काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समीकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् । पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समीकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनले भने, ‘अहिलेको सांपेक्षतामा हाम्रो देशका अर्थ व्यवस्था, राजनीतिक अवस्था, हामी समीकरणका साथ जसरी अघि बढिराखेका छौं । यो सबै हिसाबले अहिलेको बजेट सन्तुलित छ । यसले सही दिशा पक्रेको छ । अब यसलाई कार्यान्वयनका लागि जोड गरेर जानुपर्छ भन्ने नै माननीय सदस्यहरुको सुझाव आयो ।’
बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, निजामती कर्मचारी सेवासम्बन्धी विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका संसद् र संसदीय समितिहरुमा विचाराधीन विधेयकहरुको छलफललाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।
संसद् र संसदीय समितिका बैठकहरुलाई तीव्रता दिएर बजेट र अन्य महत्वपूर्ण विधेयकहरुलाई पनि टुंगोमा पुर्याउने काममा तीव्रता दिने निर्णय बैठकले गरेको पनि प्रमुख सचेतक पाण्डेले बताए ।
