तरकारी महँगिँदै गएपछि केही किसानले आफ्नो घरका खाली ठाउँमा गमला आदि राखी फलाए तरकारी
काठमाडौँ — थोत्रा बट्टा, बाटा र बाल्टीमा बिरुवा र विभिन्न लहरे जातका तरकारी लगाइएको छ । दूधका प्याकेटका मुख काटेर माटो भरेर कौसीमा खेती सुरु गरिएको छ । भान्साबाट निस्कने फोहोर पानी बाल्टीमा जम्मा गरिएको छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरी मल बनाइएको छ ।
दृश्य हो, काठमाडौं डल्लुस्थित रेखा महर्जनले घरमै गरेको कौसी खेतीको । काठमाडौं महानगरपालिका–१५ चमतीकी कमला महर्जनले पनि जार र माछाको क्यारेटमा माटो भरेर लसुन, सिमी, फर्सी, गोलभेंडालगायत तरकारी फलाएकी छन् । उनले कौसी र बरन्डामा गमला राखेर तिनमा फूल पनि रोपेकी छन् । उनीहरूले कुखुराको सुली र घरमै उत्पादित फोहोरलाई मलका रूपमा प्रयोग गर्न गरेका छन् । काठमाडौं महानगरपालिका–१९ की लक्ष्मी महर्जनले भने कौसीमा काँक्रो, सिमी, बोडी, गोलभेंडा, खुर्सानी लगाएकी छन् । उनी भन्छिन्, ‘घरमा बस्दाबस्दै दिक्क लाग्यो । तरकारीको भाउ पनि दिनदिनै बढिरहेको छ । अनि छिमेकीले कौसीमा तरकारी फलाएको देखेर मैले पनि सुरु गरें ।’
लकडाउनको अवधि लम्बिएसँगै राजधानीमा उनीहरूजस्तै अन्यले पनि कौसी खेती थालेका छन् । घरका छत, कौसी र बरन्डामा खुर्सानी, गोलभेंडा, सागलगायतका तरकारी रोपेर करेसाबारीका रूपमा उपयोग गर्न थालेका छन् । आठ वर्ष वर्षअघि कौसी खेती सुरु गरेका काठमाडौंका शेषनारायण महर्जन भने आफन्तलाई मौसमअनुसारको तरकारी तथा फलफूल कोसेली दिने गरेका छन् ।
काठमाडौं महानगरपालिका–१९ डल्लुस्थित शेषनारायणको घरमा गरिएको कौसी खेती ।
कौसी खेतीका प्रशिक्षकसमेत रहेका महर्जनले लकडाउनको सदुपयोग गरेर कौसीको एकपट्टि चैत्य र कृत्रिम ढुंगे धारा बनाई मेसिन जडान गरेर पानी बगाएका छन् । गमलामा थरीथरीका फूल रोपेर बरन्डालाई बगैंचा बनाएका छन् । ‘कसैले कौसी खेती गर्न चाहे तीन भाग माटो र दुई भाग घरेलु मल प्रयोग गरेर तरकारी लगाउन सकिन्छ । यसले माटोले कौसीमा हुने भार कम गर्छ ।’ ‘खेती गर्दा जरा सकभर कम फैलने तथा गहिराइमा सीमित हुने बाली लगाउनुपर्छ,’ उनले भने, ‘छिटो उत्पादन दिने र बोट नझाङ्गिने बाली लगाउन सकिन्छ ।’
कौसी खेती गर्न कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरीलगायत फलफूल उपयुक्त हुने उनले सुझाए । ‘गोलभेंडा, भन्टा, भेडे खुर्सानी, खुर्सानी, स्विसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौंला, काउली र बन्दा कौसीमा लगाउने तरकारीमा पर्छन् । त्यस्तै सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरियाँ, प्याज, सलगम, मुलालगायत तरकारी पनि कौसी खेतीका लागि उपयुक्त मानिन्छन्,’ उनले भने ।
