खुकुलो बनाउन स्थानीयको माग

सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गरेपछि किनमेल गर्न भारतीय बजार जाने नेपालीको संख्या घट्दा सीमावर्ती नेपाली व्यापारी उत्साहित भएका छन् । स्थानीयले भने सास्ती र महँगीको मारमा परेको गुनासो गरिरहेका छन् ।

वैशाख १२, २०८३

शंकर आचार्य, पर्वत पोर्तेल, माधव ढुंगाना, रूपा गहतराज, नवीन पौडेल

Customs duty on goods worth more than Rs 100: Nepali border businessmen excited, locals demand relaxation

What you should know

भैरहवा, पर्सा, परासी, नेपालगञ्ज, विराटनगर — सरकारले सीमावर्ती भारतीय बजारबाट एक सय रुपैयाँ भन्दा बढी मूल्यको सामान खरिद गरेर ल्याउँदा भन्सार बिन्दुमा महशुल लिन थालेको छ ।

सशस्त्र प्रहरीले नाका क्षेत्रमा माइकिङ गरेर सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार महसुल अनिवार्य गरिएको जानकारी गराइरहेको छ । सुरक्षाकर्मी र भन्सार कर्मचारीले नाकामा सामान जाँचमा कडाई गरेका छन् । यसले सीमापारिका बजारमा हुने किनमेलमा कमी आएको छ । नेपालतर्फ कडाईपछि सीमावर्ती भारतीय बजार सुनसान हुन थालेका हुन् । रुपन्देहीको सीमावर्ती भारतको सुनौली बजारमा सातायता भीडभाड छैन । अन्य कामकाजले नेपाल–भारत ओहोरदोहोर गर्नेबाहेक सामान खरिद गर्न सीमापारि जानेको संख्यामा कमी आएको छ ।

विभिन्न जिल्लाबाट किनमेलकालागि सुनौली पुग्ने उपभोक्ताको भीडले जतिबेला पनि गुल्जार रहने सुनौली बजार अहिले सुनसान छ । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा धेरै परिमाणमा बिना भन्सार सामान किनेर ल्याउनेलाई निरुत्साहित गर्न नाकामा कडाईलाई निरन्तरता दिइएको बताए । ‘कडाईले गर्दा किमेलकालागि पहिला जस्तो भारतीय बजार जाने नेपाली उपभोक्ताको संख्या एकदमै घट्दै जान थालेको छ,’ पौडेलले भने, ‘भन्सार नाका हुँदै दिनमा धेरै पटक सामान ओसार्दै हुने गरेको तस्करी रोकिएको छ ।’ 

राजश्व चुहावट नियन्त्रणमा पनि सकारात्मक प्रभाव पर्न थालेको उनले दाबी गरे । सीमावर्ती भारतीय बजारबाट सामान्य परिमाणमा किनमेल गरेको सामान ल्याउनमा भने कुनै समस्या छैन । नाकामा खटिएका भन्सार कर्मचारी तथा सुरक्षाकर्मीले घरखर्चका नाममा व्यवसायिक प्रयोजनका लागि ल्याउने सामानमा मात्र कडाई गर्ने गरेका छन् । 

भारतको सुनौलीस्थित हरिओम जनरल स्टोर्सका कर्मचारीले पहिलाको तुलनामा ७५ प्रतिशत नेपाली ग्राहक घटेको बताए । सीमा नाकामा गर्न थालिएको कडाइले सुनौलीका व्यापारी निरास छन् भने स्वदेशमा बैध कारोबार प्रोत्साहित हुने भन्दै भैरहवाका व्यवसायी उत्साहित छन् । 

भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्राचीन थैवले नाकामा गरिएको कडाईले अवैध कारोबार निरुत्साहित भएको बताए । ‘यस्तो कडाई नेपाल र भारतका लागि फाइदाजनक छ,’ उनले भने, ‘सीमानामा गरिएको कडाईले भन्सारमा खुद्रा आइटमका सामानको कारोबार बढ्न थालेको र भन्सारका गोदाम भरिन थालेका छन् ।’ 

मूल नाकामा कडाई हुने तर दाँयाबाँयाका खुल्ला सीमानाबाट तस्करले मौका छोप्ने गरेको गुनासो बढेको उनले बताए । नाकामा थालिएको कडाईसँगै नेपालका व्यवसायीका पसल र गोदाममा खानतलासी जरुरी रहेको उनले बताए । सीमावर्ती भारतीय बजारबाट तस्करीको माध्यमबाट भित्रिने गरेका बिना भन्सार र बिलबिजकको सामान खरिद गरेर तस्करीलाई पश्रय दिने काम स्वयम् नेपालमा रहेका व्यवसायीबाटै भएकाले उनीहरुमाथि पनि तलासी जरुरी रहेको उनको भनाई छ ।  

नाकामा कडाई गरिएपछि भैरहवालगायत आसपास क्षेत्रका किराना तथा खुद्रा पसलमा दैनिक प्रयोजनका सामानको मूल्य अत्यधिक बृद्धि गरिएको स्थानीय उपभोक्ताको गुनासो छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले नाकामा गरिएको कडाईले स्वदेशी व्यवसायमा सकारात्मक प्रभाव पार्न थालेको बताए । ‘यदि कुनै व्यवसायीले बिना कारण मूल्य बढाउने गर्छ भने बजार नियमित अनुगमन गरि कारवाही हुनुपर्छ,’ उनले भने, ‘हामी सरकारलाई सहयोग गर्न तयार छौं । सीमा नाकाबाट सर्वसाधारण समस्यामा पर्न हुँदैन । बिना भन्सारबाट व्यवसायिक कारोबार गर्न पाइदैन ।’

नेपाली उपभोक्तालाई केन्द्रित गरी सिद्धार्थनगर नगरपालिकाको मेउडिहवा क्षेत्र किनारमै भारततर्फ हप्तामा दुई दिन लाग्दै आएको फरेनी हाटबजारमा पनि सीमा नाकामा गरिएको कडाईले अति न्यून संख्यामा नेपाली उपभोक्ता पुग्ने गरेका छन् । सशस्त्र प्रहरी बल २७ नम्बर गुल्म रुपन्देहीका प्रमुख एसपी नवराज बोहराले नाकामा कडाईलाई निरन्तरता दिइएको र जाँचमा कुनै अवरोध तथा विवाद नभएको बताए । ‘कतिपय अवस्थामा व्यवहारिक पक्षलाई हेर्ने गरिएको छ,’ बोहराले भने, ‘फरेनी बजारमा साँझ परेपछिमात्र स्थानीयबासी किनमेलका लागि जाने गरेका छन् । पहिला जस्तो टाढाटाढाबाट किनमेल गर्न जानेको संख्या अहिले छैन ।’

नाकामा कडाईले मोरङको विराटनगरलगायत क्षेत्रबाट दैनिक उपभोगका सामान किनमेलकालागि भारत जानेको भीड घट्न थालेको छ । भारतका पानीटंकी, नक्सलबारी, सिलिगुडी तथा जोगबनी नाका पहिले जस्तो गुल्जार छैनन् । सीमावर्ती भारतीय बजार पानीटंकीका व्यापारी रघुवीर गुप्ताले भने, ‘नेपालतर्फ नाकामा कडाईका साथ लागू भए हाम्रा बजारहरु सुक्दै जाने निश्चित छ । अहिले नै नेपाली उपभोक्ता आउन छाडेका छन् ।’ पानीटंकीकै अर्का व्यापारी तपन घोषले नेपाली उपभोक्ताको आवागमन कम भएसँगै व्यापारा गिरावट हुन थालेको बताए ।

बजारमा महंगी बढिरहेको अवस्थामा सामान्य किनमेलमै कर लगाउनु अव्यावहारिक भएको भन्दै स्थानीयवासी भने आक्रोशित बनेका छन् । कतिपयले सुरक्षाकर्मीको व्यवहारप्रति पनि गुनासो गर्न थालेका छन् । ‘महंगी यस्तो छ दुई पैसा कममासामान पाइन्थ्यो अब त्यो पनि बन्द भयो’, मेचीनगरकी एक गृहिणीले दुखेसो पोखिन्,‘घरका लागि सौदा लिएर आउँदा पनि सुरक्षाकर्मील धेरै हैरानी दिन थालेका छन् ।’ 

संगठित तस्करी रोक्न माग
भारतबाट विभिन्न प्रयोजनका लागि भित्र्याइने सय रुपैयाँ भन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गरिएपछि सीमावर्ती जिल्लाका नाकामा तनावको स्थिति बन्यो । यस्तो निर्णयको आलोचना भएपछि नाकास्थित भन्सार कार्यालयले घरायसी सामान भित्र्याउन दिइरहेका छन् । तर, भन्सार छल्ने उद्देश्यले भित्र्याइने सामानमा कडाई गरिरहेका छन् । नेपाली उपभोक्तालाई १ सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने कडाईले भारतीय बजारमा किनमेल निरुत्साहित भए पनि निमिट्यान्न भएको छैन ।

दैनिक ठूलो संख्यामा सर्वसाधारण मुलुकको प्रमुख नाका वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलसम्मम गएर किनमेल गइरहेका छन् । उपभोक्ताले नाकामा सरकारले कडाई गरेको बारे जानकारी नरहेको जिकिर गरिरहेका हुन्छन् । बिगतमा जस्तो जति पनि मालबस्तु सहजै ल्याउन पाउनु पर्ने माग गर्ने उपभोक्ता र प्रहरीबीच वादविवाद भइरहेको दृश्य सामान्य छन् । सरोकारवालाले सर्वसाधारणलाई यस्तो कडाई गरिए पनि भारतबाट नेपालतर्फ हुने कपडा र दैनिक उपभोग्य बस्तुको संगठित तस्करी नियन्त्रण नभएकोमा चिन्ता व्यक्त गरेका छन् । 

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल सरकारको कडाई स्वागतयोग्य रहेको र यसले सीमावर्ती नेपाली बजारको अर्थतन्त्र चलायनमान बताउने बताउँछन् । ‘यस्तो कडाईले वीरगन्जको हकमा लत्ताकपडा र दैनिक उपभोग्य बस्तुको व्यापार बढ्छ,’ उनले भने, ‘तर, भारतसँगको १ हजार ७ सय किलोमिटर लामो खुल्ला सीमामा संगठित तस्करी नियन्त्रण नभए यसको अर्थ रहदैन ।’

सर्वसाधारण, ह्विलचियरबाट मालसामान ढुवानी गर्ने र महिलालाई दैनिक मालसामान ल्याउन अवरोध भए पनि खुल्ला सीमाबाट रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर गरिने तस्करी नियन्त्रण नभएसम्म नयाँ नियमको अर्थ नरहने राजपाल बताउँछन् । भारतबाट नेपालतर्फ तस्करी हुने दैनिक उपभोग्य बस्तुको सूची बनाएर त्यस्ता बस्तुको भारतमा लाग्ने जिएसटी बराबरको भन्सार शुल्क र मूल्य अभिवृद्धि कर लिएर बैध रुपमा भित्रिने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । यसरी बैध रुपमा भित्रिने बस्तुबाट आयकर र अन्य शुल्कहरु लिएर पनि राजश्व संकलन गर्न सकिने राजपालको भनाई छ । 

सीमामा कडाई भइरहे वर्षौंदेखि भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट नेपालका सीमावर्ती होटलमा गरिने ‘डेस्टिनेशन विवाह’ को क्रम पनि बन्द भएर त्यसले नेपालको होटल र पर्यटन व्यवसाय पनि प्रभावित हुने राजपालको भनाई छ । सीमामा खटिएका सशस्त्र प्रहरीले भने १ सय रुपैयाँभन्दा बढीको सामान ल्याएको पाइए अनिवार्य भन्सार शुल्क तिर्न लगाउने गरेका छन् । यहाँस्थित सशस्त्र प्रहरी गणका प्रवक्ता डीएसपी मोहन निरौला यो कडाईले नाकामा हुने भीडमा केही कमी आएको दाबी गर्छन् । ‘सीमापारिबाट किनमेल गरेर आउनेको पहिले जस्तो लहर अहिले छैन,’ उनले भने, ‘जानाजान धेरै सामान किनमेल गरेर ल्याउनेलाई भन्सार शुल्क तिराउन लगाइरहेका छौं ।’ 

जिल्ला प्रहरी पर्सा प्रवक्ता डीएसपी हरिबहादुर बस्नेत नेपाल प्रहरी अवैध तस्करी नियन्त्रण गर्न लागिपरेको दाबी गर्छन् । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित पत्रकार दीपक अग्निरथ रक्सौल बजार नेपाली ग्राहकले धानेकाले रक्सौल बजारको रौनक हाल केही घटेको बताउँछन् । विवाहको सिजन भएकाले हाल रक्सौल बजारमा किनमेल गर्नेहरु केही देखिए पनि सिजन सकिए लगत्तै रक्सौलको रौनक घट्न सक्ने उनले बताए । हालको नियमले आम नेपाली उपभोक्तालाई प्रत्यक्ष असर परे पनि भारतबाट नेपाल तर्फ हुने विशेष गरी कपडाको संगठित तस्करी भने नियन्त्रण नहुनु भने उचित नभएको उनी बताउँछन् । ‘सीमामा रहेका भारतीय र नेपाली गाउँका स्थानीयहरु आफै कपडा तस्करीमा प्रत्यक्ष रुपमा संलग्न हुन्छन्,’ उनले भने, ‘यो रोक्न सके मात्र नेपाल सरकारले चाहेको उद्देश्य पूरा हुन्छ ।’ 

वीरगन्ज भन्सार कार्यालयका एक अधिकृतले नयाँ नियमले तत्काल राजश्व संकलनमा वृद्धि नदेखाए पनि यसको दुरगामी असरहरु भने क्रमशः देखिँदै जाने दाबी गरे । ‘यो नियमले नेपाली बजारको स्थानीय व्यापार बढाउँछ, आन्तरिक बजारमा अर्थतन्त्रलाई सुधार गर्छ,’ ती अधिकृतले भने, ‘आम उपभोक्तामा पनि स्वदेशी बस्तुलाई प्रवर्द्धन गर्ने र स्वदेशी बजारमै किनमेल गर्नु पर्छ भन्ने चेतना अभिवृद्धि भएको छ ।’ २०८० सालमै राजपत्रमा प्रकाशित भइसकेको नियमलाई हाल कडाईका साथ कार्यान्वयनमा ल्याइएको उनले बताए । हाल गरिएको कडाईले आम नेपाली उभपोक्ता भारतीय बजारमा ठगिने, असुरक्षित हुने र सीमामा प्रहरीले गर्ने दुर्व्यवहारबाट पनि बचेको अनुभूति गर्ने उनले बताए ।

सहजीकरण गरिदिन माग
नेपाल–भारत नाकाबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयातमा सरकारले कडाई गरेपछि  पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रका बासिन्दाले यसमा सहजीकरण गरिदिन माग गरेका छन् । वर्षौंदेखि घरायसी प्रयोजनका लागि भारतीय बजारबाट सामान खरिद गरेर ल्याउने गरेकोमा एक्कासी कडाई गर्दा महँगीको मारमा परेको सीमावर्ती बासिन्दाको गुनासो छ । सीमा वारपार सांस्कृतिक सम्बन्ध भएकाले दुवैतर्फका नागरिकले एक–अर्को मुलुकबाट सामान ल्याउने–लैजाने गर्छन् ।

अहिले घरायसी प्रयोजनका लागि ल्याउने तरकारी, दाल, घरायसी सामान ल्यााउदा पनि नाकामा सुरक्षाकर्मीले खोसेर राखिदिने वा भन्सार महसुल तिर्न बाध्य पार्ने अवस्था आएको पाल्हिनन्दन गाउँपालिका मुनिमलाल गुप्ताले बताए । ‘घरका लागि सरफ, साबुन, चिनी, चियापत्ती ल्यााउदा समेत नाकामा सशस्त्र प्रहरीले रोकने गरेको छ,’ उनले भने, ‘केही रकम बच्ने आशमा भारतीय बजार गएर सामान ल्याउनु हाम्रो बाध्यता हो ।’

