पोखरा र भैरहवामा हिमालयले १ सय ८० सिटको न्यरोबडी उडाउने 

आश्विन २१, २०८१

सुरज कुँवर

Himalaya will fly 180-seat narrowbody to Pokhara and Bhairahawa

काठमाडौँ — निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा  टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्ने योजना रहेको बताए ।

‘यदि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सलाई अनुमति जारी गर्छ भने हामी उडान भर्न सकारात्मक छौं,' हिमालयका प्रशासनिक उपाध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने ।

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

पर्यटन राज्यमन्त्री अरुण चौधरीले गएको साता भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको बताए ।

‘विपतका बेला बुद्ध, यति र श्री एयरलायन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने, पाइहाले पनि अधिकतम मूल्यको टिकट पाउने भएकाले हामीले विराटनगर र धनगढी पनि दुवै वायुसेवा कम्पनीका न्यरोबडी जहाज पठाउन मन्त्रालयकातर्फबाट पहल गरेका हौ,’ राज्य मन्त्री चौधरीले भने, ‘नेपाल वायुसेवा निगमले आइतबार उडान अनुमतिका लागि प्राधिकरणमा पहल गरिसकेको छ । अनुमति प्राप्त हुनेबित्तिकै निगमको भैरहवा उडानको टिकट विक्री खुल्दै छ ।’

उनले हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको बताए ।

यी रुटमा यात्रुलाई उडाउन न्यरोबडी जहाज पठाउँदा वायुसेवा कम्पनीलाई फाइदा नभएको बताउँदै राज्यमन्त्री चौधरीले राज्यको उपस्थिति देखाउन यो निर्णय लिनु परेको बताए ।

‘हामी दुवै वायुसेवालाई इन्धन, विमानस्थलमा तिर्नुपर्ने ल्यान्डिङ, पार्किङ लगायतका शुल्क मिनाहाका लागि पहल गरिरहेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘यी दुवै वायुसेवा कम्पनीले आफ्ना नियमित अन्तर्राष्ट्रिय उडानलाई असर नपारेर आन्तरिक उडान गर्ने छन् ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully