कोरोना रोकथामका लागि नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली विकास बैंक(एडीबी) ले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई २५० मिलियन अमेरकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) सहिलयतपूर्ण ऋण दिने भएको छ । एडीबीले कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा सहयोग गर्न र नेपाल सरकारलाई उक्त सहुलियतपूर्ण ऋण दिने भएको हो ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो ।

एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अर्थ सचिव ढुंगानाले बताए । उक्त रकम सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गरिने उनले बताए ।

त्यस्तै एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाए ।

एडीबीले यसअघि युनिसेफसँगको साझेदारीमा नेपाललाई कोरोनाविरुद्धको लडाइँका लागि तीन लाख डलरको अनुदान सहयोग गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

महामारीका बेला अस्पतालजन्य फोहोर व्यवस्थापनमा चुनौती

गोविन्द पोखरेल, बुनु थारु

काठमाडौँ — जेठ दोस्रो साता काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका एक चालकलाई कोरोना संक्रमण देखियो । उपचारपछि उनी निको भएर शुक्रबारदेखि पुनः काममा फर्केका छन् । जेठ पहिलो साता महानगरका ३१ जना सफाइ कर्मचारीमा एन्टिबडी पोजिटिभ देखिए पनि पीसीआर टेस्टमा उनीहरूमा कोरोना संक्रमण देखिएन ।

महामारीका बेला अहिले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखा परेको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभए वा सामान्य त्रुटिले पनि संक्रामक रोग फैलाउन सक्ने सम्भावना बढाउँछ ।

कोरोनाका कारण मास्क, ग्लोब्स, पीपीईको खपत बढेसँगै फोहोरमा ग्लोब्स र मास्कको मात्रा पनि बढेको छ । कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकले प्रयोग गर्ने पीपीई, संक्रमितको उपचार गर्दा प्रयोग हुने सामग्रीबाट निस्किरहेको फोहोरको व्यवस्थापन कसरी भइरहेकाे छ त ?

बिरामीको स्वास्थ्य उपचार, खोप तथा डायग्नोसिस गर्दा निस्कने, सुईजन्य वस्तु, शरीरबाट निस्कने, कल्चर, रगतको स्याम्पल र प्याथालोजिकल फोहोर अस्पतालजन्य फोहोरमा पर्छन् । यस्तै रेडियोएक्टिभ र मर्करीजन्य फोहोर पनि अस्पतालबाट निस्कन्छन् । यसको व्यवस्थापन सही रूपमा गरे धेरै रोगबाट बचिने र संक्रमणबाट पनि जोगिन सकिने विज्ञहरुले बताएका छन् ।

लकडाउनयता उपत्यकामा फोहोरको मात्रा घटे पनि ठूला अस्पतालमा घटेको छैन । टेकुस्थित फोहोर संकलन केन्द्रबाट दैनिक २२ वटा ट्रक फोहोर विसर्जन गर्न सिसडोल जाने गरे पनि अहिले दैनिक ६ देखि १० वटा ट्रक मात्रै जाने गरेको महानगरपालिकाको वातावरण महाशाखाले जनाएको छ ।

तर लकडाउनको दुई महिना बितिसक्दा उपत्यकाका ठूला अस्पतालमा भने फोहोरको मात्रा नघटेको फोहोरमैला व्यवस्थापन संघ नेपाल (सोमान) को भनाइ छ । सोमानका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार अरू बेला ठूला अस्पतालबाट दैनिक साढे ३ टनसम्म फोहोर उठिरहँदा अहिले पनि उस्तै छ । उनले भने, ‘हामी त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, मेडिसिटी हस्पिटल, नर्भिकलगायत ठूला अस्पतालमा पहिला जति फोहोर उठाउँथ्यौं, अहिले पनि त्यति नै उठाउँछौं ।’

