काठमाडौँ — सार्वजनिक-निजी साझेदारीमा काठमाडौंको डिल्लीबजारस्थित चारखालमा अत्याधुनिक सूचना प्रविधि हब निर्माण गरिने भएको छ । योसँगै, ललितपुरमा ज्ञान पार्क, काठमाडौं र बुटवलमा सूचना प्रविधि पार्क बनाउने सरकारको तयारी छ ।
मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिल्लीबजारमा अत्याधुनिक बहुतले सूचना प्रविधि हब निर्माण गरिने घोषणा गरेका छन् । ‘ललितपुरको खुलमटारमा ज्ञान पार्क स्थापनाका लागि १७ करोड विनियोजन गरिएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा निजी भवन उपयोग गरी उच्च गतिका इन्टनेट, विद्युत र स्विचसहितको सूचना प्रविधि पार्क स्थापना गरिनेछ ।’
मन्त्री पुनका अनुसार सो प्रविधि पार्कमा वर्क स्टेसन सञ्चालन गरिनेछ । आईटी उद्यमीलाई तीन वर्षका लागि नि:शुल्क स्थान उपलब्ध गराइने उनले जानकारी दिए । गत जेठ १ मा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा पनि सरकारले आईटी वर्क स्टेसन सञ्चालन गरिने उल्लेख गरिएको थियो ।
साथै, सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई आईटी कम्पनीहरूमा इन्टर्नसिपको गर्ने व्यवस्था मिलाइने अर्थमन्त्रीले पुनले बताएका छ ।
