बजेट उत्ताउलो छैन : रास्वपा उपसभापति वाग्ले

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

The budget is not overcrowded: RSP Deputy Chairman Wagle

काठमाडौँ — रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस भएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै अर्थशास्त्रीसमेत रहेका उपसभापति वाग्लेले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । 

सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत उनको भनाइ छ । उनले अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठूलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको सिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेको भनाइ छ । 

बजेटबारे यस्तो छ वाग्लेको टिप्पणी

सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेस गरेको छ त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ । पछिल्लो समय राष्ट्रिय योजना आयोगले हाम्रो अर्थतन्त्रको आकार ६१ खर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ । त्यसलाई ५ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको मुद्रास्फिती जोडेर साढे ११ प्रतिशतको वद्धि गर्ने हो भने यो बजेटको समापन हुँदासम्म ६७ खर्बको नेपाल सरकारको अर्थतन्त्र हुन्छ । त्यसैले अर्थमन्त्रीज्युले जुन पेस गर्नुभएको बजेटलाई हामीले धेरै गैरजिम्मेवार मानेका छैनौँ । यद्यपि भूकम्पपछि उकालो उकालो लागेर ठूलो आकारमा बजेट फुक्ने अनि मागमा गएर सुकाउने पुरानो रोगको सिकार हुन्छ कि भन्ने चिन्ताचाहिँ हामीलाई छ ।

कान्तिपुर संवाददाता

Link copied successfully