कोरोना रोकथामका लागि नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण

जेष्ठ १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली विकास बैंक(एडीबी) ले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई २५० मिलियन अमेरकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) सहिलयतपूर्ण ऋण दिने भएको छ । एडीबीले कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा सहयोग गर्न र नेपाल सरकारलाई उक्त सहुलियतपूर्ण ऋण दिने भएको हो ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट  देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले हस्ताक्षर गरेका छन् ।  हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो ।

एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अर्थ सचिव ढुंगानाले बताए । उक्त रकम सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गरिने उनले बताए ।

त्यस्तै एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाए । 

एडीबीले यसअघि युनिसेफसँगको साझेदारीमा नेपाललाई कोरोनाविरुद्धको लडाइँका लागि तीन लाख डलरको अनुदान सहयोग गरिसकेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully