कुलमान किन निसानामा ?

फाल्गुन १४, २०८१

पाठक पत्र

Why is Kulman targeted?

देशको ऊर्जा क्षेत्रमा कुलमान घिसिङले पुर्‍याएको योगदान अतुलनीय छ । उनको कुशल व्यवस्थापन, दूरदृष्टि र निष्ठाले गर्दा नेपाल विद्युत् प्राधिकरण आज नाफामा पुगेको हो ।

कहिल्यै अन्त्य नहुनेझैं लाग्ने लोडसेडिङलाई हटाएर घिसिङले नै सम्पूर्ण नेपाली जनतालाई उज्यालो दिएका हुन् । यो केवल प्रविधि वा व्यवस्थापन सुधारको मात्र कुरा थिएन, यो देशको विकास यात्रामा एउटा ऐतिहासिक मोड पनि थियो । अन्धकारबाट उज्यालोको यात्रामा उनको भूमिका युगान्तकारी रह्यो ।

नेपालजस्तो ऊर्जास्रोतले सम्पन्न देशमा वर्षौंदेखि व्याप्त लोडसेडिङ आमजनताका लागि पीडादायी थियो । उद्योग, व्यापार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र अन्धकारमै डुबेका थिए । जनता निराश थिए, अर्थतन्त्रमा गिरावट आउँदै थियो । तर घिसिङको इमानदार प्रयास र निर्भीक निर्णयले समग्र ऊर्जा क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्यायो । आज नेपाली जनता आफ्नै देशको विद्युत् प्रयोग गर्न पाउँदा गर्व गर्छन् ।

यस्तो असल र समर्पित नेतृत्वलाई हटाउने सरकारको निर्णय केवल अनुचित मात्र होइन, घातक पनि साबित हुन सक्छ । यो केवल एउटा व्यक्तिको मुद्दा होइन, यो मुलुकको ऊर्जा सुरक्षाको विषय पनि हो । यसलाई दलगत राजनीति वा व्यक्तिगत इगोका आधारमा होइन, देश र जनताको हितमा हेर्न जरुरी छ । जनताको हितमा काम गर्ने नेतृत्वलाई संरक्षण गर्नु सरकारको कर्तव्य हो । यदि सरकार सचेत भएन भने यो निर्णय सत्ताधारी दलका लागि चुनावमा महँगो पर्ने निश्चित छ ।

ऊर्जामन्त्रीको अक्षमता र विवादास्पद निर्णयलाई बेवास्ता गर्दै उल्टै इमानदार व्यक्तिलाई हटाउनु भनेको सरकारको नैतिक अधोगति पनि हो ।

- सन्तोष सिम्खडा, हाल: जापान टोकियो

पाठक

Link copied successfully