काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालसहित २५ मुलुकलाई तत्काल अनुदान उपलब्ध गराउने भएको छ ।
आईएमफको कार्यकारी सञ्चालक समितिको सोमबार बसेको बैठकले निम्न आय भएका २५ मुलुकलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । आईएफको विपद् न्यूनीकरण तथा राहत कोष(सीसीआरटी) मार्फत नेपालसहितका २५ देशलाई अनुदान उपलब्ध गराउन लागिएको हो ।
यो अनुदान यी मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन हुनेछ । यो व्यवस्थाका कारण यी देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालिन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।
कोषमा अहिले ५ सय मिलियन अमेरिकी डलर जम्मा भएको र यसका जापान, बेलायत, चीन, नेदरल्यान्ड्सलगायतका देश प्रमुख दाता रहेको पनि महानिर्देशक जर्जिभाले बताएकी छन् । साथै आर्थिक स्तर बलियो भएका मुलुकलाई कोषमा सहयोग गर्न पनि उनले आग्रह गरेकी छन् ।
आईएमफले नेपालसहित, अफगानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरस, प्रजातान्त्रिक गणतन्त्र कंगो, गाम्बिया, गिनिया बिसाउ, हैटी, लाइबेरिया, मालावी, माली, मोजाम्बिक, रुवान्डा, साओ टोम प्रिन्सिप, सियरा लियोन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमनलाई अनुदान दिनेछ ।
गत हप्ता विश्व बैंकले पनि कोरोना भाइरसबाट प्रभावित मुलुकहरुलाई करिब १६० बिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने बताएको थियो । त्यसमा १४ बिलियन डलर भने सहुलियत दरको ऋण समावेश थियो ।
