नागढुंगा–मुग्लिन सडक खण्डमा कालोपत्रको काम दसैंपछि मात्र हुने, चाडबाडमा खाल्डाखुल्डी मात्र पुर्ने तयारी भइरहेको जिम्मेवार अधिकारीको भनाइ ।
What you should know
काठमाडौँ — पूर्वदेखि पश्चिमसम्म जाने सवारी साधनले प्रयोग गर्ने सडक हो, नागढुंगा–मुग्लिन । यो सडक खण्ड भएर दैनिक १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडको बेला त झन यस खण्डमा सवारी चाप थामीनसक्नु हुन्छ । दसैं आउन पनि धेरै दिन बाँकी छैन, अबको २३ दिनमा घटस्थापना छ ।
चाडबाड नजिकिँदै गर्दा सडकको अवस्था के छ त ? नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘समस्या छैन,समस्या भएको खण्डमा कालोपत्र गरिसकेका छौं ।’
अहिले बर्खाकाकारण कालोपत्रको काम हुन सकेको छैन । ‘अहिले कालोपत्रको काम भएको छैन,’ उनले भने, ‘चाडबाडलाई मध्यनजर गर्दै भदौ अन्तिमसम्म खाल्डाखुल्डी पुर्ने काम थाल्छौं ।’ उनका अनुसार कालोपत्रको काम दसैंपछि मात्र सुरु हुन्छ । ‘यो पटक दसैं असोज पहिलो साताबाटै सुरु छ,’ उनले भने, ‘मनसुन दोस्रो सातासम्म सक्रिय हुने पूर्वाअनुमान छ, त्यसैले दसैंअघि धेरै काम हुने छैन ।’
त्यसो त नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति गरिराखिएको छ । तीन मध्ये पहिलो खण्ड नागढुंगा–नौबिसे हो । यो सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालो पत्रको काम सकिएको छ । १२.२६ किलोमिटरको पहिलो खण्डमा नागढुंगा–नौबिसे पर्छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५.५ किमि सकिइसकेको छ । तेस्रो तहको कालोपत्रको काम भने दसैंपछि मात्र हुने प्रमुख ओझाले बताए ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । यस खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपांमैत्री अकासे पुल बनाइने छ । त्यो काम यही प्याकेज अन्तर्गत पर्ने र बर्खा लगत्तै यसको काम सुरु हुने उनको भनाई छ । उनकाअनुसार उक्त खण्डमा अहिले सामान्य कंक्रिट ढलानका कामहरु मात्र भइरहेको छ । झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोप स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र थालिने छ ।
पहिलो खण्डको २०७८ चैत २९ मा यस ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो । २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो, काम सकिएन । फेरि २०८२ साउन १० सम्मका लागि समय थप्दा पनि काम नसकिएपछि फागुन मसान्तसम्म म्याद थप गरिएको छ ।
दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । यसको भौतिक प्रगति ४२ प्रतिशत छ । उक्त खण्डमा दुवैतर्फी गरेर १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । यसमा भने दोस्रो तहको कालो पत्रको काम हुन सकेको छैन । बर्खामा कालोपत्र गर्दा टिकाउ नहुने भएकाले नगरिएको प्रमुख ओझाले बताए । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भएपनि सकिएको छैन । काम नसकिएपछि ०८३ भदौसम्म म्याद थपिएको छ ।
तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३४ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । तर समय सकिनै लाग्दा आधापनि काम भएको छैन । उक्त खण्डमा अहिलेसम्म ८.१४ किमि मात्र सडक कालोपत्र गरिएको छ । बर्खाले क्षति गरेको सडक खण्ड मर्मतको काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए ।
‘बर्खाले गर्दा कालोपत्रको काम हुनसकेको छैन, चाडबाडलाई मध्यनजर गर्दै सडकका खाल्डाखुल्डी पुर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘दसैं अघिसम्म सबै खाल्डाखुल्डी पुरीसक्छौं ।’ ग्राभेल राखेर सडक मर्मतको काम भइरहेको उनको भनाई छ । चाडबाडमा यात्रुले यात्रमा सास्ती खेप्नु त पर्दैन नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चाडबाडमा यातायात सहज रुपमा सञ्चालन गराउछौं,मेशिनहरु ठाउँ–ठाउँमा राखिएको छ । बर्खामा राखिएका मेशिनहरु ठेक्का लिने कम्पनीलाई चाडबाड अबधीभर तयारी अबस्थामा राख्न भनेका छौं ।’
गौमति, खत्यौडी र मौवा खोलाको पुलको काम सकिएको र बारबाङ खोलाको मात्र बाँकी रहेको उनले बताए । असारबाट कालोपत्रको काम भएको छैन । ‘बर्खाको बेला टेवा पर्खाल निर्माणको काम गर्यौं,’ उनले भने, ‘त्यस्तै निर्माण व्यवसायीले कालोपत्रकालागि आवश्यक पर्ने गिट्टि,बालुवा प्रशोधन गरेर तयारी अबस्थामा राख्ने काम भएको छ ।’ समग्रमा नागढुंगादेखि मुग्लिङसम्मको दूरी भने ९४.६६ किमि छ ।
