दोलखा — पहिलो पटक सगरमाथा क्षेत्र घुम्न आएका क्रोएसियाका टारियो सडक मार्गबाट मन्थली पुगे लुक्ला उड्नका लागि । नजिकबाट सगरमाथा हेर्ने र पदमार्गमा रमाउने उनको चाहाना थियो । तर मौसमका कारण मन्थली-लुक्ला उडान हुन नसक्दा उनी निराश छन् ।
मंगलबार बिहान उनको लुक्ला उड्ने तालिका थियो । तर सोमबारदेखि खुम्बु क्षेत्रको खराब मौसमका कारण उडान हुन नसकेपछि उनी दुई दिनदेखि मौसम खुल्ने आशामा मन्थलीमै अड्किएका छन् ।
बुधबार खुम्बु क्षेत्रको मौसम खुल्यो । मन्थलीमा लुक्ला जान तयार भएका पर्यटकहरुले खुसी मनाए । बिहान ९ बजेबाट लुक्लाका लागि विमान उड्न सुरू गरे । तर अचानक पुनः खुम्बुको मौसम खराब भयो । मन्थली विमानस्थलबाट उडान प्रभावित बन्यो ।
‘मौसम खुलेर विमान उड्न लागेपछि निकै खुसी लागेको थियो,’ उनले भने, ‘सगरमाथा हेर्ने रहर पूरा हुने भयो भनेर निकै उत्साहित पनि भएँ, तर मौसम खराब भएर विमान उड्न बन्द भएपछि खिन्न भएँ ।’
तीन दिनदेखि प्रतिकुल मौसमका कारण मन्थली लुक्ला उडान प्रभावित बनेको छ । लुक्ला जाने पर्यटक मन्थलीमा अलपत्र परेका छन् । दसैं मनाउन भन्दा पनि सिजनमा पर्यटकलाई पथ प्रदर्शक गर्नेहरु थप चिन्तामा छन् । लामो सयमदेखि पर्यटकको पथप्रदर्शककोरुपमा काम गर्दै आएका सोलुखुम्बुका नवराज घिसिंङले मुख्य सिजनमा निकै सास्ती खेप्नु परेको बताए ।
‘बाढीका कारण सडक नभएपछि लामोबाटो तय गरेर लुक्ला उडानका लागि आएको थियौं,' उनले भने, ‘यो वर्ष मौसमले पनि साथ दिएन, ३/४ दिन बसिसक्यौँ । लुक्ला उडानको टुङ्गो छैन।’
मन्थलीबाट डाइभर्ट गर्ने ठाउँ पनि नभएकाले पर्यटकलाई खुम्बु क्षेत्र लैजान नसकिएको उनले बताए । ‘सडकमार्ग प्रयोग गरेर फाप्लुबाट जान पनि निकै टाढा छ,’ उनले भने, ‘विदेशी पर्यटकले निश्चित समय लिएर आएका हुन्छन्, अब एक दुई दिन उडान नभए फर्किने भनेका छन् ।’
विदेशी पर्यटकले नेपाल बसाइ छोट्याउने तयारी गरिरहेको खोटाङका पथप्रदर्शक निमा तामाङले बताए । ‘खासगरी यो सिजनमा सगरमाथा आधार शिविर जानेहरुको चहलपहल हुन्छ, यो वर्ष खराब मौसमका कारण विमान उड्न नसक्दा पर्यटकले सास्ती पाएका छन्,’ उनले भने, ‘मैले लिएर आएको विदेशी पर्यटकको ग्रुप १/२ दिन उडान हुन नसके फर्कने सोचमा छन् ।’
मन्थली विमानस्थलबाट सोमबार र मंगलबार लुक्ला उडान भएको छैन । बुधबार बिहान मौसम खुलेपछि ९ बजेबाट निजी विमानले लुक्ला उडान भरेको मन्थली विमानस्थलका उपप्रवन्धक हिरण्य साहले बताए ।
मौसम खुलेको एक-डेढ घण्टामा लुक्लाका लागि १६ वटा उडान भएको उनले बताए । तर पुनः खुम्बुको मौसम बिग्रिएपछि उडान हुन सकेन । ‘बिहान मौसम खुलेसँगै करिब २ सय ४० जना पर्यटक लुक्ला गएका छन्,’ उनले भने, ‘लुक्लाबाट पनि त्यही हाराहारीमा फर्केका छन्, विमानस्थलमा अझै १२ सय बढी पर्यटक लुक्ला जान बसेका छन् ।’
मन्थलीबाट लुक्ला जाने पर्यटक मौसम खुल्ने आशामा बसेको उनले बताए । मौसम खुलेको समयमा विहानदेखि साँझसम्म दैनिक ३ वटा निजी क्षेत्रका विमानले ५५ भन्दा बढी उडान भर्दै आएका छन् । ‘खुम्बु क्षेत्रको मौसम खराब भएका कारण लुक्ला उडान प्रभावित बनेको छ,’ उनले भने, ‘केही पर्यटकले भने हेलिकप्टर चार्टर गरेर मन्थलीबाट लुक्ला उडिरहेका छन् ।’
असोज २० गतेबाट हिमाली क्षेत्रको मौसममा बदली भइरहेको छ । शरद ऋतुमा खुल्ने हिमालहरु धुम्म भएर देखिन छाडेका छन् । मंगलबार अपरान्ह सामान्य वर्षा भएपनि मौसम भने खुल्न सकेको छैन । मन्थलीबाट लुक्ला उडान प्रभावित बनेपछि कतिपय पर्यटक जिरी हुँदै सगरमाथा पैदल जान थालेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले सगरमाथा घुम्न जाने पर्यटकलाई लक्षित गरेर मन्थलीबाट–लुक्ला उडान संचालन गर्दै आएको छ । मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सिता एयरका विमानले सगरमाथा जाने पर्यटकका लागि उडान भर्दै आएका छन् ।
सगरमाथा क्षेत्र घुम्नका लागि उपयुक्त वसन्त ऋतुको चैत्रदेखि जेठसम्म र शरद ऋतुको असोजदेखि मंसिरसम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ । लुक्ला उडान खुम्बु क्षेत्रको खराब मौसमका असोज २३ गतेबाट ३ दिन प्रभावित बनेको थियो । यस्तै, असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाका कारण मन्थलीबाट लुक्ला उडान हुन सकेको थिएन ।