नाकामा घरायसी प्रयोजनको लागि भन्दै एउटै ब्यक्तिले एकै दिनमा दशौं पटक सामान ल्याएर बिक्री गर्दै आएको भन्दै घरायसी सामानमा पनि प्रशासनले कडाई गरेको हो । नाकामा कडाई गरेपछि जनप्रतिनिधिले जिल्लाका सुरक्षाकर्मीलाई वास्ताविक घरको लागि ल्याउने, विवाह व्रतबन्धको लागि आवश्यक सामान ल्याउन सहजीकरण गर्न माग गरेका छन् । तर, तस्करी गर्ने नियतले एकै दिनमा धेरै पटक सामान ओसारपसार गर्ने व्यक्ति पहिचान गरेर भन्सारको नियमानुसार गर्नुपर्ने प्रतिनिधिसभा सदस्य बिक्रम खनालले बताए । ‘नेपाल भारतको सम्बन्ध रोटी र बेटीको सम्बन्ध हो । आफन्तीकोमा पाहुना हुन जाँदा र आउँदा ल्याउने सामान्य उपहार पनि रोक्ने गरेर कडाई गर्नु भएन,’ उनले भने,‘तर, घरायसीको नाममा पटक पटक ओसारेर बिक्री गर्ने र तस्करी गर्नेलाई कारवाही र भन्सार तिर्नुपर्ने गरेर काम गर्नुपर्दछ ।’

जिल्लामा महेषपुर भन्सारबाहेक अन्य नाकाबाट आउने सर्वसाधारणले सामान भन्सार गर्न लामो दूरी पार गर्नुपर्ने अवस्था हुँदा अव्यवहारिक भएको गुनासो छ । सशस्त्र प्रहरी बल नम्बर २६ गण नवलपरासीका एसपी गोबिन्द खातीले केन्द्रको निर्देशन अनुसार काम गर्दै आएको बताए ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नेपाल–भारत सीमामा पर्ने जमुनाह नाकामा चोरी तस्करी नियन्त्रणका लागि कडा जाँच गरिएको बताए । पछिल्ला दिनमा सुरक्षा निकायले निगरानी बढाउँदै गस्ती परिचालन तीव्र पारेको उनले जानकारी दिए । प्रजिअ तामाङका अनुसार सरकारको निर्देशन अनुसार भन्सारसम्बन्धी विद्यमान कानुनलाई कडाईका साथ कार्यान्वयन गरिएको हो । उनले एक सय रुपैयाँभन्दा बढी मूल्यका मालवस्तु ल्याउँदा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था पुरानै भए पनि यसको कार्यान्वयनमा हाल विशेष जोड दिइएको स्पष्ट पारे । ‘भारतीय बजारबाट सामान ल्याउन पूर्ण निषेध गरिएको होइन,’ उनले भने, ‘तोकिएको सीमा भन्दा बढीको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिरेर मात्र ल्याउनुपर्छ ।’

खुला सीमानाको फाइदा उठाएर हुँदै आएका चोरी तस्करीका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय चौबिसै घण्टा खटिएको र शंकास्पद सामग्री जफत गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको उनले बताए । साथै, तस्करीमा संलग्न व्यक्तिको पहिचान भइसकेको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । बजार अनुगमनलाई पनि प्रभावकारी बनाइने उनले बताए । निष्पक्ष बजार व्यवस्था कायम गर्न उद्योगी व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कालोबजारी, कृत्रिम अभाव (कार्टेलिङ)लगायतका गतिविधि भए सम्बन्धित निकायले कडा कारबाही गर्ने चेतावनी दिए । प्रजिअ तामाङले बिलबिजक जारी नगर्ने व्यवसायीमाथि आन्तरिक राजस्व कार्यालयलगायत निकायले नियमन गर्ने स्पष्ट पार्दै सबै सरोकारवाला पक्षलाई नियमको पालना गर्न आग्रह गरेका छन् ।

क्याप्सनः पश्चिम नवलपरासीको महेशपुर नाका । मनपरी सामान ओसार्न नाकामा कडाई गरेपछि अहिले आवातजावत कमी आएको छ । तस्बिरः नवीन पौडेल 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

रूपा

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully