अस्तव्यस्त बन्यो सिर्सिया सुक्खा बन्दरगाह

रेलवे र्‍याकबाट कन्टेनर लोडअनलोड गर्ने चार रिचस्टेकरमध्ये दुई बुधबारदेखि एकसाथ बिग्रिएका छन्

वैशाख १४, २०७७

कान्तिपुर संवाददाता

पर्सा — कन्टेनर लोडअनलोड गर्ने दुइटा ‘रिचस्टेकर’ उपकरण बिग्रँदा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह अस्तव्यस्त बनेको छ । रेलवे र्‍याकबाट कन्टेनर लोडअनलोड गर्ने चार रिचस्टेकरमध्ये दुई बुधबारदेखि एकसाथ बिग्रिएका छन् । चालु अवस्थामा रहेका दुई रिचस्टेकरमध्ये एउटा जीर्ण रहेकाले त्यो पनि जुनसुकै बेला थन्किन सक्छ ।

लकडाउनमा पनि चलिरहेको बन्दरगाह मालवाहक कन्टेनर तथा अन्य बल्क कार्गोले भरिएको इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । बन्दरगाहको यार्डमा मालवस्तु बोकेका ३ हजार २ सय ‘लोडेड’ कन्टेनर छन् । यसबाहेक भारतका बन्दरगाहमा फिर्ता पठाउनुपर्ने चार सय थान खाली कन्टेनर पनि यार्डमा छन् ।

भारतका विभिन्न बन्दरगाहबाट कन्टेनर बोकेर हिँडेका २० रेलवे र्‍याक उतैका विभिन्न स्थानमा छन् । तिनमा १ हजार ८ सय कन्टेनर रहेको उनले बताए । भारतको विशाखापट्टनम बन्दरगाहमा वीरगन्ज आउन २ हजार ५ सय मालवाहक कन्टेनर प्रतीक्षारत छन् । कोलकाता बन्दरगाहमा पनि २ सय ८० यस्ता कन्टेनर वीरगन्ज आउन नपाएर रोकिएका छन् । ५ हजार मेटन बोरा बन्द कार्गो सामान र ४ हजार मेटन फलाम पनि बन्दरगाहमा थुप्रिएको छ ।

बन्दरगाह सञ्चालन गरिरहेको ठेकेदार कम्पनी हिमालयन टर्मिनल्सले उचित व्यवस्थापन नगर्दा यस्तो समस्या आएको सरोकारवालाहरूको गुनासो छ । ठेक्काको अन्तिम चरणमा रहेको टर्मिनल्स व्यवस्थापनले उदासीनता देखाएकैले यस्तो अवस्था सिर्जना भएको भन्सार एजेन्ट श्यामबाबु पटेल बताउँछन् । ‘निरन्तर एक दशकभन्दा बढी समय बन्दरगाह चलाइरहेको टर्मिनल्सले अब ठेक्का नपाउने निश्चित रहेकाले उसले व्यवस्थापनमा लापरबाही गरिरहेको हो,’ उनले भने ।

इन्टरमोडल यातायात विकास समिति प्रमुख ज्ञवालीले भने हिमालयन टर्मिनल्सलाई सक्दो छिटो बिग्रिएका रिचस्टेकर उपकरण मर्मतसम्भार गरी पुन: सञ्चालन गर्न आफूले दबाब दिइरहेको बताउँछन् । बिग्रिएका रिचस्टेकर उपकरण बनाउन भारतबाट दुई जना प्राविधिक आइसकेको र उनीहरूले सक्दो प्रयास गर्दा पनि उपकरण मर्मत हुन नसकेको हिमालयन टर्मिनल्सका वित्त प्रमुख एवं सूचना अधिकृत अनिमेश कुमारले बताए ।

बन्दरगाहमा प्रतिदिन तीन/चारवटा रेलवे र्‍याक आइरहेका छन् । कन्टेनर थपिने क्रम पनि जारी रहेको उनले जानकारी दिए । ‘यस्तो अवस्थामा काम अत्यन्त बढेको छ, तर कन्टेनर आउने अनुपातमा बन्दरगाहबाट आयातकर्ताले आफ्ना कन्टेनर लग्नेक्रम भने अत्यन्त कम छ,’ उनले भने, ‘यसरी तालमेल बिग्रिँदा कन्टेनर तथा अन्य मालवस्तु थुप्रिनु स्वाभाविक हो ।’

लकडाउन

कान्तिपुर

Link copied successfully