बजेट वक्तव्य राखिएको झोला ठमेलस्थित युनिक लेदर्स एन्ड ह्यान्डिक्राफ्टबाट किनिएको हो ।
काठमाडौँ — अघिल्लो वर्षजस्तै यस पटक पनि बजेट भाषण राख्न नेपालमै बनेका झोला प्रयोग गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य अल्लोको झोलामा बोकेर पुगेर संसद् भवन पुगेका हुन् ।
बजेट वक्तव्य राखिएको झोला ठमेलस्थित युनिक लेदर्स एन्ड ह्यान्डिक्राफ्टबाट किनिएको हो । ह्यान्डिक्राफ्टका सञ्चालक नवराज अधिकारीका अनुसार उक्त झोलाको मूल्य २५ सय रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ‘मेड इन नेपाल’ लाई प्रोत्साहन गर्न भन्दै अल्लोको झोला प्रयोग गरेका थिए । अहिले अर्थमन्त्री पौडेलले पनि त्यसैलाई निरन्तरता दिएका हुन् । यसअघिका अर्थमन्त्रीहरूले ‘ब्रिफकेस’ वा विदेशमा बनेको छालाको झोलामा बजेट–पुस्तिका राखेर रातो रिबनले बेरेका हुन्थे ।
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा स्रोतको चर्को दबाब व्यहोरिरहेको सरकारले राष्ट्रिय योजना आयोगले दिएको १९ खर्ब ६५ करोडको सिलिङभित्रै रहेर आगामी वर्षको बजेट ल्याउँदै छ । चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आम्दानी र खर्चको लक्ष्य नभेटिने निश्चित भएपछि अर्धवार्षिक समीक्षापछि १६ खर्ब ९२ अर्ब कायम गरिएको छ ।
