सोलुखुम्बु — शरद ऋतुको मध्य सिजनमा मौसम बिग्रिएपछि खुम्बु क्षेत्रमा पर्यटक भित्रिन सकेका छैनन् । पर्यटक खुम्बु आउने एक मात्र विकल्प हवाईमार्ग भएको र मौसमी विमानस्थल भएका कारण पर्यटकहरु सगरमाथा क्षेत्र आउन नसकेका हुन् ।
बिहीबार पनि कुनै हवाई जहाज अवतरण नगरेको लुक्ला विमास्थलमा शुक्रबार पनि बिहानै देखि मौसम प्रतिकूल हुँदा एउटा पनि उडान हुन सकेको छैन ।
दैनिक ४० भन्दामाथि उडान रद्द हुँदा दिनको ९ सयभन्दा बढी पर्यटक खुम्बु आउन बन्चित भएका छन् । बिहानैबाट विमानस्थल प्रवेश मार्ग बादलले ड्याम्मै ढाकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले जानकारी दिए ।
उनका अनुसार हिजोपनि विभिन्न विमान कम्पनीहरुले मौसम खराबीकै कारण ४५ भन्दा बढी उडान रद्द गर्न बाध्य भएका थिए । यो साताको सुरुमा एकै दिन ५३ वटा सम्म उडान हुँदा दैनिक १ हजारसम्म पर्यटक भित्रिएपछि यसक्षेत्रमा उत्साह छाएको थियो । अहिले रामेछापको मन्थलीबाट तीन वटा विमान कम्पनीहरुले ३० वटाभन्दा बढी उडान गर्छन भने काठमाडौंको विमानस्थलबाट औसत दैनिक १० वटा उडान हुनेगरेको छ ।
‘मौसमका कारण विमान अवतरण गराउन सक्नेछैन, आज पनि १०–१२ वटा हेलिकप्टरबाहेक अन्य विमानहरुले उडान भर्ने अवस्था छैन’ विमानस्थल प्रमुख उमेश पन्थीले कान्तिपुरसँग भने । बुधबार पनि मौसम खराबीका कारण १० वटा मात्रै उडान भएको थियो ।
अहिले तारा, समिट र सिता एयरले रामेछाप र काठमाण्डौबाट लुक्लाका लागि उडान गर्दै आएकाछन् । ‘मौसम अनुकुल हुँदा पनि नागरिक उड्यानले अनुमति नदिएर जहाज आउन सकेका छैनन्’ लुक्लाका व्यवसायी विजय तामाङले भने । अहिले १२ वटा हेलिप्टरले दैनिक २ सयको संख्यामा मात्रै पर्यटकहरु ल्याईरहेका छन् ।
यता नाम्चेबजार पनि पर्यटक आगमनको पर्खाईमा छ । ‘खुम्बु आउने पर्यटकको संख्या न्युन भईरहेको छ’ सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘दिनको १ हजार पर्यटक भित्रिनु पर्ने समयमा बिहीबार त २ सय २४ जना पर्यटक मात्रै आए ।’ भरिभराउ हुनुपर्ने नाम्चेका होटलहरु पनि प्राय सुनसान रहेको नाम्चेका व्यवसायी छिमिकाल्देन शेर्पाले बताए । उनका अनुसार हेलिकप्टरबाट आएका हाराहारी ३ सय पर्यटक मात्रै नाम्चेमा छन् ।
बाढी पहिरोका कारण सडक र पुलहरु बिग्रिएका कारण पर्यटकहरु स्थलमार्ग प्रयोग गरेर खुम्बु जान सक्ने अवस्था छैन ।
