प्रदेश र पालिकालाई वित्तीय हस्तान्तरणमा वृद्धि

समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड तथा पालिकाका लागि ८८ अर्ब ९७ करोड विनियोजन

जेष्ठ १६, २०८२

ऋषिराम पौड्याल

Increase in financial transfers to provinces and municipalities

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेटमा प्रदेश र पालिकालाई हस्तान्तरण गरिने राजस्व तथा अनुदानमा सामान्य वृद्धि गरेका छन् । पालिकालाई प्रदान गर्ने सबैजसो राजस्व र अनुदान वृद्धि गरिएको छ, प्रदेशले प्राप्त गर्ने समपूरक अनुदानको बजेट घटेको छ ।

पालिकाले समानीकरण अनुदान बढाउनुपर्ने दबाब दिँदै आएका थिए । पालिकाका समानीकरण अनुदान सामान्य बढे पनि बजेटको आकारको प्रतिशतलाई आधार मान्ने हो भने धेरै वृद्धि भएको देखिँदैन । प्रदेश र पालिकालाई आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ३१.१ प्रतिशत, २०७९/८० मा ३३.०५ प्रतिशत विनियोजन गरिएको थियो । आगामी वर्षका लागि भने कुल बजेटको २९.६७ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको आकार बढ्दै जाने तर प्रतिशतको अनुपातमा भने वृद्धि नभएको जनप्रतिनिधिको प्रतिक्रिया छ । 

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यअनुसार प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड तथा पालिकाका लागि ८८ अर्ब ९७ करोड विनियोजन गरिएको छ । चालु वर्षमा प्रदेशका लागि ६० अर्ब र पालिकाका लागि ८८ अर्ब छुट्याइएको थियो । 

समानीकरण अनुदान चालु वर्षको तुलनामा आगामी वर्षका लागि केही वृद्धि गरिएको छ । बजेट वक्तव्यअनुसार समानीकरण अनुदानमा ७ प्रदेशलाई चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कुल ६६ करोड वृद्धि गरेको छ । समानीकरण अनुदानतर्फ ७५३ पालिकालाई चालु वर्षको तुलनामा आगामी वर्षका लागि ९७ करोड वृद्धि गरिएको छ । आगामी वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशका लागि ३० अर्ब ३५ करोड तथा पालिकाका लागि २ खर्ब ११ अर्ब ४६ करोड विनियोजन गरिएको छ । 

ससर्त अनुदानमा चालु वर्षमा प्रदेशलाई २५ अर्ब ८४ करोड तथा पालिकाका लागि २ खर्ब ८ अर्ब ८८ करोड विनियोजन गरिएको थियो । आगामी वर्षका लागि भने ससर्त अनुदान प्रदेशलाई चालु वर्षको तुलनामा ४ अर्ब ५१ करोड रुपैयाँ बढाइएको छ । स्थानीय ससर्त अुदानतर्फ चालु वर्षको तुलनामा आगामी वर्ष २ अर्ब ५८ करोड वृद्धि गरिएको छ । 

आगामी वर्षका लागि प्रदेश र पालिकामा ससर्त अनुदानतर्फ २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको छ । चालु वर्षमा भने ससर्त अनुदानतर्फ प्रदेश र पालिकालाई २ खर्ब ३४ अर्ब ७३ करोड छुट्याइएको थियो । आगामी वर्षका लागि समपूरक अनुदानतर्फ प्रदेश र पालिकाको पूर्वाधार योजना कार्यान्वयन गर्न प्रदेशलाई ३ अर्ब २८ करोड तथा पालिकालाई १० अर्ब ६ करोड विनियोजन गरिएको छ । चालु वर्षका लागि प्रदेशलाई ६ अर्ब २० करोड तथा पालिकालाई ७ अर्ब विनियोजन गरिएको थियो । 

आगामी वर्षको विशेष अनुदान प्रदेशका लागि ३ अर्ब २७ करोड तथा पालिकालाई ९ अर्ब ७८ करोड विनियोजन गरिएको छ । चालु वर्षका लागि भने विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड तथा पालिकालाई ८ अर्ब ५० करोड विनियोजन गरिएको थियो । प्रदेशको विशेष अनुदानतर्फ चालु वर्षको तुलनामा आगामी वर्षका लागि १ अर्ब १३ करोड न्यून बजेट छुट्याइएको छ । 

आगामी वर्ष प्रदेश र पालिकालाई राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ । चालु वर्षमा प्रदेश र पालिकालाई राजस्व बाँडफाँटबाट कुल १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान थियो । आगामी आर्थिक वर्षका लागि राजस्व बाँडफाँट र अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण हुनेछ । चालु वर्षका लागि राजस्व र अनुदान शीर्षकमा ५ खर्ब ६७ अर्ब हस्तान्तरण हुने अनुमान थियो ।

ऋषिराम पौड्याल

Link copied successfully