दसैं मनाउन धमाधम घर फर्किँदै नेपाली

आश्विन १८, २०८१

भवानी भट्ट

Nepalese are returning home to celebrate Dasain

कञ्चनपुर — भारत उत्तराखण्डको पौडी गढवालको कोरद्वारामा मजदुरी गर्ने अछाम ढकारीका गोविन्दबहादुर बुढथापा बिहीबार घर फर्किए । यहाँको गड्डाचौकी नाकामा दसैं नजिकिएसँगै घर फर्किनेको भीडमा उनी पनि थिए । रोपाइँ सकेर साउनमा कामको खोजीमा कालापहाड हिँडेका उनी दसैंतिहारको खर्च बनाएर घर फर्किएका हुन् ।

‘दसैं आयो, तिहार पनि आयो गाउँघरमा पूजाआजादेखि परिवारसँगै चाँड मनाउन आयौं,’ बुढथापाले भने, ‘फेरि खेतीपाती भित्र्याउने बेला पनि भयो ।’

उनका अनुसार रोपाइँ सकेर काम खोज्दै कालापहाड पुगेका धेरैजसो नेपाली कामदार फर्किन लागेका छन् । कतिपय फर्किसकेका छन् । उनीसँगै कोरद्वारा गएका ढकारीका अन्य २० जना पनि बिहीबारै फर्किएका छन् । उनीहरु सबै पौडी गढवालमा खानेपानीको पाइपलाइन बिछ्याउने काम गरिरहेका थिए ।

दैनिक ज्याला साढे ४ सय देखि ५ सयसम्म पाइन्थ्यो । दुई महिनामा खाने र बस्ने खर्च कटाएर २०/२५ हजार बचाएर घर फर्किएको उनीहरु बताउँछन् । बिहीबार दसैंको पहिलो दिन घटस्थापना सुरु भएको छ । बिहीबारदेखि घर तथा मन्दिरमा जमरा राख्ने र धुमधामका साथ पूजा आजा गर्ने गरिन्छ ।

यसकै लागि समेत रोजगारीका लागि भारत पसेकाहरु घर फर्किने गर्छन् । ढकारीका भूमिराज पाध्या दसैंका लागि जहिल्यै घर फर्किन्छन् । पुर्णिमाका दिन उनको गाउँमा ठुलो पूजा लाग्छ । पाध्या धामी भएकाले उक्त पुजामा पुग्नै पर्छ । ‘गाउँमै दसैं पनि मनाउने, पूजा पनि गर्ने,’ उनले भने, ‘उता (पौडी गढवाल)तिर पनि सबै नेपालीहरु घर फर्किन लागेका छन् ।’

Nepalese are returning home to celebrate Dasain

केही दिनयता नाकामा घर फर्किनेको चाप निकै बढेको छ । रोपाँई सकेर पटके रोजगारीका लागि भारतको उत्तराखण्ड र हिमाञ्चलका विभिन्न क्षेत्रमा पुगेकाहरु अहिले घर फर्किन लागेका हुन् । काँधमा झिटिगुण्टा बोकेर हिडिरहेकाहरु गाडी छोप्ने हतारोमा देखिन्छन् । उनीहरु जतिसक्दो चाँडो घर पुग्ने हतारोमा देखिन्छन् ।

अहिले गड्डाचौकी नाकाबाट दैनिक एक हजार बढीमा नेपालीहरु घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षका अनुसार बिहानको समयमा एक हजार बढी नेपालीहरु घर फर्किरहेका हुन् ।

‘दुई/तिन दिनदेखि घर फर्किनेको चाप बढेको छ,’ नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराले भने, ‘दशैं नजिकिँदै गर्दा यो भीड अझै बढने छ ।’

नाकामा चर्को भाडा

पौडी गढवालबाट सीमावर्ती बजार बनबासासम्म साढे ४ सय भारु भाडा तिरेका बुढथापाले बनबासादेखि ५ किलोमिटर दुरीमा रहेको नेपाल–भारत सीमासम्म १ सय २० भारु तिरे । जुन तोकिएको भन्दा दोब्बर बढी हो । उक्त बाटोमा समान्य अवस्थामा ५० रुपैयाँ भारु भाडा लाग्ने गरेको छ ।

Nepalese are returning home to celebrate Dasain

उनीहरुले बोकेको सामान समेत देखाएर चर्को भाडा लिने गरेको पाइन्छ । सीमा क्षेत्रबाट महेन्द्रनगर बजारसम्म पुर्‍याएको पनि अटो चालकहरुले मनपरी गर्ने गरेका छन् । सामान्यतया गड्डाचौकीदेखि महेन्द्रनगसम्म ५० रुपैंया भाडा निर्धारण गरिएको छ । नेपालतर्फका अटो चालकहरुले पनि सामान देखाएर बढी भाडा लिने गरेको कामदारहरु बताउछन् ।

विगतमा बनबासादेखि महेन्द्रनगरसम्म टाँगा चल्ने गरेका थिए । टाँगा चालकहरुले पनि दोब्बर तेब्बर भाडा लिने गर्थे । कोरोना संक्रमणपछि टाँगा बन्द भएर नाकामा दुवैतर्फ अटोहरु सञ्चालनमा छन् । तर तिनको नियमित रुपमा अनुगमन तथा निगरानी हुन सकेको छैन ।

जसका कारण मजदुरी गरेर फर्किरहेको नेपाली कामदारहरुले चर्को भाडा तिर्नुपरेको छ ।

दसैं विशेष

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully