एक सातामा थप १७ हजारले गरे कोरोना बिमा

पहिलो एक सातामा १० हजारले बिमा गरेका थिए, अहिलेसम्म २७ हजारभन्दा बढी पुगे

वैशाख २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता मात्र थप १७ हजार जनाले कोरोना बिमा गरेका छन् । गत शनिबारदेखि बिहीबारसम्म भएको बिमा संख्या हो, यो । २० निर्जीवन बिमा कम्पनीले कोरोना (कोभिड–­१९) को जोखिम सुरक्षणका लागि बिमालेख बिक्री गरिरहेका छन् ।

‘कोरोना (कोभिड–१९) रोग बिमालेख’ नाम दिइएको यो बिमा योजना दुई साताअघि सुरु गरिएको हो । यसमा पहिलो एक सातामा १० हजारभन्दा बढीको बिमा भएको थियो । त्यसपछिको साता थप १७ हजारले बिमा गरेका हुन् । हालसम्म कोरोना बिमा गर्नेको संख्या २७ हजारभन्दा बढी पुगेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘लकडाउनको अवधिमा पनि बिमालेखको बिक्री राम्रो छ,’ उनले भने, ‘यो बिमा अनलाइनबाटै गर्न सकिने भएकाले पनि छोटो समयमा धेरैको बिमा हुन सकेको हो ।’ कोरोना बिमालेख कम आय भएका वर्गमा लक्षित गरिएको उनले बताए । ‘प्रतिव्यक्ति ३ सय र ६ सय प्रिमियम तिरेर परिवारको बिमा गरी क्रमश: ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाइन्छ,’ उनले भने, ‘कोरोना लागेका बिरामीका लागि उक्त रकमले ठूलो राहत दिन्छ ।’ कोरोनाको उपचार सरकारले गरे पनि बिमाको पैसा अन्य खर्च जस्तै बिरामी कुरुवा, अस्पताल आवतजावत, भिटामिन, फलफूललगायतमा उपयोग हुने उनको भनाइ छ ।

कोरोना जोखिम बढ्दो अवस्थामा रहेको र कम खर्चमा बिमा गरेर जोखिम सुुरक्षण गर्न सकिने भएकाले पनि यो बिमाप्रति आकर्षण बढ्दो छ । बिमा कम्पनीले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यो बिमालेख जारी गरिएको बताएका छन् । यसकारण धेरैभन्दा धेरै बिमा गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्नुपर्नेमा पौडेलले जोड दिए ।

‘बिहीबारसम्म राष्ट्रिय बिमा कम्पनीबाहेक १९ कम्पनीले २४ हजार ९ सय १० जनाको बिमा गरेका छन्,’ उनले भने, ‘त्यसमा राष्ट्रिय बिमा कम्पनीले गरेको संख्या जोड्दा कुल बिमित २७ हजारभन्दा बढी पुगेको छ ।’ सो अवधिमा १ हजार ८ सय ३१ वटा बिमालेखमार्फत ती बिमा गरिएको हो । कोरोना बिमाबाट हालसम्म १ करोड ३२ लाख ५१ हजार रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन भएको बताइएको छ ।

यो बिमाको उपादेयता धेरै रहेको एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको भनाइ छ । नेपालमा कोरोनाका बिरामी बढ्दै गएपछि बिमालेख जारी गर्न बिमा समितिले दुई साताअघि निर्देशन दिएको थियो । सोही आधारमा निर्जीवन बिमा कम्पनीहरूले बिमालेख बिक्री थालेका हुन् ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँ बिमांक रहेको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । ३ महिनाको बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिले यी बिमा गर्न सक्छन् । अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ । तर, बिमा गरेको १५ दिनपछि मात्र उक्त बिमा सक्रिय (एक्टिभ) हुने कम्पनीहरूले जनाएका छन् । कोरोनाबाहेक रोग लागेको अवस्थामा भने दाबी गर्न पाइँदैन । यसको परिपक्व हुने अवधि बिमालेख सुरु भएको मितिदेखि १२ महिनाको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully