निसासिँदो बाटो

कतै सडक ठप्प त कतै ट्राफिक जामले हैरानी– यो दसैंमा  घर जानेहरूको यात्रा विगतका वर्षको भन्दा कष्टकर

आश्विन १८, २०८१

विमल खतिवडा

suffocating way

काठमाडौँ — दसैंका लागि घर जाने कि नजाने भनेर सोचिरहनुभएको होला । सडक कस्तो छ ? घर पुग्न सकिन्छ कि सकिँदैन भनेर मनमा कुरा खेलिरहेको पनि होला । बिहीबार घटस्थापनासँगै घरघरमा दसैं भित्रिएको छ । तर उपत्यका छाडेर घर जानेहरूका लागि सडक अवस्था भने अस्तव्यस्त छ । 

कतै सडक ठप्प छ त कतै ट्राफिक जामले हैरानी । यो दसैंमा घर जानेहरूका लागि सडक यात्रा विगतका वर्षहरूको भन्दा केही कष्टकर हुने देखिन्छ । बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डका विभिन्न स्थानमा गरेर करिब १२ किमि सडक बाढीले बगाएको छ । बाढीले ठूलो क्षति पुर्‍याएको र दसैं आइसकेकाले यो सडक सञ्चालनमा ल्याउन समस्या भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् ।

‘डाइभर्सन बनाएर सडक खुलाउने प्रयास जारी छ,’ उनी भन्छन्, ‘दसैं आइसकेकाले सडक सञ्चालनमै ल्याउन भने समस्या देखिन्छ ।’ मध्यपहाडी राजमार्गअन्तर्गत दोलालघाट–राकाथुम सडक प्रयोग गर्न सकिने शर्माको सुझाव छ । सडक सफा गरी बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराउने तयारी गरेको उनको भनाइ छ । अहिले यो खण्डमा पहिरो पन्छाउने काम जारी छ । चाडबाडका बेला बीपी राजमार्ग भएर १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । तर, यति बेला यो राजमार्ग बाढी र पहिरोका कारण अस्तव्यस्त छ । 

उक्त राजमार्ग भएर गुड्ने सवारीसाधन नागढुंगा–मुग्लिन, चन्द्रागिरि–हेटौंडा सडकतर्फ डाइभर्ट भएका छन् । ठूला सवारीसाधन भने नागढुंगा–मुग्लिन सडक भएर पूर्व जाने गरेका छन् । अहिले नागढुंगादेखि मुग्लिनसम्मको सडक खण्डलाई दुईतर्फी बनाइए पनि घण्टौं ट्राफिक जामपछि मात्र यात्रु गन्तव्यमा पुग्ने गरेका छन् । 

केही ठाउँमा सडक भासिएकाले एकतर्फी बनाइएको छ । जसले गर्दा जाम सहनुको विकल्प छैन । दसैंअघि सवारीसाधन राम्ररी चल्न सक्ने अवस्थामा सडक नपुग्ने नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘अहिले सडकमा झरेको पहिरो पन्छाएर दुईतर्फी बनाइएको छ, उनले भने, ‘पानी नपरे पहिरो पन्छाउँदै लैजान्छौं ।’ यो सडकमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोले गर्दा यात्रुले झन् बढी सास्ती खेप्नुपरेको छ । 

गत बिहीबारयता मात्र नागढुंगादेखि मलेखु खण्डको ५५ किमिमा साना–ठूला गरेर ५ सय स्थानमा पहिरो खसेर समस्या भएको छ । जता हेर्‍यो उतै पहिरो झरेको छ । उतै पहाड चिराचिरा परेको छ । सडकका विभिन्न खण्डमा पहिरो पन्छाउन ३० भन्दा बढी मेसिन राखिएको छ । नागढुंगा–मलेखु सडकअन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख र खत्रीपौवा आसपासको क्षेत्र हो । 

अहिले काठमाडौं भित्रिने र बाहिरिने यात्रुको चाप यही खण्डमा धेरै छ । यो सडक भएर दिनको २० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । बीपी राजमार्ग, कान्ति राजमार्ग पहिरोले बन्द भएपछि यो सडक खण्डमा सवारी चाप बढेको प्रमुख ओझा सुनाउँछन् । मलेखु–मुग्लिन सडक खण्डको कृष्णभीरमा पनि ५० मिटर सडक भासिएको छ । 

suffocating wayपहिरो बढी खस्ने ठाउँमा रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीर रहेको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले जनाए । अहिले बढी समस्या रहेका राजमार्गमा बीपी, कान्ति, मध्यपहाडी, अरनिको र मेची राजमार्गका विभिन्न खण्डमा पहिरो खसेको छ । 

वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको भौतिक मन्त्रालयको तथ्यांक छ । अहिले भने ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध छ । क्षतिको विवरण संकलनको काम जारी रहेको र प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र करिब साढे तीन अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । चाडबाडमा काठमाडौंबाट छुट्ने यात्रुवाहक बसलाई सडकको अवस्था हेरी सुरक्षित र परिस्थिति हेरी उज्यालो समयमै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

अग्रिम बुकिङमा छैन आकर्षण 

असोज १२ बाट अग्रिम टिकट बुकिङ खुला गरिए पनि यसमा यात्रुको आकर्षण कम छ । विगतका वर्षमा दसैंमा करिब २० लाख यात्रु उपत्यकाबाट बाहिरिन्थे । यो पटक त्यति संख्या नपुग्ने यातायात व्यवसायी सुनाउँछन् । जताततै सडकमा समस्या भएकाले कुन बेला कहाँको जाममा र पानी परे पहिरोमा परिने डर यात्रुमा कायमै छ । जसले गर्दा यस पटक उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने नदेखिएको यातायात व्यवसायी बताउँछन् । 

अर्को समस्याग्रस्त सडक खण्ड हो, नारायणगढ—बुटवल । यो सडक विस्तार थालेको ६ वर्ष भयो । अझै काम सकिएको छैन । यो सडककै कारण यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे छ । अहिले दाउन्ने खण्डमा सडक भासिने र पहाडबाट पहिरोसहित हिलो माटो बग्ने हुँदा सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम छ । पश्चिमबाट सवारीसाधन स्याङ्जा, पोखरा हुँदै काठमाडौं आउनुपर्ने बाध्यता पनि छ । 

‘चलिरहेका सडकलाई सहज बनाउँछौं, त्योअनुसार काम पनि भइरहेको छ,’ सचिव शर्माले भने, ‘बाढीले बगाएका सडकलाई दसैंपछि सहज बनाउँछौं ।’ यात्रुहरूको सहज आवागमन तथा उद्धार र राहतलाई प्रभावकारी बनाउन असोज १४ देखि कोजाग्रत पूर्णिमासम्म नेपालभर चलाउन मिल्ने गरी यात्रुवाहक सवारीसाधनलाई रुट परमिट खुला गरिएको छ । सवारीसाधनमा अत्यावश्यक प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पानी र खानेकुरा बोकेर मात्र गन्तव्यतर्फ लाग्न चालक र यात्रुलाई विभागले अनुरोध गरेको छ । यात्रुहरूको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षको स्थापना र सञ्चालन गरिएको छ । 

दसैं, तिहार र छठ पर्वमा उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुलाई सहजीकरण गर्न नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र काभ्रेको साँगामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यो पटक बाढीपहिरोका कारण विगतका वर्ष जस्तो घर जाने यात्रुको चाप कम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully