उद्योगहरू बन्द भएका कारण बिजुलीको माग देशभर करिब ७ सय मेगावाट घटेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
काठमाडौं —
मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण उद्योग कलकारखाना बन्द हुँदा बिजुलीको माग घटेको छ । नेपाल विद्युत् प्राधिकरणले अहिले बिजुलीको औसत माग १६ सय मेगावाट रहेको बताएको छ । उद्योगहरू बन्द भएका कारण बिजुलीको माग देशभर करिब ७ सय मेगावाट घटेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
‘उद्योगहरू बन्द हुँदा बिजुलीको माग कम छ । अहिले औसत माग लगभग १६०० मेगावाट छ,’ उनले भने, ‘सामान्य अवस्था भएको भए बिजुलीको माग २२ देखि २३०० मेगावाट हुन्थ्यो ।’
उद्योगहरू बन्द हुँदा बिजुलीको आन्तरिक माग कम भए पनि निर्यात उस्तै रहेको ढकालले बताए । औसत एक हजार मेगावाट बिजुली भारत र बंगलादेश निर्यात भइरहेको उनको भनाइ छ । ‘बिजुली निर्यात सामान्य नै छ । खासै असर परेको छैन,’ उनले भने, ‘हामीसँग बढी भयो भन्दैमा सबै निर्यात गर्ने भन्ने हुँदैन । भारतको मागमा पनि निर्भर हुन्छ । त्यसैले निर्यातमा धेरै असर परेको छैन ।’
प्राधिकरणका अनुसार राष्ट्रिय प्रसारणलाइनमा ३६ सय मेगावाट बिजुली जोडिएको छ । त्यसमध्ये कुलेखानीलगायत जलाशययुक्त जलविद्युत् आयोजना र केही जलविद्युत् आयोजनाको केही युनिट बन्द गर्दा करिब ३ हजार मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।
मुलुकका विभिन्न ठाउँमा जारी निषेधाज्ञा, कर्फ्यूलगायतका कारण उद्योगहरू बन्द र प्रदर्शनकारीले ठूला होटलहरू जलाएका कारणसमेत बिजुली खपत हुने स्रोतहरू घटेका छन् । तर सरकारी र निजीलगायत कार्यालय सीमित मात्रै सञ्चालनमा आउँदा प्रायः मानिस घरमै बस्न बाध्य छन् । त्यसकारण पनि बिजुलीको घरायसी मागसमेत बढ्दै गएको उनको भनाइ छ ।
प्रदर्शनकारीहरूको आगजानीका बाबजुद प्राधिकरणले देशभर विद्युत् आपूर्ति भइरहेको जनाएको छ । कतैकतै आगो लाग्दा फिडरहरू बन्द भए पनि कुन कुन ठाउँमा भन्ने पूर्ण विवरण आइनसकेको ढकालले बताए । यद्यपि ती ठाउँहरूमा वैकल्पिक तरिकाबाट विजुली आपूर्ति सहज गराईएको उनको भनाइ छ ।
‘बिजुली आपूर्ति बन्द भएको ठाउँमा पनि सुरु गरिसकेका छौं,’ उनले भने, ‘केही स्थानीय ठाउँहरूमा नपुगेको हुन सक्छ । त्यसमा काम गरिररहेका छौं । मुख्य मूख्य क्षेत्रमा बिजुली आपूर्ति भइसकेको छ ।’ विद्युत् आपूर्ति अनियमित भए २४सै घण्टा सञ्चालनमा रहने प्राधिकरणको हटलाइन १९५० वा नजिकको नोलाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरण र त्यसअन्तर्गतका कार्यालयमा भने कतै क्षति पुगेको छैन । प्राधिकरणले बुधबार सूचना जारी गर्दै काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको थियो । प्रदर्शनका कारण ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना बन्द गरिएको छ ।
आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीले बुधबार सूचना जारी गर्दै आयोजना बन्द हुने जनाएको छ । जेन जी आन्दोलन, प्रदर्शनकारीको आक्रमणलगायत विविध कारणले हालसम्म कुनै आयोजना बन्द भएको जानकारी नआएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए । ‘जेनजी आन्दोलनदेखि विभिन्न कारणले जलविद्युत् आयोजनाहरू बन्द गरेको वा गर्नुपरेको भएका इप्पानलाई जानकारी दिन भनिरहेका छौं, तर अहिलेसम्म त्यस्तो केही आएको छैन,’ उनले भने ।
