कुलमान भन्छन् : मैले के-के काम गरिनँ र हटाउन खोजेको ?

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Kulman says: What did I not do and tried to remove?

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन खोज्नुका कारण ऊर्जा मन्त्रालयलाई नै सोधेका छन् । घिसिङले आइतबार मन्त्रालयमा सफाई पेस गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै उल्टै प्रश्न गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने गरी स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । ४ वटा बुँदामा सफाइ पेस गर्न घिसिङलाई पठाएको पत्रमा सम्झौता किन रद्द नगर्ने र कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै प्रश्न गरिएको छ । 

'नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार आफूले के-के कार्य गर्नु पर्ने थियो ? र म बाट कुन कार्य भएन बा मैले के कार्य नगर्नु पर्थ्यो ?,' घिसिङले सरकारले पठाएको पत्रमा उल्लेख छ, 'मबाट गरियो भनी कुनै पनि कार्य वा अकार्य  उल्लेख छैन। तसर्थ प्रस्तुत आरोप आफैंमा मनोगत छ।'

घिसिङले आफूले नेतृत्व लिए पछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको बताएका छन् ।

विद्युत् उत्पादन, प्रसारण र वितरण क्षमतामा चार गुणाभन्दा बढीले वृद्धि गर्न सफल भएको, विभिन्न वर्गका नागरिक समेतलाई सहुलियत महसुल दरमा विद्युत् सेवा प्रदान गर्न नेतृत्व गरेबापत प्रोत्साहित हुनु पर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयासबाट आफू मर्माहत भएको समेत उनले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully