बलियो सरकारको कमजोर बजेट : पूर्वअर्थमन्त्री पुन

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Weak budget of strong government: former finance minister

काठमाडौँ — पूर्वअर्थमन्त्री वर्षमान पुनले संसद्को बलियो सरकारको कमजोर बजेट आएको प्रतिक्रिया दिएका छन् । संघीय संसद्मा बजेट प्रस्तुत भएपछि पुनले आशा गरेजस्तो बजेट नआएको र छरिएको प्रतिक्रिया दिए । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बजेटबारे प्रतिक्रिया दिँदै पुनले बजेटमा के कुरामा केन्द्रित गर्न खोजेको भन्ने यकीन नभएको बताए ।

'बलियो भनिएको सरकारले ल्याएको बजेट कमजोर देखियो । आकार ठूलो भयो । गत वर्षभन्दा एक खर्ब एक अर्ब ठूलो आएको छ । संशोधित अनुमानभन्दा २० प्रतिशत बढी आयो । के गर्न खोजेको भन्ने कुरा आएन,' पुनले भने, 'गत वर्ष बजेटमा अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौं, अहिले के भन्ने छैन । स्टार्टअप र आइसिटी क्षेत्रमा पनि बजेट छरिएर रहेको छ, गत वर्ष फोकस गरिएको थियो ।'

कांग्रेस र एमाले गठबन्धनको सरकारका अर्थमन्त्रीले ल्याएको बजेट नियमितजस्तो देखिएको पुनको भनाइ थियो । 'आशा जगाउने र अर्थतन्त्रलाई चलायमान गराउने भन्दा पनि नियमित बजेट आएको छ,' उनले भने । 

बजेटमार्फत विभिन्न क्षेत्रमा करछुट लगायतका नीति लिइएको छ । ती करछुट असल नियतले हुन् कि स्वार्थमा आएका हुन् भन्ने हेर्नुपर्ने पुनको प्रतिक्रिया थियो । 'विभिन्न क्षेत्रमा छुट दिइएको छ त्यो स्वार्थमा आएको हो कि असल नियतले भन्ने हेर्नुपर्ने हुन्छ,' उनले भने, 'आशा जगाउने बलियो सरकारको बलियो बजेट आउनुपर्ने त्यो आएन ।'

विद्युतीय गाडीमा यसअघिकै करको दरलाई निरन्तरता दिइएको र त्यसले नेपालको वातावरणीय नीतिलाई बल पुग्ने पुनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully