सडक, रेल र जल यातायातलाई प्रमुख मार्गका रूपमा विस्तार गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Road, rail and water transport will be expanded as major routes

काठमाडौँ — सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख मार्गको रूपमा विस्तार गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रम शुक्रबार  प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेलमार्गको विस्तार र विकासलाई निरन्तरता दिइने बताए।

‘अन्तरदेशीय सडक सञ्जालसँग आबद्ध हुने गरी प्रमुख राजमार्गहरूको निर्माण, सुधार तथा स्तरोन्नति गरिने छ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘राष्ट्रिय यातायात नीति, सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सार्वजनिक सडक ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिने छ।’

उच्च तथा दिगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्नुपर्ने र यात्रु लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवार बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

कान्तिपुर

Link copied successfully