सिभिल, शुक्रराज, सैनिक अस्पतालहरूमा भने केही मात्रामा फोहोर घटेको काठमाडौं महानगरले जनाएको छ । महानगरभित्रको फोहोर अनुगमनसमेत गर्दै आएका महानगरका प्रहरी निरीक्षक पूर्ण भट्टले भने, ‘पहिला ती अस्पतालमा एकै दिनमा फोहोरको कन्टेनर भरिन्थ्यो । अहिले दुई दिनमा भरिन्छ ।’

लकडाउनसँगै मानवीय गतिविधि केही कम भएपछि डिस्पेन्सेरी, क्लिनिक, पोलिक्लिनिक, ल्याब, नर्सिङ होमबाट निस्कने फोहोर घटेको छ । स्वास्थ्य क्षेत्रबाट निस्कने कुल फोहोरको ३० प्रतिशत घटेको सोमानले जनाएको छ । उपत्यकाबाट निस्कने फोहोरको १० प्रतिशत स्वास्थ्यसम्बन्धी हुने गरेको महानगरको अनुमान छ ।

महानगरपालिकाले अस्पतालहरूलाई कोभिड–१९ परीक्षणमा प्रयोग भएका किट तथा त्यहाँबाट निस्कने फोहोरलाई ‘स्टेरेलाइज’ गर्न र अस्पतालमै नष्ट गर्न मिल्ने फोहोर नदिन बारम्बार दोहोर्‍याउँदै आएको छ । महानगरका वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले अस्पतालबाट निस्कने फोहोरलाई गम्भीर रूपमा लिन र त्यस्ता हानिकारक वस्तु खुला रूपमा अन्य फोहारसँगै नराख्न भन्ने गरिएको बताए । संकलनदेखि विसर्जन र व्यवस्थापनसम्म अस्पतालजन्य फोहोर निकै चुनौतीपूर्ण हुने गरेको श्रेष्ठको भनाइ छ ।

निर्देशिका के भन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालजन्य फोहोरमध्ये ८५ प्रतिशत हानिकारक हुँदैन। तीमध्ये १० प्रतिशत मात्र हानिकारक र ५ प्रतिशत हानि गर्न सक्ने सम्भावनाका हुन्छन् ।

संगठनका अनुसार फोहोरबाट कोरोना भाइरस संक्रमण हुन सक्छ वा सक्दैन भन्ने ठोस प्रमाण नभेटिए पनि कोरोना संक्रमितको हेरचाहमा निक्लिने फोहोरलाई संक्रामक नै मानिन्छ । ती फोहोर सुरक्षित रूपमा विसर्जन गर्नुपर्छ । अस्पतालजन्य फोहोरलाई जथाभावी विसर्जन गरी खुला ठाउँमा छाडे रोग फैलाउन सक्ने डब्लूएचओले जनाएको छ । फोहोर राख्ने झोलाहरू पनि एकदम बलियो खालको हुनुपर्ने डब्लूएचओको निर्देशिकामा उल्लेख छ ।

संगठनले सरसफाइको काम गर्ने कामदारहरूलाई फोहोर व्यवस्थापनको तालिम र पीपीई अनिवार्य गराउनुका साथै खानेपानी तथा ढलमा पनि बेलाबखत सरसफाइ गरिराख्नुपर्ने जनाएको छ ।

अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका २०७१ जारी गरेको छ । तर कमैले यो निर्देशिका पालना गरेको देखिन्छ । कसैले अस्पतालभित्रै फोहोर जलाउँछन् भने कसैले पोको पारेर सीधै नगरपालिकाको गाडीमा हालेर पठाइने गरेको पनि पाइएको छ ।

त्यसमाथि क्वारेन्टाइनमा यी निर्देशिका पालना नै गरिएका छैनन् । निर्देशिकामा फोहोरको व्यवस्थापनका लागि राम्रो माध्यमका रूपमा अटोक्लेभ गर्ने वा इन्सिनेटर (फोहोर जलाउने कन्टेनर) छ भने अस्पतालभित्रै व्यवस्थापन गर्न सकिने उल्लेख छ ।

देशभरका क्वारेन्टाइनमा बस्नेको संख्या लाखौं छ । ती क्वारेन्टाइनको व्यवस्थापन हेर्दा आफैं संक्रमणको केन्द्र बनिरहेझैं लाग्छन् । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड पालना भएको देखिँदैन । निर्देशिकाले फोहोरको उचित व्यवस्थापन गर्ने, सेफ्टी ट्यांकको व्यवस्थापन गर्ने, नुहाउने तथा कपडा धुन पानीको व्यवस्था हुनुपर्ने बताएको छ । तर, कतिपय क्वारेन्टाइनमा रहेका व्यक्तिले खानेपानीकै व्यवस्था राम्रो नरहेको गुनासो गरिरहेको सुनिन्छ ।

फोहोरमैला व्यवस्थापन विज्ञ एवं अस्पतालजन्य फोहोर व्यवस्थापनमा रणनीति बनाउँदै आएकी त्रिवि केन्द्रीय वातावरण विज्ञानकी उपप्राध्यापक अल्का सापकोटा भन्छिन्, ‘अहिले मानिसहरुले पञ्जा र मास्क धेरै नै प्रयोग गर्न थालेका छन् । यो प्रयोग गरेपछि जथाभावी फाल्ने गरिएको छ । कसैले संक्रमण भए/नभएको थाहा नहुन पनि सक्छ । यस्तो अवस्थामा सर्वसाधारण पनि सचेत हुनुपर्छ ।’ यस्ता फोहोरलाई छुट्टै व्यवस्थापन गरिनुपर्ने उनले बताइन् ।

फोहोर व्यवस्थापनका लागि के गर्छन् अस्पताल ?

कोभिड अस्पतालका रूपमा सञ्चालित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी फोहोर व्यवस्थापन संयोजक तथा आसीयू इन्चार्ज उषा देवकोटाका अनुसार अस्पतालले प्रोटोकोल अनुसार नै फोहोरको व्यवस्थापन गरिँदै आएको छ । उनी भन्छिन्, ‘पहिले फोहोरको व्यवस्थापन गर्दा पीपीई भनेर प्रयोगमा आएको थिएन तर अहिले सरसफाइ कर्मचारीले पीपीईको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्छन् ।’

सरसफाइ कर्मचारीलाई फोहोर व्यवस्थापनका लागि तालिमसमेत दिइएको जनाउँदै उनले अस्पतालका भुइँमा डिस्इन्फेक्टेन्ट गर्ने, फोहोरलाई छुट्याएर जलाइने गरेको बताइन् । अस्पतालमा चाँडै नै ठूलो अटोक्लेभ मेसिनबाट काम गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

त्यसैगरी कोभिड उपचार गर्ने पाटन अस्पतालले फोहोर व्यवस्थापनमा जहिल्यै सजग रहेको जनाएको छ ।अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार फोहोर व्यवस्थापनका लागि अस्पतालमा संक्रमण रोकथाम तथा नियन्त्रण टिम छ । प्रयोग भएका पीपीई डिसइन्फेक्ट गर्ने तथा अटोक्लेभ गर्ने गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले क्लोरिन सोलुसनले सफाइ गर्ने गरेको र निस्किएको फोहोर पोको पारेर नगरपालिकाको गाडीले लैजाने गरेको बताए । उनले भने, ‘फोहोरअनुसार कसैलाई अटोक्लेभ र जलाउने गरेका छौं ।’

फोहोरमैला व्यवस्थापन संघ नेपालले भने अस्पतालहरूले आइसोलसन कक्षबाट निस्किएको फोहोरलाई वर्गीकरण नगरी अन्य फोहोरसरह राखिदिएको दाबी गरेको छ । यसै कारण फोहोर व्यवस्थापनमा खटिएकाहरुको स्वास्थ्य उच्च जोखिममा परेको संघका महासचिव घिमिरे बताउँछन् । ‘फोहोरमा काम गर्ने मानिस उसै पनि जोखिममा हुन्छन् तर कोरोना संक्रमितहरूको फोहोर पनि अन्य फोहोरसरह मिसाइदिँदा संक्रमणको जोखिम बढेको छ ।सकेसम्म त्यस्ता फोहोरको व्यवस्थापन अस्पतालस्तरबाटै त्यहीँ होस्,’ उनले भने ।

