खेल पूर्वाधार, खेलाडी प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकता
काठमाडौँ — संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि झन्डै दोब्बर वृद्धि गरिएको छ ।
मन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन् । गत वर्ष ३ अर्ब ५० करोड बजेट छुट्याइएको थियो । त्यसमा कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका ६० करोड विनियोजन भए पनि पटक-पटक मिति सर्दै प्रतियोगिता स्थगित हुँदा बजेट फ्रिज भएको थियो ।
यस आर्थिक वर्षका लागि पनि सुर्खेतको वीरेन्द्रनगरमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बजेट भाषणमा सुनाए ।
मन्त्री पौडेलले खेल पूर्वाधार, खेलाडी प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । त्यसका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको बताए । उनले खेलाडीको व्यावसायिक विकासका लागि लगानी बढाउँदै लैजाने नीति लिइएको र खेलाडीको म जित्न सक्छु भन्ने भावना विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता गरिने भनाइ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन र खेलकुद प्रतियोगिताको प्रवर्द्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाएका छन् । त्यस्ता खेल पूर्वाधारका लागि सडक, खानेपानी र बिजुलीको पहुँच सरकारले सुनिश्चित गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।
उनले बजेट वक्तव्यमा झापाको दमकमा सबै प्रकारको खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय आधुनिक रंगशाला निर्माण गरिने घोषणा गरेका छन् ।
त्यस्तै खेल विधाको विविधिकरण र खेल पर्यटनको प्रवर्द्धनका लागि खेल सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने जनाएका छन् ।
काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, रूपन्देहीको सिद्धार्थ क्रिकेट रंशगालामा निर्माण गर्न ५४ करोड विनियोजन गरिएको छ ।
साथै कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला स्तरोन्नति गर्न थप ४० करोड विनियोजन गरिनेछ । चालु आर्थिक वर्षमा फ्लड लाइट र प्यारापिटको निर्माण कार्य भइरहेको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न सःसर्त अनुदानको व्यवस्था गरिने जनाइएको छ ।
राष्ट्रिय एन्टी डोपिङ एजेन्टी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री पौडेलले सुनाए ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गर्नुका साथै त्यस्ता खेलाडीका सन्ततिलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने घोषणा गरिएको छ । खेलाडी र प्रशिक्षकलाई प्रदान गरिदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ ।
खेल क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्न महिलालक्षित प्रशिक्षण र अभ्यास कार्यक्रम सञ्चालन गरिने सरकारको घोषणा छ । उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कार विशेष व्यवस्था गरिनेछ ।
प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरिएको पौडेलले बजेट भाषणमा भने ।
त्यस्तै बालबालिका तथा युवायुवतीलाई स्काउटको माध्यमबाट कर्तव्यपराण, अनुशासित, स्वावलम्बी, चरित्रवान बनाई सामाजिक सेवा र उद्दार कार्यमा परिचालन गरिने सरकारको लक्ष्य छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आव बजेटको आकार बढेकाले नेपाली खेलकुदले उत्साहजनक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘बजेट ठूलो नै आएको छ । यसलाई नेपाली खेलकुदले उत्साहजनक रुपमा लिनुपर्छ । तहगत सरकारले पेस गरेको कार्यक्रमलाई पनि समेटेर बजेट आएको छ । स्थानीय, प्रदेश तहबाट पनि कार्यान्वयन गर्ने खालको बजेट छ । सबै तहबाट उत्तिकै जिम्मेवारपूर्ण ढंगले कार्यान्वयन गर्न सक्यो भने सोचे नतिजा हासिल गर्न सकिन्छ ।’
