खुल्यो लुक्लाको मौसम, एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

आश्विन २६, २०८१

भानुभक्त निरौला

The season of Lukla opened, 6500 tourists entered in 32 flights in one day

सोलुखुम्बु — ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दसैंको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै विमानहरूले उडान भर्न सुरु गरेका थिए ।

आज तारा एयरको १० वटा, समिट एयरको १३ वटा र सीता एयरको ९ वटा उडान भएको लुक्ला विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए । त्यस्तै अपराह्न साढे ४ सम्म जम्मा ६१ वटा हेलिकप्टरले विदेशी पर्यटक लुक्ला ल्याएको प्रमुख पन्थीले बताए । आज मध्याह्न साढे १२ बजेदेखि भने मौसम प्रतिकूल भएर हेलिकोप्टरबाहेकका अन्य जहाजहरुले भने उडान गर्न सकेनन् । दिउँसोदेखि नै मौसम बिग्रिएकाले उडान अनुमति दिन नसकिएको विमानस्थलले जनाएको छ । 

आज विमान र हेलिकप्टरहरूबाट साढे ६ सय विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । हिमाल हेर्न र पदयात्राका लागि उपयुक्त मौसम मानिने शरद ऋतुको मध्य समयमा औसत दैनिक १ सय ५० वटा उडान हुने गर्दथे । मौसम प्रतिकूल भएकै कारण ३ दिनदेखि उडान प्रभावित भएका थिए ।

लुक्लामा रामेछापको मन्थलीबाट ९० प्रतिशत र बाँकी १० प्रतिशत त्रिभुवन विमानस्थल काठमाडौंबाट सिधै उडान हुने गरेको छ । शनिबार भने १ सय १० जना नेपाली पनि विमानमार्फत खुम्बु क्षेत्रको भ्रमण गर्न लुक्ला पुगेका छन् । मनसुन बाहिरिएसँगै आइतबारदेखि मौसम खुल्ने आशा खुम्बुका पर्यटन व्यवसायीमा छ ।

पर्यटकले होटेलहरू खचाखच भरिने सिजनमा मौसमकै कारण जाहाज आउन नसक्दा व्यवसायी निराश थिए । आज ३२ वटाभन्दा बढी जहाज आएपछि आफूहरूमा आशा पलाएको नाम्चेका पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले बताए । 

मौसम

भानुभक्त

Link copied successfully