सुकिला नोटको दसैं

नयाँ नपाएपछि सुकिलामै चित्त बुझाउँदै सर्वसाधारण, नोट साट्न छैन भीड 

आश्विन १८, २०८१

यज्ञ बञ्जाडे

Sukila Note's Dasain

काठमाडौँ — यसअघिका वर्षहरूमा दसैंको मुखमा धेरैलाई नयाँ नोट साट्ने हतारो हुन्थ्यो । दसैं मान्न गाउँ जानेहरूको मुख्य उपहार बन्दै आएको थियो नयाँ नोट । नयाँ नोटकै लागि बिहान ३/४ बजेदेखि नै लाइन बस्नुपर्ने बाध्यतालाई पनि सहजै मानेका थिए सर्वसाधारणले । 

यस वर्ष बेग्लै परिस्थिति बन्यो । सफा र सुकिला नोट उपयोगका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गर्‍यो । सोहीअनुसार गत आइतबारदेखि नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाले मुलुकभर सर्वसाधारणलाई सुकिला नोट वितरण गरिरहेका छन् । दसैंका लागि आउँदो मंगलबार (असोज २२) सम्म नोट सटही सुविधा दिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । तर, सुकिला नोटमा सर्वसाधारणको उत्सुकता भने कम देखिन्छ । नोट सटहीका लागि राष्ट्र बैंकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा भीडभाड कम हुनुले पनि यसको पुष्टि गर्ने जानकार बताउँछन् । 

समाजलाई नगदरहित (विद्युतीय भुक्तानी) कारोबारलाई प्रोत्साहन गर्न, यसअघि नयाँ नोटका रूपमा वितरण भएका तर अहिले सुकिला बनेका नोट व्यवस्थापन गर्न, नोट छपाइका लागि लाग्ने खर्च जोगाउनलगायत कारण यस वर्ष नयाँको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । ‘पछिल्ला तीन दसैंमा वितरण भएका नयाँ नोट अहिले सुकिलो अवस्थामा राष्ट्र बैंक केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, बैंक तथा वित्तीय संस्था, नोट कोषमा स्टकमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘स्टकमा रहेका ती नोट प्रयोगमा नल्याउने हो भने त्यति बराबर नयाँ नोट छाप्न करिब २ अर्ब रुपैयाँ खर्च हुन्छ । अहिले ती नोट उपयोग भए, नयाँ नोट छाप्दा लाग्ने खर्च जोगिन्छ ।’ 

गएका चार दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सात वटै प्रादेशिक कार्यालयबाट करिब ५० करोड रुपैयाँ बराबर सुकिला नोट सटही भएको प्रवक्ता पौडेलले जनाए । यो तथ्यांकमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई वितरण गरेको नोटको विवरण समावेश नरहेको पनि पौडेलले प्रस्ट्याए । 

दसैंका लागि असोज २२ सम्म सुकिला नोट साट्न सकिने, राष्ट्र बैंकको केन्द्रीय र सातै प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सुविधा दिने बताएको छ । जसअनुसार राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट मात्र आइतबार १ करोड ४५ लाख, सोमबार १ करोड ८० लाख, मंगलबार २ करोड ३० लाख र बुधबार २ करोड ९२ लाख गरी करिब ८ करोड ४७ लाख रुपैयाँ सटही सुविधा लिइसकेको तथ्यांक छ ।

नोट सटहीका लागि केन्द्रीय कार्यालय बालुवाटारमा मात्र ८ वटा काउन्टर बनाइएको छ । सर्वसाधारणको भीड कम भएपछि हाल ६ वटा मात्र सञ्चालनमा ल्याइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख प्रदीपराज पौड्यालले बताए । उनी भन्छन्, ‘यस वर्ष सुकिला नोट वितरण गर्न लागिएकाले विगतका वर्षमा जस्तो भीड छैन । जसलाई आवश्यक परेको छ, उनीहरूले सटही सुविधा लिएका छन्, यस कारण अनियन्त्रित भीड छैन ।’ सबै बैंक तथा वित्तीय संस्थाले पनि सजिलै नोट सटही सुविधा दिइरहेकाले राष्ट्र बैंकमा मात्र भीड नरहेको पौड्यालको भनाइ छ । 

विगतका वर्षजस्तै यस वर्ष पनि राष्ट्र बैंकले सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सटही गर्ने वितरण गरिरहेको छ । यद्यपि औचित्य खुलाए सर्वसाधारणले आवश्यकताअनुसार नोट सटही गर्न सक्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्दा यस वर्ष विगतका दसैंमा जस्तो धेरै रकम बाहिरिने सम्भावना कम छ । 

खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको छ । 

एकातिर नोट छपाइमा लागत बढिरहेको र अर्कोतिर नयाँ नोटप्रति नागरिकको आकर्षण बढिरहेकाले राष्ट्र बैंकले ठूलो चुनौती खेपिरहेको थियो । पछिल्ला वर्षहरूमा राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । 

एकातिर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने अर्कोतिर हरेक वर्ष ठूलो परिमाणमा नयाँ नोट वितरण गरेर बजारमा मुद्रा आपूर्ति बढाउने काम आफैंमा विरोधाभास भएको भन्दै राष्ट्र बैंकको आलोचना पनि हुँदै आएको थियो । यस कारण पनि नयाँ नोटप्रति नागरिकको आकर्षण कसरी कम गर्ने र सुकिला नोटलाई कसरी प्रयोगमा ल्याउने भन्ने चुनौती राष्ट्र बैंकलाई थियो । 

मुख्य चाडबाडमा वितरित नोटमध्ये केही दसैं र तिहारको बीचमा र धेरैजसो तिहारपछि बैंक तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंकमा फर्कन्छन् । राष्ट्र बैंकमा फर्किएपछि ती नोट ‘सुकिला’ हुन्छन् । बैंक तथा वित्तीय संस्थाले ती नोट लगे पनि सर्वसाधारणले नलाने भएकाले राष्ट्र बैंकको ढुकुटीमा थुप्रिँदै आएको छ । 

अहिले त्यही नोट व्यवस्थापन गर्न लागिएको दाबी राष्ट्र बैंकको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकले बताएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully