खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानका आउटलेटमा सर्वसाधारणको भीड
काठमाडौँ — चाडबाडलाई लक्ष्य गर्दै सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएपछि सर्वसाधारणमा उत्साह छाएको छ । खाद्यवस्तुमा विभिन्न छुट भएपछि किनमेल गर्नेको भीड बढेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी) मार्फत विभिन्न वस्तुमा छुट दिएको छ । यसले सर्वसाधारणलाई राहत मिलेको र व्यापार पनि बढेको बताइएको छ ।
‘छुटले सर्वसाधारणको प्रतिक्रिया राम्रो छ । चामलको बिक्री उत्साहजनक छ । दाल, तेल र गेडागुडीमा पनि छुट दिएका छौं,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रादेशिक कार्यालय प्रमुख भीम थापाले भने, ‘सहुलियत पसल नहुँदा थापाथली गोदामबाट औसतमा दिनको ४/५ लाखको खाद्यान्न बिक्री हुन्थ्यो । अहिले दिनको १९ देखि २४ लाख रुपैयाँ पुगेको छ । बिक्री बढ्दो क्रममा छ ।’
थापाथली गोदाममा बिहान १० देखि बेलुका साढे ६ बजेसम्म सामान किन्न पाइन्छ । बिहीबार घटस्थापनाको सार्वजनिक बिदा भए पनि सहुलियत पसल सञ्चालनमै रह्यो । किनमेलमा सर्वसाधारणको पनि घुइँचो नै रहेको थापाले जनाए । ‘सहुलियत पसलको मुख्य उद्देश्य सर्वसाधारणलाई राहत दिनु हो, असोज ३ देखि सुरु भएको छुट पसलले सफलता पाएको महसुस भएको छ,’ उनले भने ।
सर्वसाधारणहरू जिरा मसिनो चामलमा बढी उत्साहित छन् । किनभने खाद्यले बिक्री गर्ने चामल सस्तो रहेको जनाइएको छ । बजारमा प्रतिकिलो ९५ देखि ११० रुपैयाँ पर्ने जिरा मसिनो चामल खाद्यले प्रतिकिलो ८५ रुपैयाँमै बेचेको छ । अन्य खाद्यवस्तु पनि बजार भाउभन्दा सस्तो दिएको छ । त्यही कारण अनलाइनबाट खरिद गर्न खोज्ने सर्वसाधारण पनि बढी भएको खाद्यको दाबी छ ।
विभिन्न प्रकारका चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । छुट रकम भने गत वर्षको तुलनामा कम हो । गत वर्ष यी वस्तुमा प्रतिकिलो ७ रुपैयाँ छुट थियो । कर्णालीको सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । गत वर्ष यी खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा र चना, चिनीमा ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म छुट दिइएको छ । माघ २ सम्म सञ्चालन हुने सहुलियत पसलबाट खाद्यले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।
खाद्यको थापाथली गोदामबाट मात्रै नभई सबै बिक्री स्थलमा उत्साह बढेको जनाएको छ । खाद्यले ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्दै आएको छ । साल्टले पनि असोज ७ देखि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । साल्टले उपत्यकाका ११ स्थानबाट छुट दिएको छ । उपत्यकाबाहेक २१ जिल्लामा रहेको आउटलेटबाट पनि छुट दिने साल्टले जनाएको छ । साल्टको आउटलेटबाट नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, चिउरामा ७ रुपैयाँ, पिठो र मैदामा पनि प्रतिकिलो ७ रुपैयाँ छुट छ ।
साल्टले आउटलेटसँगै ३ वटा घुम्ती सेवा पनि सञ्चालन गरिरहेको छ । ‘सहुलियत पसलमा आकर्षण राम्रो छ । खरिद गर्नेको भीड छ, आइतबारदेखि थप बढ्छ,’ साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले भने । साल्टको आउटलेटमा विगतमा पनि फूलपाती आसपास बढी
भीड लाग्थ्यो । सामान किन्न लाइन बस्नुपर्थ्यो । अहिले पनि बिस्तारै बढेको राजभण्डारीको भनाइ छ । सर्वसाधारणको दैनिकीलाई अत्यावश्यक वस्तुमा छुट भएपछि सर्वसाधारणको रुचि बढेको छ,’ उनले भने ।
चाडबाडलाई लक्ष्य गरेर दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचेको छ । सर्वसाधारणले किलोमै १ सय ४० रुपैयाँ छुट पाएपछि व्यापार बढेको संस्थानले जनाएको छ । डीडीसीले प्रतिलिटर दहीमा २५ रुपैयाँ, आइसक्रिममा ९० रुपैयाँ, पनिर (आधा किलो) मा २० रुपैयाँ र कञ्चन चिज, केक प्रतिकिलोमा ९५ रुपैयाँ छुट दिएको छ ।
सबैभन्दा बढी याक चिजमा किलोको १ सय ४० रुपैयाँसम्म छुट दिएर बेचेको छ । प्रतिबट्टा रसबरीमा २० रुपैयाँ, क्यान रसबरीमा ४० रुपैयाँ र प्रतिबट्टा लालमोहनमा २० रुपैयाँ, प्रतिबट्टा पेडामा २० रुपैयाँ, प्रतिबट्टा घिउमा ७५ रुपैयाँ, खुला मखनमा ६५ रुपैयाँ, २ सय मिलिग्राम फ्रेस मिल्कमा १० रुपैयाँ र ३ सय मिलिलिटर स्ट्रबेरी लस्सीमा १० रुपैयाँ छुट दिएको छ ।
