‘कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ र आत्मनिर्भर पनि बनाएको छ’
रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–११ पातिहाल्नाका भूपालसिङ ओली माओवादी केन्द्रको सानीभेरी गाउँपालिका अध्यक्ष हुन् । मंसिर ११ गते दोस्रो गाउँ सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए । उनी तत्कालीन माओवादीले थालेको सशस्त्र विद्रोहका पनि पूर्णकालीन कार्यकर्ता हुन् । उनी योसँगै व्यावसायिक कृषिमा पनि जोडिएको पनि लामो समय भइसक्यो ।
राजनीतिमा रहनेहरूको मुख्य पेसा नै राजनीति हो भनेर बुझ्नेहरूका लागि ओली फरक भएर उभिएका छन् । ‘मैले केही समय पार्टीको कामबाट बिदा लिएको छु,’ उनले भने, ‘पार्टीको राष्ट्रिय सम्मेलनयता पार्टीका केही कार्यक्रम पनि छैनन्, यही मौकामा बारीमा समय दिऊँ भनेर लागेको छु ।’ अहिले उनलाई बारीको सुन्तला, अदुवा र किवी भित्र्याउने चटारो छ ।
किवी भित्र्याएपछि भने किवीका लागि थप काम गर्ने योजना रहेको ओलीले बताए । ‘यो फल टिप्ने काम सकेपछि मल हाल्ने, गोडमेलको काम पनि गर्नुपर्ला,’ उनले भने, ‘पार्टीको कामबाट बिदा लिएर बसेका बेला अलि बढी काम गर्ने योजनामा छु ।’ यसपटक ओलीले झन्डै २५ क्विन्टल सुन्तला फलाए । करिब १२ क्विन्टल बढी अदुवा र ३ क्विन्टल किवी फलेको उनले जानकारी दिए ।
‘किवी फल्न अरू बोट पनि बाँकी छन्,’ हेवार्ड जातको किवी खेती गरेका उनले भने, ‘कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ र आत्मनिर्भर पनि बनाएको छ ।’ उनीसँग बाख्रा पनि छन् । व्यवस्थित खोरमा उनले १५ बाख्रा राखेका छन् । यसै वर्ष बाख्राको संख्या १ सय पुर्याउने ओलीको योजना छ । बाख्रा पालनका लागि उनले घाँस खेती पनि गरेका छन् । ‘काम गरेपछि व्यावसायिक बन्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘निर्वाहमुखी खेतीले किसानको प्रगति हुँदैन, दुःख मात्रै धेरै हुन्छ ।’
ओली व्यावसायिक कृषक त बनेका छन् नै । तर उनको पनि अरू किसानको भन्दा फरक समस्या भने छैन । उत्पादित वस्तुको बिक्रीमा ठूलो समस्या भएको उनले गुनासो गरे । ‘किसानको उत्पादन बिक्री नहुँदा किसान निराश हुनुपर्ने र उत्पादनले दिएको उत्साहलाई मार्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो वर्ष सबै सुन्तला बिक्न बाँकी छ, अदुवा बिक्न नसकेपछि खाल्डो खनेर गाडेको छु ।’ किवी बिक्री होला भन्ने आशामा बजार दौडिरहेको उनले बताए ।
झन्डै १ दशकदेखि कृषि पेसामा संलग्न ओलीको अर्को नमीठो अनुभव पनि छ । झोलामा किवी बेच्दै गर्दा धेरैले उनलाई यसरी राजनीति गर्न सकिन्नसमेत भने । ‘किसान बनेपछि, कृषि गरेपछि पद र प्रतिष्ठा नै सकिसकेको जस्तो गरी टिप्पणी हुन्छ,’ उनी भन्छन्, ‘किसानलाई सम्मान गर्ने चलन नै छैन ।’ उनले कृषिबाटै समृद्धि ल्याउने हो भने यो मान्यता फेर्नुपर्ने उनको तर्क छ ।
