२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लगानी सम्मेलनमा 'सोकेस'मा राखिने परियोजनाको सूची स्वीकृत

काठमाडौँ — लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राख्नका लागि स्वीकृत गरेको हो ।

लगानी सम्मेलनमा 'सोकेस'मा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिएका थिए । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने बताउँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच र पुरातन नीतिगत तथा कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अघि बढाएको बताए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए । लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ ।

प्रकाशित : वैशाख ११, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमालेको राष्ट्रिय महिला भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भएकोबारे तपाईंको बुझाई के छ ?