माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

पुस ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा उनले दिनानाथ गौतमलाई हराएका हुन् ।

सरल १६२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी गौतमले ८६ मत प्राप्त गरे ।  त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै सचिवमा इन्द्रबहादुर थिङ र सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।

वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।

माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसके पनि वागमती प्रदेशमा भने निर्वाचन भएको हो ।

कसले कति मत पाए ?


माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully