माओवादी केन्द्र वाग्मती प्रदेशको पदाधिकारीका लागि मतदान

पुस ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश पदाधिकारीका लागि मतदान सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी निर्वाचनअन्तर्गत भर्खरै मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएपछि राति ९ बजेमात्रै मतदान सुरु भएको हो । 

अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै ३ उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जनाले उम्मेदवारी दिएका छन् । यस्तै सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डीबी तामाङले जानकारी दिए । 

त्यस्तै ३ सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुनले मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्षका भने तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।

अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी वाग्मती प्रदेश कमिटी सदस्य विदुर खड्काले बताए ।

माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसके पनि वागमती प्रदेशमा भने निर्वाचन हुन लागेको हो ।

तस्बिर : प्रकाशचन्द्र तिमल्सिना, कान्तिपुर 

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully