९ सय रुपैयाँमै होमस्टे प्याकेज

वैशाख २८, २०८०

आश गुरुङ

लमजुङ — ठूलाठूला ढुंगा । ढुंगाकै बाटो अनि बीच–बीचमा गुफा । ढुंगामै बसेर खाना मिल्ने ठाउँ । फोटो र भिडियोका पारखीका लागि सहरबाट केही परको अझ नौलो गन्तव्य । निरन्तर सुसाइरहने मर्स्याङ्दी नदीसँगै रात बिताउने पर्यटकका लागि ९ सय रुपैयाँको प्याकेज ल्याएको छ, खानीगाउँ ‘रक गार्डेन’ (चट्टाने बगैंचा) होमस्टेले ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुको खानीगाउँमा पर्ने रक गार्डेन पर्यटकका लागि नयाँ गन्तव्य हो । चक्रीय अन्नपूर्ण मार्गमै पर्ने भएकाले पनि यहाँ पदमार्गमा निस्किएका विदेशीसमेत बास बस्ने गर्छन् । 

होमस्टेमा साँझ आइपुग्दा स्वागतसहितको खाजा, बेलुकाको खाना, बिहानको खाजा र सुतेको खर्च ९ सय रुपैयाँ तोकिएको हो । पर्यटकलाई स्वागतपछि चिया वा एक गिलास स्थानीय मदिरा, भुटेको मकै र भटमास खाजा दिइन्छ । बेलुकी लोकल कुखुराको मासुसहितको खाना दिइन्छ । बिहानको नास्तामा तरकारी, २ वटा कोदोको रोटी, एउटा अन्डा र चिया दिइन्छ । ‘बेड, खाजा र खाना गरी हामी एक रात बसाइको प्रतिव्यक्ति ९ सय रुपैयाँ मात्रै लिन्छौं,’ रक गार्डेन सामुदायिक होमस्टेका अध्यक्ष सीता गुरुङले भनिन् ।

होमस्टेका लागि कुल १४ घर छन् । सबैमा फ्रि वाईफाई, सफा र आरामदायी बेड, शौचालय, स्नान घर, बिजुली, खानेपानीको व्यवस्था छ । ‘पाहुनाहरू १० जनाभन्दा बढीको समूहमा आएमा आमा समूहको नाचगान पनि देखाउँछौं,’ होमस्टे संस्थापक कामसार्की गुरुङले भने । उनका अनुसार रकगार्डेनमा पिकनिक खाने व्यवस्था पनि छ । पिकनिकका लागि आउनेले खानेकुरा लिएर आएमा भाँडाकुँडा उपलब्ध गराउने र त्यसको भाडा २ हजार रुपैयाँ मात्रै लिने गरिएको गुरुङले बताए ।

बास मात्रै बस्न चाहनेका लागि एउटा बेडको १ सय ५० रुपैयाँ लाग्ने उनले बताए । प्राकृतिक रूपमा मिलेर बनेको चट्टानलाई सजाएर स्थानीयले ‘रक गार्डेन’ नामकरण गरेर गाउँमा होमस्टे सञ्चालन गरेका हुन् । वडाध्यक्ष धनश्याम घलेले अन्नपूर्ण पदमार्गमै पर्ने खानीगाउँमा स्थापना गरिएको रक गार्डेनमा पर्यटकको आकर्षण बढेको बताए । 

प्रकृतिले कलात्मक तरिकाले सिर्जना गरेको ‘रकगार्डेन’ घुम्दा पर्यटकले अनौठो मान्ने गरेका स्थानीय बृख गुरुङ बताउँछन् । उनका अनुसार ढुंगामा चढ्न भर्‍याङ निर्माण गरिएका छन् ।

‘ठाउँठाउँमा खानेपानीको धारा र शौचालय बनाइएको छ,’ उनले भने । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार रकगार्डेन पालिकाकै आकर्षक पर्यटकीय स्थल हो । मर्स्याङ्दीमा घनपोखरा, सिउरुङ, ढगैं, मिप्रा, भुष्मेलगायत होमस्टे गाउँ छन् । हर्सिङडाँडा र पिस हिल स्टेसन पनि मर्स्याङ्दी गाउँपालिकामै छन् । लमजुङ सदरमुकाम बेंसीसहरबाट भुलभुलेबाट ङादी–बाहुनडाँडा हुँदै लिलीसम्मको २१ किलोमिटर मोटर यात्रापछि करिब १५ मिनेट हिँडेर खानीगाउँ रक गार्डेन होमस्टे पुगिन्छ । 

युवा ग्यालरी

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully