चुनावमा छेलोखेलो मदिरा

कान्तिपुरले विभिन्न १७ जिल्लाबाट संकलन गरेको विवरणले औसतमा चैतको तुलनामा वैशाखमा २० देखि २५ प्रतिशतसम्म मदिरा बिक्री बढेको देखाउँछ, जसको सोझो सम्बन्ध चुनावी चहलपहल र मतदाता प्रभावित पार्न उम्मेदवारहरुले बढाएको खर्चसँग सम्बन्धित देखिन्छ

वैशाख २७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको चुनाव नजिकिएसँगै देशव्यापी रूपमा विदेशी र स्वदेशी मदिराको खपतमा उल्लेख्य वृद्धि भएको छ । सरकारले विदेशी मदिरा आयातमा कडाइ गरे पनि नेपाली बजारमा औसतमा मासिक साढे २६ करोड रुपैयाँको मदिराको कारोबार हुने गरेको छ । तर चुनाव नजिकिएसँगै यसको कारोबार उकालो लाग्दो छ । कान्तिपुरले विभिन्न १७ जिल्लाबाट संकलन गरेको विवरण हेर्दा औसतमा चैतको तुलनामा वैशाखमा २० देखि २५ प्रतिशतसम्म मदिरा बिक्री बढेको देखिन्छ, जसको सोझो सम्बन्ध चुनावी चहलपहल, मतदाता प्रभावित पार्न उम्मेदवारहरूले मदिरामा बढाएको खर्चसँग सम्बन्धित देखिन्छ ।

मधेस प्रदेशमा भने चुनावसँगै भोज भतेरको संख्या मात्रै बढेको छैन, मदिराको खपत पनि ह्वात्तै बढेको छ । कान्तिपुरका जिल्ला संवाददाताहरूका अनुसार ग्रामीण क्षेत्रमा एकै उम्मेदवारले एकै दिन दर्जनभन्दा बढी स्थानमा एकैचोटि भोज चलाएका छन् । साँझपख चल्ने धेरेजसो भोजमा मदिराको पनि व्यवस्था गरिएको देखिन्छ । 

सरकारले विदेशी मुद्रा सञ्चितिका कारण महँगो विदेशी मदिरा आयातमा रोक लगाएका कारण नेपालमै उत्पादन हुने मदिराको बिक्री ह्वात्तै बढेको वीरगन्जको आदर्शनगरस्थित टिब्रेवाल इम्पेक्सका सञ्चालक दीपक टिब्रेवाल बताउँछन् । ‘सरकारले विदेशी मदिरा आयात निरुत्साहित गरेपछि झन्डै डेढ महिनादेखि बजारमा विदेशी मदिरा अभाव छ,’ उनले भने, ‘नेपालमै उत्पादन हुने मदिराको बिक्री सामान्य दिनको तुलनामा अहिले बढेको छ ।’ 

सरकारले विदेशी मदिरा आयातमा रोक लगाएपछि अघिल्लो आर्थिक वर्षको चैतको तुलनामा मदिरा आयात घटेको देखिन्छ । २०७७/७८ को चैतमा २६ करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको विदेशी मदिरा आयात भएको वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीले जनाए । चालु आर्थिक वर्षको चैतमा २१ करोड ५६ लाख ४४ हजार रुपैयाँको विदेशी मदिरा आयात भएको उनको भनाइ छ । चुनाव नजिकिएसँगै ग्रामीण क्षेत्रमा घरेलु मदिराको बिक्रीसमेत बढेको छ । चैतसम्म प्रतिलिटर ६० रुपैयाँमा पाइने घरेलु मदिराको मूल्य अहिले लिटरमै दोब्बर पुगेको पर्सागढी नगरपालिका बरवाटारी निवासी नरेश कुमारले बताए । 

