स्थानीय तह निर्वाचन

वनकरियाकी एक्ली उम्मेदवार

प्रताप विष्ट

हेटौंडा — लोपोन्मुख वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया स्थानीय तह निर्वाचनमा वडा सदस्यको उम्मेदवार छिन् । यो समुदायबाट स्थानीय तहमा उम्मेदवार बन्ने उनी पहिलो र एकमात्र हुन् । ५८ वर्षीया सन्तमायालाई मकवानपुरको मनहरी गाउँपालिका–४ मा माओवादी केन्द्रले उठाएको हो । 

वनकरियाकी एक्ली उम्मेदवार

झन्डै अढाइ दशकअघिसम्म वनकरिया समुदाय जंगलमा फिरन्ते जीवन बिताउँथ्यो । त्यसपछि क्रमशः समुदायमा रूपान्तरण भएको हो । वनकरिया समुदायको बसोबास मकवानपुरको मनहरी–४ मुसेधापमा मात्र छ । करिब २७ वर्ष जंगलमै बिताएकी सन्तमाया बस्तीमै अनौपचारिक कक्षा लिई आफ्नो नाम लेख्न सक्ने भइन् । जंगलमै उनको बिहे कृष्णबहादुर वनकरियासँग भएको थियो । पाँच सन्तानलाई जंगलमै हुर्काएकी उनका २ छोरा र ७ छोरी छन् । स्थानीय तहको निर्वाचनमा वडासदस्यको उम्मेदवार बन्न पाउँदा उनीसँगै समुदाय खुसी छ ।

गाउँमा भोट माग्न आउनेलाई समेत उनीहरू हाम्रो समुदायबाट पनि ‘सन्तमाया उठेकी छन्’ भन्दै सुनाउँछन् । ‘म पनि यसरी राजनीतिमा भाग लिउँला, चुनावमा उठौंला भन्ने कुरा कल्पनामा पनि थिएन । अहिले उम्मेदवार बन्न पाउँदा खुसी लागेको छ,’ सन्तमायाले भनिन् ।

आफ्नो समुदाय पछि पर्नु हुँदैन भनेर आफू अगाडि बढेको उनको भनाइ छ । जंगली जीवन त्यागेर बस्तीमा बस्न थालेसँगै उनले गाउँमा नेतृत्वदायी भूमिका खेल्न थालेकी हुन् । अशिक्षा र गरिबीको रेखामुनि रहेको वनकरिया समुदायमा धेरै सन्तान जन्माउने चलन थियो । ‘धेरै सन्तान जन्माउनु हुँदैन भनेर मैले सम्झाउँदा तपाईंले किन ९ वटा जन्माउनुभयो भनेर प्रश्न गर्थे । तर, मैले सबैलाई सम्झाएँ । अहिले गाउँमा दुई सन्तान ईश्वरको बरदान भन्ने बुझाइ आइसकेको छ,’ उनले भनिन् ।

आफ्नो समुदायमा शिक्षा प्राथमिकतामा नपरेकोमा उनलाई चिन्ता छ । त्यसैले आफू वडा सदस्यमा निर्वाचित भएमा गाउँका सबै बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने सपना उनले देखेकी छन् । वनकरिया समुदायको स्थायी बसोबासका लागि समेत पहल गर्ने उनले सुनाइन् । हाल पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र बस्ने उनीहरूको नाममा एकधुर जमिन पनि छैन । वनकरियाका २१ घरधुरीमा ८१ जनाको बसोबास छ । वडा सदस्यको उम्मेदवार बनेयता चुनाव प्रचारमा हालसम्म ५ हजार रुपैयाँ खर्च भएको उनले सुनाइन् ।

प्रकाशित : वैशाख २७, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?