
काठमाडौँ — नेपालभर सञ्चालित व्यवसायमध्ये लघु तथा साना व्यवसायको नाफा सबैभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले ०७५ वैशाखमा गरेको आर्थिक सर्वेक्षणको अन्तिम नतिजाले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
लघु र साना व्यवसायको औसत वार्षिक नाफा ३४.६ रहेको पाइएको छ । मझौला उद्यमको औसत वार्षिक नाफा ३१ प्रतिशत र ठूला उद्योगको वार्षिक औसत नाफा २१.४ प्रतिशत रहेको अध्ययनको निष्कर्ष छ । विभागले नेपालभरका ९ लाख ९ सय २४ वटा व्यवसायमाझ गरेको सर्वेक्षणका आधारमा यस्तो निष्कर्ष निकालिएको हो । नेपालभर रहेका यी उद्यमले २९ खर्ब १५ अर्ब ६० करोड बराबरको सेवा तथा वस्तु बिक्री गरेको सर्वेक्षणले देखाएको छ । यो परिमाणमा सेवा तथा वस्तु बिक्रीबापत यी उद्यमले कुल ८ खर्ब ५३ अर्ब २१ करोड नाफा गरेको तथ्यांक छ ।
विभागका अनुसार १ देखि ९ जनासम्म संलग्न उद्यमलाई लघु, १० देखि ४९ व्यक्ति संलग्न साना, ५० देखि ९९ जनासम्म संलग्न व्यवसाय मझौला र सय जनाभन्दा बढी संलग्न व्यवसायलाई ठूलो भनी व्याख्या गरिएको हो । एउटा लघु उद्यमले वार्षिक १० लाख ८४ हजारको सेवा तथा उत्पादन बिक्री गर्ने गरेको सर्वेक्षणले देखाएको छ । यो परिमाणको बिक्रीबापत ती उद्यमले वार्षिक ३ लाख ७५ हजार नाफा गर्ने गरेको अध्ययनले देखाएको छ ।
साना उद्यमले वार्षिक रूपमा औसत १ करोड ७८ लाख ९० हजार बराबरको सेवा तथा वस्तु बिक्री गर्ने गरेको र ६१ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने गरेको अध्ययनको निष्कर्ष छ । यस्तै मझौला व्यवसायले वार्षिक रूपमा औसत करिब १४ करोड रुपैयाँ बराबरको सेवा तथा वस्तु बिक्री गर्ने गरेको र ४ करोड ३३ लाख रुपैयाँ नाफा गर्ने गरेका छन् । ठूला व्यवसायले औसत ६६ करोडको सेवा तथा वस्तु बिक्री गर्ने गरेको र १४ करोड १० लाख रुपैयाँ नाफा गर्ने गरेको अध्ययनले देखाएको छ ।
आकार अनुसारका चारवटै वर्गमा पर्ने व्यवसायको औसत बिक्री वार्षिक ३२ लाख ३६ हजार हुने र औसतमा नाफा ९ लाख ४७ हजार हुने अध्ययनमा उल्लेख छ । नेपालमा वार्षिक रूपमा हुने सेवा तथा वस्तु उत्पादनको ठूलो हिस्सा मझौला व्यवसायको छ । ठूला व्यवसायले करिब ३८ प्रतिशत वस्तु तथा सेवा बिक्रीको हिस्सा ओगटेका छन् । लघु उद्यमले भने ३२ प्रतिशत हिस्सा लिएका छन् । साना उद्योगको हिस्सा करिब २१ र मझौला उद्योगको हिस्सा साढे ९ प्रतिशत छ । तर हिस्साअनुसार उनीहरूको नाफा भने फरकफरक छ ।
नेपालभर ९ लाख २३ हजार उद्यममध्ये ४ लाख ६२ हजार उद्यम दर्ता रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । यो कुल व्यवसायको ५० प्रतिशत हो । यस्तै ४ लाख ६० हजार व्यवसाय दर्ता नरहेको सर्वेक्षणले देखाएको छ । यी व्यवसायमध्ये करिब ३० प्रतिशतमा प्रबन्धक महिला छन् । यस्तै ५४ प्रतिशत अर्थात् करिब ५ लाख व्यवसायका प्रबन्धक ४० वर्षमुनिका युवा रहेको अध्ययनले देखाएको छ । साढे ५४ प्रतिशत उद्यमका सञ्चालक युवा छन् । १ दशमलव २ प्रतिशत उद्यमका सञ्चालक भने विदेशी नागरिक छन् । करिब ४३ प्रतिशत व्यवसाय ०७३ वैशाखदेखि ०७५ वैशाखको अवधिमा दर्ता भएका हुन् ।
आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार करिब ४७ प्रतिशत व्यवसाय आफ्नै भवन वा कोठामा छन् । करिब ५० प्रतिशत व्यवसाय भाडाको भवन र करिब ४ प्रतिशत व्यवसाय सडकमा सञ्चालित छन् । कुल व्यवसायमध्ये ५२ प्रतिशतसँग आफ्नो व्यवसायको कारोबार तथ्यांक छैन ।
प्रकाशित : जेष्ठ ६, २०७७ ०७:३५