निर्वाचनको समय नजिकिँदै गर्दा रौतहटको मदिरा बिक्री गर्ने होटलमा नेता–कार्यकर्ताको साँझपख भीड बढेको विक्रेताहरूको भनाइ छ । दिनभर मत माग्ने, प्रचारप्रसारमा जाने कार्यकर्ता रिझाउन उम्मेदवारले बेलुका नखुवाई नहुने परम्परा बढेको चन्द्रपुर नगरपालिकाका वडाध्यक्षका एक उम्मेदवारले स्विकारे । ‘अब मदिरारहित चुनावको कल्पना गर्न सकिँदैन,×××’ उनले भने । यसले उम्मेदवारलाई चुनाव महँगो बनाएको छ । चैतमा ५० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेकामा वैशाखमा १ करोड हाराहारीमा पुग्न लागेको चन्द्रपुरस्थित मदिरा विक्रेता दीपेन्द्र चौरसियाले सुनाए । चुनावका बेला मदिराको बिक्री बढे पनि जिल्लाका थोक तथा खुद्रा बिक्रेता कतिको बेचियो भन्ने बताउन चाहँदैनन् । रौतहटका १८ पालिकामा साना–ठूला गरी झन्डै ८० वटा होटल छन् । तिनमा सस्ता र ब्रान्डेड मदिरासमेत बिक्री हुने गरेका छन् । फागुनयता मदिरा बिक्री केही बढेको चन्द्रपुरस्थित साझा ट्रेडर्सका सञ्चालक हर्क तामाङले बताए । ‘जति बिक्री हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘चुनावको मुखमा बढ्ला ।’ 

चुनावको तिथि नजिकिँदै जाँदा सप्तरीमा पनि मदिराको व्यापार बढेको छ । ब्रान्डेडको तुलनामा घरेलु र कम मूल्यमा पाइने मदिराको बिक्रीवितरण बढेको हो । बजार क्षेत्रका मदिरा पसल मात्र होइन, ग्रामीण क्षेत्रमा रहेका मदिरा पसलमा पनि विगतको तुलनामा भीड देखिन थालेको व्यवसायी बताउँछन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्र वैशाखयता १२ देखि १५ करोड रुपैयाँको मदिराको कारोबार भएको व्यवसायीको दाबी छ । 

सुर्खेतबाट मुगु, जुम्ला र कालीकोटमा विभिन्न ब्रान्डका मदिरा प्रतिदिनजसो गइरहेको यती डिस्टिलरीका कर्मचारी धर्म दाहालले जानकारी दिए । ‘चुनाव नजिकिएपछि बिक्री बढेको छ नै,’ उनले भने, ‘अहिले जताततै माग बढेपछि कम्पनीलाई माग थेग्नै धौधौ भइरहेको छ ।’ मुगु, जुम्ला र कालीकोटमा प्रतिदिन १५ लाख रुपैयाँसम्मका विभिन्न ब्रान्डका मदिरा गइरहेको उनको भनाइ छ । हुम्लामा पनि वैशाखमा झन्डै ५० लाखको मदिरा जहाजबाट सदरमुकाम सिमकोट गएको उनले अनुमान गरे । वैशाखयता झन्डै २ करोड रुपैयाँको कम गुणस्तरको मदिरा ग्रामीण क्षेत्रमा गएको मदिरा व्यवसायी कमलराज सुवेदीको दाबी छ । 

ब्रान्डेड मदिराको व्यापारमा चुनावकै कारण खासै वृद्धि नभएको मदिरा व्यवसायी संघ सप्तरीका कार्यवाहक अध्यक्ष मुकेश सिंह बताउँछन् । थोक विक्रेता सुरेन्द्रप्रसाद यादवले भने ब्रान्डेड मदिराको व्यापारमा चुनावकै कारण १० प्रतिशतको वृद्धि देखिएको जानकारी दिए । म्याग्दीको बेनीस्थित गोर्खा ब्रुअरीको बियरका डिलर मुक्तिनाथ इन्टरप्राइजेजका भीमनाथ रेग्मीका अनुसार चैतमा १ करोड ५० लाखको मदिराको कारोबार भएको थियो । यस्तो कारोबार वैशाखमा झन्डै दोब्बर पुगेर २ करोड ५० लाख हाराहारीमा छ । महँगोको तुलनामा बियर र सस्ताखाले मदिराको व्यापार दोब्बर भएको लभ्ली हिल ट्रेडर्सका डम्बर घिमिरेले बताए । 

सुनसरीमा मनोनयन दर्ता खुला भएपछि नै मदिराको बिक्री बढेको व्यवसायीहरूको भनाइ छ । जिल्लास्थित मदिराका डिलरबाट संकलित तथ्यांकले जिल्लामा मदिराको खपत चैतको तुलनामा १५ प्रतिशत बढेको देखाउँछ । गत चैतमा सुनसरीमा विभिन्न ब्रान्डका मदिरा मात्र करिब ६७ करोड ८० लाख रुपैयाँको बिक्री भएको थियो । ‘चुनावी माहोलले गर्दा होला, वैशाख पहिलो सातादेखि मदिरा खपत तुलनात्मक रूपमा १५ प्रतिशत बढेको छ,’ मदिरा व्यवसायी संघ सुनसरीका अध्यक्षसमेत रहेका प्रदेश १ का सदस्य नवीन तामाङले भने । जेठ पहिलो सातासम्म मदिराको खपत बढिरहने उनको भनाइ छ । दलका उम्मेदवार र कार्यकर्ता दिनभर प्रचारप्रसारमा व्यस्त हुने र साँझमा होटल, बार, भट्टी पसलमा थकान मेट्ने बानीले मदिराको खपत बढेको धरान–१५ बगरकोटका बार सञ्चालकले बताए । मदिराको खपत पूर्वी पहाडी जिल्ला धनकुटामा पनि बढेको छ । डिलर एसोसिएसन धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठले चैतको दाँजोमा वैशाखमा बियरको कारोबार २० प्रतिशत उकालिएको दाबी गरे । सुदूरपश्चिमको कञ्चनपुरका मदिरा व्यापारी पनि चुनावमा कारोबार बढिरहेको सुनाउँछन् । चैतको तुलनामा मदिराको कारोबार झन्डै दोब्बर पुगेको महेन्द्रनगरका मदिरा व्यवसायी गणेश ऐरको भनाइ छ । महेन्द्रनगरमा मात्रै मासिक ४५ लाखभन्दा बढीको मदिरा बिक्री भइरहेको उनले बताए । 

महेन्द्रनगरको केजीएस सप्लायर्सको बहिखातले ऐरको भनाइलाई पुष्टि गर्छ । सप्लायर्सले चैतमा ५० लाखको मदिराको कारोबार गरेको थियो । वैशाखमा भने १ करोड नाघिसकेको सप्लायर्सको लवदेव पाण्डेयले जानकारी दिए । कञ्चनपुरमा अहिले मासिक ५ करोड रुपैयाँभन्दा बढी मदिराको कारोबार भइरहेको कञ्चनपुर मदिरा व्यवसायी संघका अध्यक्ष राहुल भट्टले बताए । कुल कारोबारमा विदेशी मदिराको हिस्सा ४०/५० लाख हाराहारीमा रहेको उनले जानकारी दिए । 

‘अघिल्ला चुनावका बेला स्वदेशी तथा विदेशी मदिराको माग बढेको थियो,’ गोर्खा ब्रुअरी धनगढीका बजार प्रतिनिधि कर्ण बोहराले भने, ‘यो चुनावको मुखमा बढेको छैन । स्थिर जस्तो नै छ । अलिकता गाउँघरतिर मदिराको माग बढी भएको छ ।’ गाउँतिर ३० प्रतिशत जति मदिराको माग बढेको उनले बताए । पोख्रेल स्टोर धनगढीका प्रोप्राइटर युवराज पोखरेल पनि चैतको तुलनामा वैशाखको दोस्रो सातापछि मदिरा बिक्री ५ देखि ७ मात्र प्रतिशत बढेको बताउँछन् । ‘चुनावमा जति मदिरा बढी बिक्री हुनुपर्ने अपेक्षा गरेका थियौं,’ उनले भने, ‘सोचेजस्तो बिक्री भएको व्यवसायीले देख्न पाएका छैनौं ।’ दाङका मदिरा व्यवसायी चुनावका कारण मदिराको कारोबारमा १० प्रतिशतसम्म वृद्धि भएको दाबी गर्छन् । राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष दामोदर बुढाथोकीले निर्वाचनको असर मदिराको कारोबारमा देखिन थालेको बताए । वैशाख अन्त्यतिर अझ यसको खपत बढ्ने उनको अनुमान छ । 

पर्वत सदरमुकाम कुश्मा बजारका राजु शर्माले विभिन्न ब्रान्डका मदिराको थोक कारोबार गर्छन् । आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका मदिराको जिल्लाभर कारोबार गर्दै आएका उनको व्यवसाय यति बेला ह्वात्तै बढेको छ । यसअघि मासिक एक करोड हाराहारी कारोबार हुने उनकोमा वैशाख २४ भित्रै १ करोड २५ लाख कारोबार भइसकेको उनले बताए । वैशाखमा ५० प्रतिशत कारोबार बढ्ने उनको अनुमान छ । गोरखामा पनि मदिराको खपत केही बढेको छ । चैतमा करिब ३५ सय कार्टुन बियर बिक्री गरेका सीजी ब्रुअरीका वसन्त अर्यालले वैशाखमा ४ हजार कार्टुन बेचे । चुनावले १० प्रतिशत बिक्री बढाएको खोप्लाङी सप्लायर्सका मानकाजी श्रेष्ठको दाबी छ । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले पनि चुनावले मदिरा व्यापार बढाएको दाबी गरे । तनहुँ सदरमुकामस्थित दमौली ट्रेड सेन्टरले नगरपालिकाभित्र र आसपासका क्षेत्रमा मदिरा बिक्रीवितरण गर्छ । चैतमा मात्रै सेन्टरले १ करोड ५० लाख रुपैयाँ बराबरका स्वदेशी ब्रान्डका मदिरा बिक्री गरेको व्यवसायी विकास कार्कीले जानकारी दिए । अझ ५० लाख रुपैयाँ बराबरको मदिरा आयात हुने उनको भनाइ छ । सदरमुकामकै मीना आइसा सबडिलरका सञ्चालक अमृत सुनारले पनि चैतमा ८ लाख बराबरको मदिरा बेचेकामा वैशाख २४ सम्ममा १५ लाख रुपैयाँ बराबरको बेचिसकेको जनाए । 

सिन्धुपाल्चोकका मदिरा व्यवसायी भने चुनावका कारण जिल्लामा मदिराको व्यापार ४७ प्रतिशत बढेको दाबी गर्छन् । जिल्लाको क्षेत्र नम्बर १ का पालिकाभर मात्र वैशाखमा ८ करोड रुपैयाँ बराबरको मदिरा बिक्री भएको व्यवसायी नारायण बोहराको भनाइ छ । चुनावअघिका महिनामा जिल्लामा औसतमा मासिक २५ करोडसम्मको मदिरा भित्रिने गरेको तथ्यांक छ । 

जहाँ व्यापार उल्लेख्य छैन

धेरैजसो जिल्लामा चुनाव नजिकिँदै गर्दा मदिराको व्यापारमा उल्लेख्य वृद्धि भए पनि झापाका मदिरा व्यवसायी व्यापारमा सोचेजस्तो वृद्धि नदेखिएको बताउँछन् । विदेशी मदिरा आयातमा गरिएको कडाइ र आचारसंहिता पालनाले व्यापार सोचेजस्तो नभएको केही व्यवसायीहरूको भनाइ छ । 

‘आचारसंहिता कडा पारेर हो या आर्थिक संकटले हो, यस वर्ष चुनाव सकिन लागिसक्यो, व्यापार एकदम सुनसान छ,’ होटल व्यवसायी संघकी जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठले भनिन् । आर्थिक संकटका कारण पनि व्यापार ठप्पजस्तै रहेको उनको भनाइ छ । ‘निर्वाचनमा व्यापार उठ्ने आशा हामीले पनि गरेका थियौं तर सोचेको २० प्रतिशत पनि व्यापार छैन,’ बिर्तामोडका मदिरा व्यापारी राम सिटौलाले भने । 

गत वर्ष यस सिजनमा आफ्नो पसलमा करिब ५० लाख रुपैयाँको मदिरा रहेको उनले सुनाए । तर आर्थिक संकटका कारण यस वर्ष ५ लाख जतिको मात्र मदिरा रहेको उनले जनाए । ‘मेरो मात्र होइन, कसैको व्यापार छैन,’ घिमिरे ब्रदर्सका सञ्चालक सञ्जीव घिमिरेले भने, ‘व्यापारीले सोचेको भन्दा फरक तरिकाले निर्वाचन सकिन लाग्यो ।’ यस वर्ष होटलहरूमा चुनावी कार्यकर्ताको भीड नै नरहेको उनले बताए । ‘नेताले पैसा ननिकालेर हो या बजारमा पैसा नै नभएर हो, सामान्य व्यापार पनि छैन,’ होटल व्यवसायी शिवराम पौडेलले भने । 

झापामा मात्रै होइन, विराटनगरका व्यवसायी पनि चुनावको मुखमा मदिराको व्यापार नबढेको देखेर छक्क छन् । ‘विगतका निर्वाचनमा एक महिना पहिलादेखि नै मदिराको कारोबार बढ्थ्यो,’ विराटनगर पीपलचोकका मदिराका थोक व्यवसायी विनोद मगरले भने, ‘यसपालि सामान्य अवस्थाको जस्तो पनि व्यापार छैन ।’ कम दाम पर्ने स्थानीय उत्पादनको बिक्री बढेको हुन सक्ने भए पनि बढी रुपैयाँ पर्ने मदिराको बिक्री पटक्कै नबढेको नेपाल लिकर्सका बजार व्यवस्थापक कमल सिटौलाले बताए । बजारमा मदिराको माग बढ्न नसकेको चण्डिका डिस्ट्रिलरी रंगेलीका बजार व्यवस्थापक ओमकार थापाको भनाइ छ । 

मोरङमा मदिरा उत्पादन गर्ने तीन उद्योग छन् । सबैको बिक्री सामान्य छ । आर्थिक मन्दीको प्रभाव निर्वाचनमा पनि देखिएको गोल्डेन ग्लब लिकर्सका प्रबन्धक महेश सोनीले बताए । मदिराले विगतका निर्वाचन चलायमान हुन्थे । तर यसपालि मदिराको बिक्री नरहेको उनको दाबी छ । सामान्य अवस्थाको तुलनामा चुनावका नाममा २५ प्रतिशत पनि बिक्री नबढेको किङफिसर बियर र जे ८९ ह्विस्कीका थोक बिक्रेता विनोद केसीले गुनासो गरे ।   

जोगबनी नाकाबाट तीन महिनायता एक बोतल पनि विदेशी मदिरा नआएको भन्सारका सूचना अधिकृत रामचन्द्र ढुंगानाले जानकारी दिए । ‘यस अवधिमा मदिराको कच्चा पदार्थ केही परिमाणमा आएको छ,’ उनले भने, ‘तर विदेशी मदिरा पटक्कै आएको छैन ।’ पाल्पाको व्यापारी पनि पहिले–पहिले जस्तो निर्वाचनले मदिराको कारोबार नबढेको बताउँछन् । तानसेनमा आठ थोक विक्रेता र केही सहायक विक्रेता रहेको मदिरा व्यवसायी संघका उपाध्यक्ष शोभाखर पोखरेलले जनाए । रामपुरमा पनि थोक र सहायक विक्रेता चारभन्दा बढी छन् । थोक विक्रेताले मासिक ३० देखि ६० लाखसम्मको कारोबार गर्छन् । तानसेन र रामपुरमा गरी वार्षिक ४ करोड ५० लाखको मदिरा बिक्छ । ‘अघिल्ला निर्वाचनमा सिलप्याक मदिराको बिक्री बढ्ने गरेको थियो,’ उनले भने, ‘यसपटक बढेन ।’ 

डडेलधुरामा निर्वाचन मिति तोकिएसँगै बिक्रीवितरण बढ्ने अनुमान गरेका सुदूरपश्चिमका मदिरा व्यवसायी मागअनुसार मदिरा पाउन नसक्दा निराश छन् । ‘डडेलधुरामा मात्र प्रतिदिन चार ट्रक मदिरा आउने गर्छ,’ व्यवसायी पदमराज बोहराले भने, ‘तर व्यवसायीले मागअनुसार मदिरा पाएका छैनन् ।’ कम्पनीहरूले कच्चा पदार्थको अभावमा मदिरा उत्पादन गर्न नसकेको उनको भनाइ छ । सुदूरपश्चिममा मदिरा सप्लाई गर्ने अमित डिस्टिलरीका बजार प्रबन्धक हिक्मत बोहरा पनि यसपटक निर्वाचनको समयमा मदिराको बिक्रीवितरण धेरै नबढेको दाबी गर्छन् । यति प्रतिशत बढ्यो भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । यसपाला नुवाकोटमा पनि मदिराको कारोबार सोचेजस्तो नबढेको व्यवसायीहरूको भनाइ छ । स्थानीय र बैंकिङ क्षेत्रमा पनि रकम अभावले मदिराको खपत कम भएको नुवाकोट मदिरा व्यवसायी संघले बताएको छ । 

–अवधेश झा (सप्तरी), भूषण यादव (वीरगन्ज), कृष्णप्रसाद गौतम (सुर्खेत), घनश्याम खड्का (म्याग्दी), प्रदीप मेन्याङ्बो, (सुनसरी), भवानी भट्ट (कञ्चनपुर), रमेशचन्द्र अधिकारी (धनकुटा), मोहन बुडाऐर (धनगढी), दुर्गालाल केसी (दाङ), अगन्धर तिवारी (पर्वत), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ), अनिश तिवारी (सिन्धुपाल्चोक), अर्जुन राजवंशी (झापा), विनोद भण्डारी (विराटनगर), माधव अर्याल (पाल्पा), डीआर पन्त (डडेलधुरा) र राजु चौधरी (काठमाडौं)

कान्तिपुर

Link copied successfully