देशकै सबैभन्दा धेरै कोरोना परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निस्कने फोहोरहरूलाई अटोक्लेभ गर्ने गरिएको प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन् । प्रयोग भएका उपकरणलाई तत्कालै अटोक्लेभ गरेर भाइरसमुक्त बनाइने उनको भनाइ छ ।

अटोक्लेभमा बन्द बिजुलीको भाँडामा उपचारका क्रममा प्रयोग भएका उपकरणहरुलाई करिब १२१ डिग्री सेल्सियसको तापक्रममा राखिन्छ । अधिकांश अस्पतालले अटोक्लेभ नै प्रयोग गर्ने गरेका छन् ।

यस्तै, पुनः प्रयोगमा नआउने फोहोरलाई ‘सोडियम हाइपोक्लोराइड’को घोलमा डुबाएर अटोक्लेभ गर्ने गरिएको प्रदेश नम्बर १ का जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन नवीन खड्काले बताए ।

आरडीटीका क्रममा निस्कने फोहोरलाई अहिले अवस्था हेरेर विसर्जन गर्ने गरिएको छ । कतिपय स्थानमा पुर्ने र कतिपय स्थानहरुमा डढाउने गरिएको छ । आरडीटीका लागि गाउँ पुगेका स्वास्थ्यकर्मी अधिकांशले उक्त फोहोरलाई डढाउने गरेको टेक्निसियन खड्काले जानकारी दिए ।

फोहोर व्यवस्थापनविज्ञ सापकोटाका अनुसार धेरै मानिसको कोभिड–१९ टेस्ट नभएको अवस्थामा क्वारेन्टाइन तथा आइसोलेसनबाट निस्कने फोहोरको व्यवस्थापन छुट्टै हुनुपर्छ । नत्र त्यसैबाट संक्रमणको सम्भावना रहन्छ । त्यस्ता स्थलबाट फोहोरलाई वर्गीकरण र डिस्इन्फेक्टेन्ट गर्दा फोहोर उठाउने सफाइ कर्मचारीलाई सहज हुने उनको भनाइ छ ।

‘फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको सुरक्षामा ध्यान दिएका छौं ’

संक्रमणको जोखिममा रहने सरसफाइ कर्मचारीको सुरक्षामा सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हुन्छ । केहीअघि काठमाडौं महानगरकै फोहोर बाेक्ने गाडीका चालक र वीरगन्जस्थित एउटा अस्पतालमा कार्यरत सरसफाइ कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यस हिसाबले पनि देशभर सरसफाइमा खटिने कर्मचारी संक्रमणको जाेखिममा देखिन्छन् ।

काठमाडाैं महानगरका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठ सरसफाइ कर्मचारीलाई संक्रमण नफैलिओस् भनेर मास्क, पञ्जा, चस्मा, सेनिटाइजर र पीपीई दिइएको बताउँछन् । ‘हामीले यी सामाग्री फोहोर संकलन गर्ने, उठाउने तथा फोहोरको गाडी बोक्ने चालकलाई पनि दिएका छौं । उनीहरुको सुरक्षामा ध्यान दिएका छौं,’ उनले भने । टेकुस्थित ट्रान्सपोर्ट स्टेसनमा नियमित रूपमा उनीहरूको जाँच गरिने जनाउँदै उनले तत्काल कुनै कर्मचारी प्रभावित नभएको जानकारी दिए ।

काठमाडौं महानगरमा मात्रै करिब ९ सय ५० सरसफाइ कर्मचारी छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्यांकअनुसार उपत्यकामा ६५ वटा सरसफाइ कम्पनीअन्तर्गत २ हजार ५ सय सरसफाइकर्मी काम गर्छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×