लगानी भित्र्याउने विषयमा राजनीतिक दलका प्रतिबद्धताहरु समान छन् : अर्थमन्त्री पुन

वैशाख १०, २०८१

कान्तिपुर संवाददाता

The commitments of political parties are the same regarding bringing in investment: Minister of Finance Pun

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन् । सोमवार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताए ।

उनले सत्तापक्ष, प्रतिपक्ष जे-जे भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिबद्धताहरु समान रहेको बताए।

‘अब राजनीतिक रुपले लगानी सम्मेलन के हुन्छ भन्ने प्रश्न छ । हामी यसलाई कुनै पार्टी, सरकार विशेषको, कुनै गठबन्धन विशेषको नहोस् भनेर यसलाई उद्घाटनदेखि समापनसम्म सबै सेसनमा सबै प्रवृत्तिहरु देखिने गरी काम गर्दैछौँ । त्यहाँ विज्ञ पनि होस्, लगानी कर्ताहरु पनि होउन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपले लेण्डरहरु पनि होउन्, अरु सक्सेस स्टोरीहरु पनि होउन् । जसले सबैलाई प्रेरित गरोस् । त्यसका निम्ति हामी देशभित्र सबै राजनीतिक दलहरुको अनुहार देखियोस् भनेर प्रयास गरिरहेका छौँ,' अर्थमन्त्री पुनले भने, 'जसले हामी कहिले सत्ता पक्ष हुन्छौँ, कहिले प्रतिपक्षमा हुन्छौँ । तर वैदेशिक लगानी र आन्तरिक लगानीमा हाम्रा प्रतिवद्धताहरु समान छन् । उद्घाटन सत्रदेखि सबैजसो सेसनहरुमा त्यो खाले अतिथिहरु आमन्त्रण गरेका छौँ, समय पनि लिएका छौँ, उहाँहरुको कन्फरमेसन पनि लिएका छौँ ।'

उनले देशको आर्थिक समृद्धि गर्ने कुरामा सत्तापक्ष वा प्रतिपक्ष भन्ने नहुने जिकिर गरे । 'लगानी सम्मेलनमा अहिलेका राष्ट्रिय दलहरु एक भएको तपाईंहरुले देख्न पाउनुहुन्छ, मुख्य नेताहरु वक्ताको रुपमा देख्नहुनेछ । प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु देख्नुहुनेछ । यो नेपालको सम्मेलन हो । कुनै सरकारको मात्रै होइन,' उनले भने ।

उनले सरकार फेरिएपनि नेपाल देशको नीति परिवर्तन नभएको बताए । 

कान्तिपुर

Link copied successfully